सेयर बजारमा उच्च अंकको वृद्धि «

सेयर बजारमा उच्च अंकको वृद्धि


साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक २९.५५ अंकले बढेर २,८५६.६७ अंकमा पुगेको हो । बिहीबारको वृद्धिसँगै नेप्से परिसूचकमा नयाँ कीर्तिमान कायम भएको छ ।
अघिल्लो दिन पनि नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको थियो । बुधबार ५५.७६ अंकले नेप्सेमा वृद्धि आएको थियो । नेप्से परिसूचकमा उच्च अंकको वृद्धिसँगै नयाँ रेकर्ड कायम भएको दिन व्यापार, जलविद्युत, निर्जिवन बीमा र अन्य समूहको परिसूचक भने घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । बिहीबार कारोबार रकममा समेत उच्च अंकको वृद्धि आएको छ । दिनभर कुल २ सय १८ कम्पनीको ३ करोड ४६ लाख कित्ता सेयर १६ अर्ब ९० करोड रुपैयाँ बराबरमा सेयर कारोबार भएको छ । अघिल्लो दिन ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको थियो ।
बजारमा उच्च अंकको वृद्धि हुँदा मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको पनि करिब १० प्रतिशतले बढेको छ । आज कुल कारोबार रकम वृद्धि हुनुमा नेपाल पुनर्बीमा कम्पनीको मूख्य भूमिका रहेको छ । कम्पनी एक्लैको १ अर्ब २ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको पनि ६८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । लुम्बिनी विकास बैंक, नेपाल बङ्गलादेश बैंक, शिवम् सिमेन्ट र नेपाल पूर्वाधार बैंक निफ्राको पनि ३० करोड रुपैयाँ माथि नै सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्