पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु «

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पर्यटकीय नगरी पोखरामा आज (बिहीबार) देखि सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला–२०७४ सुरु भएको छ । माघ ८ गतेसम्म संचालन हुने उक्त मेलाको कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्दै सरकारको एक्लो प्रयासमा आर्थिक समृद्धि नहुने बताए ।
उनले भने, “देशमा आर्थिक समृद्धि गर्न सरकारको एक्लो प्रयासले मात्र केही हुँदैन यसमा निजी क्षेत्रको लगानी र साथ आवश्यक पर्दछ, त्यसको लागि सरकारले निजी क्षेत्रसंग हाते मालो गर्दै अघि बढ्नु पर्छ ।” समृद्धिको नारा चलेको समयमा जुनसुकै गठबन्धनको सरकार बने पनि निजी क्षेत्रसंगको समन्वय हुनु पर्ने उनको जोड थियो । उनले भने, “विकास लामो प्रक्रियाबाट हुन्छ, आर्थिक समृद्धि हुदा पुँजीको परिचालन गर्नु पर्छ, त्यस प्रक्रियामा प्रसव पिडा नै सहे जसरी दुःख कष्ट सहनु पर्छ, भने जसरी सजिलो रूपमा आर्थिक विकास र समृद्धि हुँदैन ।” विकासको लागि अब एक ढिक्का भएर लाग्नुको विकल्प नभएको समेत उनले बताए ।
फरक प्रसङ्गमा मन्त्री थापाले अबको केही साता भित्र नयाँ सरकार बन्ने बताए । सरकारले केही दिनमा नै प्रदेश प्रमुख तोक्ने बताउँदै मन्त्री थापाले सर्वदलीय सहमति नै जुटे पनि सरकारले प्रदेशको राजधानी तोक्न नमिल्ने दाबी गरे । प्रदेश सभाको दुई तिहाई बहुमतले मात्र प्रदेशको राजधानि तोक्ने अधिकार हुने उनले जनाए ।
कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उद्योग व्यवासायीको प्रवद्र्धन गरी उपभोक्ताहरू माझ व्यवसायीक प्रवद्र्धन गर्न यस्ता मेला महोत्सवले थप टेवा पुग्ने दाबी गरे । विकास, सम्वृद्धि र सुशासनको लागि सत्ता र प्रतिपक्ष दल एकै रथका दुई पाग्रा भएर अघि बढ्नु पर्ने उनको भनाई थियो । उनले भने “ अब देशमा आर्थिक विकास र समृद्धि गर्ने समय आएको छ, यसमा एउटाले राम्रो काम गरे पनि अर्कोले खुट्टा तान्ने प्रवृत्ति हामी सवैले त्याग्नु पर्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिव बहादुर कोइरालाले मिटरमा ट्याक्सी नचलाउने अडान लिँदै पोखराको सार्वजनिक यातायात बन्द गरिनु कानूनी शासनको उपहास भएको बताउँदै उहाँले कानून हातमा लिने प्रवृत्तिबिरुद्ध नागरिक समाज चुप लागेर बस्न नहुने जनाए । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले उपभोक्ता हित संरक्षण गर्न प्रशासन हरपल तयार रहेको बताउदै कानुनको पालना गराउन आफुहरू कटिवद्ध रहेको जनाए । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, महासचिव दामु अधिकारी लगायतले वोलेका थिए ।
‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेलामा करिब ३ सय वटा स्टलहरू रहेकाछन। मेला अन्तर्गत औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरूको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरूको गतिविधीहरूको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरूको विक्री वितरण रहेका छन् । साथै मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरूको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता प्रवेश टिकटमा दैनिक रूपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरूद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन् । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले यस पटकको मेलाको प्रवेश टिकटबाट लक्की ड्र मार्फत एकजनालाई हुण्डाई कम्पनीको इवन कार समेत उपहार दिने घोषणा गरेको छ । कारको बजार मूल्य करिब १८ लाख रूपैयाँ रहेको छ । मेला उद्घाटन पूर्व संघको सचिवालय गैह्रापाटनबाट मेलास्थल प्रदर्शनी केन्द्रसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा पोखराका आमा समूहहरू, संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्यहरू, उद्योगी÷व्यवसायी तथा सर्वसाधारणको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
राष्ट्रिय औद्योगिक व्यापार मेलासँगै दोस्रो मोवाइल मेलामा मोबाइल खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्याबस्था भएको छ । उक्त मेला अवधिभर मेलामा दर्शकहरूलाई मोबाइल खरिदमा न्यूनतम ५ देखि अधिकतम ५० प्रतिशतसम्म छुट र प्रत्यक मोवाइल खरिदमा उपहार प्रदान गरिने भएको नेपाल मोवाइल बितरक संघ पश्चिमाञ्चलका अध्यक्ष शिवराज पहारीले बताए । उनका अनुसार व्यापार मेलासंगै आयोजना हुने मोवाइल मेलामा नेपालकै चर्चीत र प्रयोगमा आएका मोवाइलका नयाँ ब्राण्ड सहित ईलेक्ट्रोनिक्सका सामाहरू समेत एकै छाना मुनिमा उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्