नेपालको वैदेशिक व्यापारको प्रवृत्ति «

नेपालको वैदेशिक व्यापारको प्रवृत्ति

वैदेशिक व्यापारको प्रवृत्तिलाई सुधार गर्न रणनीतिक योजनाका साथ सरकार अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्थामा पुग्न सक्छ ।

दुई वा दुईभन्दा बढी देशहरूबीच हुने व्यापारलाई विदेश व्यापार वा वैदेशिक व्यापार भनिन्छ । यसलाई अन्तर्राष्ट्रिय व्यापार पनि भनिन्छ । कुनै पनि देशको आर्थिक विकासमा वैदेशिक व्यापारको स्थान महत्वपूर्ण हुने भएकाले आज हरेक देशले हरेक देशसँग आफ्नो व्यापारिक सम्बन्धलाई थप मजबुद बनाउँदै लगेको पाइन्छ । वैदेशिक व्यापार मुलुकको अर्थतन्त्रलाई सन्तुलित राख्ने एउटा महत्वपूर्ण क्षेत्रका रूपमा विकसित भएको छ । वास्तवमा वैदेशिक व्यापारबिना कुनै पनि मुुलुकको विकास र समृद्धि पनि सम्भव छैन । विकास, समृद्धि र सहश्राब्दी विकासका लक्ष्य प्राप्त गर्न त झन् वैदेशिक व्यापारको स्थान अग्रणी रहन्छ । मुलुकलाई आर्थिक रूपमा अग्रगति प्रदान गर्न वैदेशिक सीप, श्रम, प्रविधि र कच्चा पदार्थ आयात गरिसकेसम्म वस्तु तथा सेवा उत्पादन गरी निर्यात गर्न सकेमा नै मुलुकलाई समृद्धिको मार्गमा डो¥याउन सकिने कुरामा दुईमत छैन । देशभित्र मात्र सीमित रहेको व्यापारले मुलुकलाई अपेक्षित समृद्धिको बाटोमा लान सक्दैन । यसका लागि देशभित्र उत्पादित वस्तु तथा सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनै पर्छ ।
विश्व व्यापारको क्षेत्र असीमित छ । त्यस्तो बजारमा धेरैभन्दा धेरै वस्तु उत्पादन गरेर ठूलो मात्रामा निर्यात गर्न सकेको खण्डमा मुलुकले छिटै आर्थिक फड्को मार्न सक्छ । चीन, जापान, अमेरिका, कोरिया, भारतजस्ता औद्योगिक मुलुकहरू दिन दुगुना रात चौगुना विकासको गतिमा फड्को मार्नुको प्रमुख कारण नै ती देशहरूको वैदेशिक व्यापार हो । हाम्रो जस्तो मुलुकको अर्थव्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक बजार सीमित भएको हुनाले देशभित्र खपत हुन नसकी बाँकी रहेका वस्तुहरू निर्यात गर्नुपर्ने हुन्छ । प्रत्येक देशले आफ्ना आवश्यकता पूरा गर्न अन्य देशहरू वा अन्तर्राष्ट्रिय समुदायसँग कुनै न कुनै प्रकारले सहयोग प्राप्त गर्ने गर्छन् । सभ्यताको प्रारम्भदेखि नै कुनै न कुनै रूपमा वैदेशिक व्यापार अस्तित्वमा रहेको पाइन्छ । पुरातात्विक अनुसन्धानहरूबाट पनि विश्वमा हजारौं वर्ष पहिलेदेखि नै वैदेशिक व्यापारको परम्परा रहेको भेटिएको छ । इजिप्ट, रोम, ग्रिकजस्ता प्राचीन सभ्यतामा पनि वैदेशिक व्यापार चलेको तथ्य फेला परेको छ । त्यसपछि सभ्यताको विकास र मानवीय चेतना तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकताअनुरूप वैदेशिक व्यापारको विकास हुँदै गयो । युरोप, अमेरिका र एसियामा समेत यसको प्रभाव र विस्तार बढ्दै गयो । नयाँ नयाँ प्रविधि र वस्तु उत्पादनको वृद्धिले गर्दा वैदेशिक व्यापारले फस्टाउने मौका पाएको देखिन्छ । पन्ध्रौं र सोह्रौं शताब्दीमा पुग्दा यसले विकसित रूप लिइसकेको पाइन्छ भने सत्रौं शताब्दीमा आइपुग्दा ठूलाठूला देशहरूले उपनिवेशहरूलाई व्यापारको माध्यमबाट नै नियन्त्रण गर्ने गरेको पाइन्छ ।
प्रथम विश्ययुद्ध पहिले सन् १८२०–१९१३ र सुधार व्यवस्था सन् १९२९–१९३८, द्वितीय विश्वयुद्ध र त्यसपछिको समय सन् १९३९ देखि १९५२ आधुनिक वर्तमान अवस्था सन् १९५२ पछि विदेश व्यापारमा वृद्धि भएको पाइन्छ । दोस्रो विश्वयुद्धमा व्यापार राम्रोसँग फस्टाउन पाएन । त्यसपछि संयुक्त राष्ट्र संघ र यसका विभिन्न आर्थिक संस्थाहरू स्थापना भएपछि विश्वव्यापी व्यापार बढाउन मद्दत गरेको पाइन्छ । प्रजातन्त्रको पुनस्थापनापश्चात् तीव्र गतिमा अगाडि बढेको आर्थिक उदारीकरणको नीतिपश्चात् मुलुकको खुम्चिएर रहेको वैदेशिक व्यापार उल्लेख्य परिमाणमा अघि बढेको देखिन्छ । आव २०४६-४७ मा वस्तु व्यापारको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २२.७ प्रतिशत रहेकोमा आ.व. २०७५-७६ मा आाईपुग्दा उक्त संख्या बढेर ४३ .८ प्रतिशत पुगेको छ । तर, वस्तु व्यापार घाटा भने बढ्दै गएको छ । आव २०४६-४७ मा व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनको अनुपात ११.७ प्रतिशत रहेकोमा आ.व. २०७५-७६ मा ३८.१ प्रतिशत पुगेको छ । (स्रोत : नेपाल राष्ट्र बैंक) । व्यापार घाटाको आकार बढ्दै गए तापनि अन्तरिम र पुँजीगत वस्तुको आयात झन्डै ८० प्रतिशत रहनु सकारात्मक पक्ष रहेको दाबी राष्ट्र बैंकको छ ।
व्यापार घाटा क्रमशः बढ्दै गएको सन्दर्भमा संरचनागत सुधार गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गरी आन्तरिक उत्पादन वृद्धि गर्दै बढ्दो व्यापार असन्तुलनलाई नियन्त्रण गर्नु जरुरी देखिन्छ । वि.सं २०३० को दशकमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको ५.४ प्रतिशतको अनुपात वि.सं. २०६० को दशकदेखि घट्दै आ.व. २०७५-७६ मा आइपुग्दा २.८ प्रतिशत कायम हुनुले नेपालको वैदेशिक व्यापारको प्रवृत्ति घट्दो क्रममा रहेको देखाउँछ । यो निश्चय नै चिन्ता र चासोको विषय बन्नुपर्छ । त्यस्तै २०३९-४० मा आयाततर्फ कुल गार्हस्थ्य उत्पादनको १८.७ प्रतिशत र वि.सं. २०३० को दशकमा औसतमा १३.९ प्रतिशत रहेको थियो । बीचका वर्षहरूमा आयातमा केही प्रतिशत तलमाथि भए तापनि २०७५-७६ सम्म आइपुग्दा आयातमा उल्लेख्य वृद्धि भई करिब ४०.९ प्रतिशत पुगेको छ । प्रमुख निर्यातित वस्तुहरूमा वनस्पति घिउ, जुट र जुटका सामान, पस्मिना, दाल, तामाको तार, अदुवा, अलैंची, धागो, आर्युवेदिक औषधिलगायतका वस्तुहरू भारततर्फ निर्यात हुने गरेको देखिन्छ भने तयारी पोसाक, ऊनी गलैंचा, पस्मिना, प्रशोधित तथा तयारी छाला, चाँदीका गरगहना, हस्तकलाका सामान, नेपाली कागज र चियालगायतका वस्तु अन्य मुलुकतर्फ निर्यात हुने गरेको देखिन्छ । तर, २०७० को दशकमा आइपुग्दा उल्लिखित वस्तुहरूको निर्यातमा उल्लेख्य रूपमा घटेको छ । प्रमुख आयातित वस्तुहरूमध्ये पेट्रोलियम पदार्थ, सवारी साधनका पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरू भारतबाट आयात हुने गरेको देखिन्छ भने अन्य मुलुकहरूबाट समेत उक्त वस्तुहरू आयात भएको देखिन्छ ।
वि.सं. २०५० को दशकमा प्रमुख निर्यातित वस्तुहरूमध्ये ऊनी गलैंचा र तयारी पोसाकको हिस्सा कुल निर्यातको ८० प्रतिशतभन्दा बढी थियो भने आ.व. २०७५-७६ मा यी वस्तुको निर्यात घटेर करिब १२ प्रतिशत रहेको देखिन्छ । उल्लिखित तथ्यांकका आधारमा के भन्न सकिन्छ भने नेपालको व्यापार घाटा वर्षैपिच्छे चिन्ताजनक रूपमा बढ्दै गएको छ । वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको देखिन्छ, तर निर्यात भने सोहीअनुरूप बढ्न सकेको छैन । निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात घट्दै गएको छ ।
निर्याततर्फ अघिल्ला दशकहरूमा अग्रस्थानमा रहेका वस्तुहरूको हिस्सा पनि पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घटेको पाइन्छ । यो प्रतिकूल अवस्थालाई संरचनागत सुधार गरी देशको वैदेशिक व्यापारलाई वस्तुगत रूपमा विविधीकरण गर्दै जानुपर्ने अवस्था देखिन्छ । आ.व. २०७६- ७७ मा १२ खर्ब ९४ अर्ब ५१ करोडको कुल व्यापारमा झन्डै ११ खर्ब त घाटा नै भएको थियो ।
कुल वैदेशिक व्यापारमा निर्यातको अंश ७.५ प्रतिशत र आयातको अंश ९२.०५ प्रतिशत रहेको थियो । वैदेशिक व्यापारको यस्तो प्रवृत्तिलाई सुधार गर्न रणनीतिक योजनाका साथ सरकार अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्थामा पुग्न सक्छ । सानातिना निर्यातजन्य वस्तुहरूको निर्यात प्रवद्र्धनमा रहेको प्रक्रियागत अवरोध हटाउने काममा आ.व. २०५६-५७ देखि नेपाल राष्ट्र बैंकले तोकेको रकमसम्म बिना प्रतीतपत्र नै बैंक ग्यारेन्टीको आधारमा निर्यात गर्न पाइने व्यवस्थाले पनि निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
नेपालको उद्योग र वणिज्य क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीहरू र विदेशी आयातकर्ताहरूलाई सम्मान र कदर गर्न महत्वपूर्ण व्यावसायिक व्यक्ति छनोट, सम्मान एवं सुविधासम्बन्धी कार्यविधि २०६९ लाई प्रभावकारी रूपमा अघि बढाउन सक्नुपर्छ । यसका साथै नेपालको अधिकांश निर्यातित वस्तुहरू ऊनी गलैंचा र तयारी पोसाक नै हुन् । तयारी पोसाक पनि अधिकांश रूपमा अमेरिकामा निर्यात हुन्छ । यसले नेपाली निर्यातलाई चिन्ताजनक अवस्थामा पु¥याएको छ । नेपालको मुद्रा र पुँजीबजार शिशु अवस्थामै छ । निर्यात बढाउनका लागि व्यावसायिक संस्थाहरूलाई प्रशस्त निर्यात कर्जाको आवश्यकता पर्छ । बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु¥याउन सकेका छैनन् । यसले गर्दा वैदेशिक व्यापारको आकार बढ्न सकेको छैन । निर्यात वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थको आयात वृद्धि हुँदै गएको छ । निर्यातयोग्य वस्तुहरूको उत्पादनमा विविधीकरण हुन सकेको छैन । कतिपय वस्तुहरूको गुणस्तरमा वृद्धि हुन नसक्दा निर्यातमा समस्या उत्पन्न भएको छ । विश्व व्यापार, क्षेत्रीय व्यापार संरचनाभित्र नेपाल प्रवेश गरेको छ । तर यी मुलुकहरूमा एकै प्रकारका वस्तु रहेका र ती वस्तुको निकासी सम्भाव्यता र प्रतिपस्र्धात्मक क्षमता नेपालभन्दा अन्य मुलुकको बढी हुने हुँदा नेपालको निकासी क्षेत्र चुनौतीपूर्ण बन्न गएको छ ।
व्यापारबाट प्राप्त हुने लाभलाई गरिबी निवारणसँग आबद्ध गर्ने, विश्व व्यापार संगठनको सदस्यता एवं क्षेत्रीय व्यापार प्रणालीसँगको आबद्धताबाट सिर्जित व्यापार उदारीकरणको दायित्व निर्वाह गर्न आवश्यक कानुनी, नीतिगत एवं संरचनागत सुधारका कार्यहरू गर्ने पनि त्यत्तिकै चुनौतीपूर्ण रहन गएको छ । कोभिडको पहिलो र दोस्रो लहरले उत्पन्न गराएको विषम परिस्थितिलाई समेत मध्यनजर राख्दै अघि बढ्नु जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्