Logo

उद्योग वाणिज्य संघको संयोजनमा सुविधा सम्पन्न आइसोलेसन


उद्योगी व्यवसायीहरूको संस्था मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ । नियमित स्वास्थ्यकर्मीको निगरानी रहनेगरी हेटौंडा–२ स्थित पल्पसा भवनमा ३० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।
कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले आइसोलेसन अभाव हुने देखिएको भन्दै उद्योग वाणिज्य संघको संयोजनमा विभिन्न संघसंस्थाको सहयोगमा ३० जना बिरामी अट्ने आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । घरमै बस्न समस्या हुने कोरोना संक्रमितलाई आइसोलेसनमा बस्न आग्रह गरिएको छ । पल्पसा आइसोलेसनमा संक्रमित बिरामीलाई औषधि, उपचारका साथै सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । त्यस्तै बिरामी र बिरामीका कुरुवालाईसमेत निःशुल्क खाना र खाजाको व्यवस्था गरिनेछ ।
आइसोलेसनमा रहेका बिरामीलाई नियमित रूपमा स्वास्थ्यकर्मीले निगरानी गर्ने र थप जटिल समस्या भए जिल्लाभित्रै वा बाहिरको अस्पतालमासमेत पु¥याइनेछ । काठमाडौंमा पनि उद्योग वाणिज्य महासंघले आइसोलेसन सेन्टर सञ्चालन गरेकाले महासंघसँगको सहकार्यमा काठमाडौं पुग्ने बिरामीलाईसमेत निःशुल्क उपचार गरिने संघका अध्यक्ष कटुवालले बताए । आइसोलेसनमा सुविधायुक्त बेडका साथै झुल, तकिया, टेलिभिजन, इन्टरनेटसहित नुहाउनका लागि चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको पल्पसा आइसोलेसन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताए । आइसोलेसनमा अक्सिजनसहित पुरुषका लागि २० वटा र महिलाको लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको उनले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न संघसंस्थाको सहकार्यमा कोभिड हेल्प डेस्कसमेत सञ्चालन गरिरहेको छ । केही समयअघिदेखि नै हेल्प डेस्कमार्फत संक्रमित बिरामीलाई सम्पर्क गरी स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिने र समस्या उत्पन्न भए तत्काल अस्पताल पु¥याउन सहजीकरण गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइसोलेसनसमेत सञ्चालनका लागि स्वीकृति दिएपछि बुधबारबाट आइसोलेसन सेन्टरसमेत सञ्चालनमा ल्याइएको हो ।
बुधबार बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार बिहान पल्पसा आइसोलेसनको उद्घाटन गरेका हुन् । आइसोलेसन उद्घाटनपछि बोल्दै नेता बानियाँले जनतालाई कोरोनासँग कसरी जोगाउने भन्ने बेलामा सरकार भने पद र सत्ताका लागि मरिमेटेको भन्दै आलोचना गरे । “जनता रोग र भोकले मर्दैछन् । तीन महिनाभित्र सबैलाई कोरोनाको खोप लगाइसक्छौं भन्ने सरकार अहिले सत्ताकै लुछाचुँडीमा व्यस्त छ । यस्तो अवस्थामा सरकारको भर गर्ने अवस्थै रहेन” बानियाँले भने ।

प्रतिक्रिया दिनुहोस्