२५ बेडको आइसोलेसन भवन
सल्यान जिल्ला अस्पताल परिसरमा २५ बेडको आइसोलेसन भवन निर्माण गरी अस्पताललाई हस्तान्तर गरिएको छ ।
सल्यानमा कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्ला अस्पतालमा बेड अभाव भएपछि शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ बेडको आइसोलेसन भवन निर्माण गरिएको थियो । शारदा नगरपालिका र सबुज गणको सहकार्यमा निर्माण गरिएको उक्त भवनलाई ‘शारदा सबुज भवन’ नामकरण गरिएको छ । उक्त भवन मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरणसँगै उद्घाटन गरिएको हो । शारदा सबुज भवनको साँचो अस्पताल विकास समितिका अध्यक्ष सीपी ओलीलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको १५ लाख आर्थिक सहयोग र नेपाली सेनाको १० लाखको श्रमदान गरेर करिब २५ लाख रुपैयाँमा शारदा सबुज भवन निर्माण कार्यसम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले नागरिकलाई कोरोनाबाट बचाउनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । नगरको प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले जिल्लामा कोरोना संक्रमितको उपचारका लागि नगरपालिका र नेपाली सेनाले गरेको कामको प्रशंसा गर्दै आइसोलेसनमा आवश्यक पर्ने अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटरको व्यवस्थापन गर्न अस्पताललाई सुझाव दिएकी छन । एकसाता भित्र आइसोलेसन भवन निर्माण गर्ने लक्ष्यका साथ कामको थालनी गरिए पनि निषेधाज्ञाका कारण निर्माण सामग्री आयातमा भएको समस्या र वर्षात्का कारण १५ दिनमा निर्माण कार्य सकिएको सबुज गणका प्रमुख कन्चनकृष्ण बस्नेतले जानकारी दिए ।