युनिलिभर र नेपाली सेनाको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन «

युनिलिभर र नेपाली सेनाको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन

युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।
फोहरमुक्त विश्वका लागि चक्रिय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको कम्पनीले जनाएको छ । जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेकोे छ । साथै यसले हिमालको सुन्दरतालाई नष्ट पारिरहेको छ । जसका कारण विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।
नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभरसँगको सहकार्यमा प्रकृति र पर्यावरण जोगाउन हातेमालो गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।
“सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु” उनले भने, “हिमालय श्रृङ्खला सफा राख्ने यो सहकार्यबाट तपाईंहरूले सबै नेपालीको मन छुनु भएको छ ।”
कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ, “प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ र यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन, यसका लागि सबै भन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।”
उक्त अभियानअन्तर्गत धौलागिरि हिमालबाट ५०२० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३०० किलो फोहोर धौलागिरि गाउँपालिकालाई बुझाइएको थियो । नकुहिने ४,७२० किलो फोहर पुनः प्रंशोधन गरेर व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ ।
युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि कडा मेहनत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट यस्ता कार्यक्रम सञ्चालन गरेर सामाजिक उत्तरदायित्व बहन गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्ल्ेख छ ।

प्रतिक्रिया दिनुहोस्