Logo

कर छुट जरिवाना मिनाहा गर्न माग


स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोरोना महामारीको अवधिमा भएको निषेधाज्ञाको समयमा लाग्ने कर छुट र जरिवाना मिनाहा गर्नुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ती जराी गर्दै कर छुट र जरिवाना मिनाहा गर्न माग गरेको हो ।

लामो समयदेखि भएको निषेधाज्ञाले ठूला तथा साना उद्योगी व्यवसायी टाट पल्टने अवस्थामा पुगेको भन्दै संघले यस अवधिमा लाग्ने संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय सरकारले लिने कर छुट गरी जरिवाना मिनाहा गर्न विषयगत मन्त्रालय र तीनै तहका सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोनाको पहिलो लहरमै आक्रान्त बनेका व्यवसायी दोस्रो लहरमा थला परेको बताउँदै व्यवसायीको पीडामा कर छुट र जरिवाना मिनाहा गर्दा मलम लगाएको अनुभूति हुने बताइएको छ ।

“हामी व्यवसायी बैंकको किस्ता, व्याज र जरिवाना सहित व्यवस्थापकीय खर्च जुटाउन नसक्ने अवस्थामा पुगेका छौं” संघका कोषाध्यक्ष खालिद मियाँले भने, “किस्ता, व्याज र व्यवस्थापकीय खर्च त दैनिकी हो, उता सरकारले कर र जरिवाना लगाउँदा व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुग्ने निश्चित छ ।” व्यवसायीको थप पीडा कम गर्न सरकारसँगै समयमै माग गरेको उनले बताए ।

कोरोनाको संक्रमणले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएको दावी गर्दै संघले साना व्यवसायीले घरबहाल कर समेत तिर्न नसक्ने अवस्था आएको जनाएको छ । यस्तै कोभिड विरुद्धको खोप पाउने नागरिकको नैसर्गिक भएर पनि अग्रभागमा देखिने व्यवसायी पनि त्यो अधिकारबाट बञ्चित भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्