Logo

ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग

ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग कम्पनीले कोरोना महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रूपैयाँ प्रदान गरेको जनाएको छ । यस्तै क्रिएशन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यसैगरी गंगालाल अस्पताललाई ५ लाखको पीपीए सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि नेशनल विजनेश इनिसिएटिभलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनीको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउन एअर कार्गोसहित एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको ज्योति ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्