Logo

जीटुजीमार्फत भारतबाट दुई लाख टन मल ल्याइँदै

सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।
बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्ले बजारमा मलको आपूर्ति व्यवस्था सहज पार्नका लागि स्वीकृति दिएकाले प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए ।
पहिलो प्राथमिकता टेन्डर प्रक्रिया भएकाले टेन्डरबाट मल नआउँदा अधिकतम २ लाख मेट्रिक टन जीटुजीमार्फत ल्याउने सैद्धान्तिक सहमति भएको उनको भनाइ छ । प्रतिवर्ष २ लाख मेट्रिक टन मल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । यो वर्ष बंगलादेशबाट मल आएकाले पर्याप्त स्टक रहेकाले धान रोप्ने बेला बजारमा अभाव नहुने पनि उनले जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेडले भारतमा तोकिएको कम्पनीमार्फत रासायनिक मल ल्याउने छ । टेन्डर प्रक्रियाबाट मल नआउँदा र बजारमा मलको अभाव भएपछि जीटुजीमार्फत मल ल्याउने हो । मल ल्याउनका लागि सरकार टु सरकार र दुई कम्पनीबीच दुई चरणमा सम्झौता हुने मन्त्रालयले जानकारी दिएको छ । जीटुजीमार्फत मल आयात गरेपछि मल खरिदमा हुने कमिसन स्वतः हट्ने र यसका कारण किसानले सस्तो मूल्यमा मल पाउने मन्त्रालयको भनाइ छ ।
सरकारले बजारको मागअनुसार मल खरिद नगर्दा विगतका वर्षमा किसानले अभाव खेप्दै आएका थिए । समयमा मल आयात नहुँदा किसानले वर्षेनी धान रोप्ने बेला मलको चरम अभाव खेप्दै आएका थिए । चालू आर्थिक वर्षमा रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि एक अर्ब बढेर १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मुलुकमा वार्षिक रूपमा सात लाख मेट्रिक टन रासायनिक मलको माग छ । मागअनुसार आयात नहुँदा वर्षेनी अभाव हुने गरेको थियो ।

बंगलादेशबाट ३२ हजार मेट्रिक टन मल
बंगलादेशबाट ३२ हजार ५ सय मेट्रिक टन रासायनिक मल भित्रिएको छ ।
नेपाल सरकार र बंगलादेशसँग ल्याउन लागिएको ५० हजार टनमध्ये हालसम्म ३२ हजार पाँच सय टन मल भित्रिसकेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले बाँकी १७ हजार ५ सय मेट्रिक टन मल बंगलापोर्टमा आएर प्याकिङ भइरहेकाले एक साताभित्र आइपुग्ने बताएको छ । कम्पनीसँग अहिले ३० हजार टन रासायनिक मल मौज्दात छ । ग्लोबल टेन्डरमार्फतको ३० हजार टन मल आइरहेको र थप ३० हजार टन आउने क्रममा छ । जेठ महिनामा ३० हजार मेट्रिक टन मल बिक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ । पर्याप्त मात्रामा मौज्दात रहेकाले यो वर्ष रासायनिक मलको अभाव नहुने कम्पनीले जानकारी दिएको छ ।
गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसँग जीटुजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्