वीरगन्जलाई प्राथमिकतामा राखेर १ लाख डोज खोप दिन माग «

वीरगन्जलाई प्राथमिकतामा राखेर १ लाख डोज खोप दिन माग

कोरोना भाइरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथमिकतामा राख्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले माग गरे । महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र हजारौं संख्यामा मृत्यु भइरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरूलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज संक्रमणको उच्चजोखिममा रहेकाले खोप वितरणमा प्राथमिकतामा राख्नमाग गरेका हुन् ।
संघीय सरकारले खोप खरिदलाई उच्चप्राथामिकतामा राखेकोमा धन्यवाद दिँदै महानगर प्रमुख सरावगीले यसअघि महानगरपालिकाबाटै खोप खरिदका लागि अनुमति माग गरिएकामा खोप खरिदको जिम्मेवारी संघीय सरकारलाई मात्रै भएको मन्त्रालयबाट विभिन्न सञ्चार माध्यमहरूमार्फत स्पष्ट पारेको जानकारी भएको र सरकारसँग उपलब्ध खोप वितरणमा वीरगन्ज क्षेत्रलाई प्रथामिकतामा राख्नमाग गरेका हुन् ।
नेपालमा कोरोना संक्रमण प्रभाव विशेष गरी भारतसँगको सीमावर्ती सहरहरूमा बढी देखिएको र वीरगन्ज देशकै प्रमुख स्थलभन्सार नाका र औद्योगिक तथा व्यापारिक नगरको दृष्टिकोणले पनि बढी जोखिम क्षेत्र वीरगन्ज भएकाले वीरगन्जलाई प्राथामिकता दिन महानगर प्रमुख सरावगीले माग गरेका हुन् । स्थलमार्ग भएर नेपालको ७० प्रतिशत आयात निर्यात हुने क्षेत्र भएको र वीरगन्ज नाका भएर दैनिक हजारौं संख्यामा मालवाहक सवारी साधन देशका विभिन्न स्थानमा जाने गरेको तथा ढुवानी सेवाका सवारी साधनहरू पनि दैनिक हजारौं संख्यामा आवत–जावत हुने भएकाले संक्रमणको उच्चजोखिमा रहेको वीरगन्जका नागरिकलाई बचाउनका लागि खोप वितरणको पहिलो प्राथमिकतामा राख्न अनुरोध गरिएको महानगर प्रमुख सरावगीले बताए ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सयौं उद्योग प्रतिष्ठानहरू सञ्चालनमा रहेको र ती उद्योग प्रतिष्ठानहरूमा काम गर्ने श्रमिकको संख्या पनि करिब १ लाखको हाराहारीमा रहेको हुँदा यस्तो विषम परिस्थितिमा वीरगन्ज भन्सार नाकाबाट हुने ढुवानी सेवामा संलग्न चालक, सहचालक, भन्सारमाकार्यरत कर्मचारीसहित श्रमित र सेवाप्रदायक संस्थाका प्रतिनिधिहरू, उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई पहिलो प्रथमिकतामा राखेर खोप लगाउनु पर्ने देखिएकाले यसलाई गम्भीर रूपमा लिन पनि महानगर प्रमुख सरावगीले अनुरोध गरेका छन् ।
वीरगन्ज महानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय प्रदेश नम्बर २, तथा स्वास्थ्य तथा जन संख्यामन्त्रालयको सचिवलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्