बलेवा विमानस्थल कालोपत्रको काम अलपत्र «

बलेवा विमानस्थल कालोपत्रको काम अलपत्र


पर्वत सदरमुकामनजिकै रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम लामो समयको निषेधाज्ञाका कारण अलपत्र परेको छ ।
आगामी असारभित्र काम सकेर हस्तान्तरण गर्ने बलेवा विमानस्थल निर्माण योजना निषेधाज्ञाले प्रभावित बनेको हो । विगत डेढ महिनादेखिको निषेधाज्ञाले काम अलपत्र बनेको निर्माण व्यावसायीले बताएका छन् । निर्माण व्यावसायीका अनुसार बन्दाबन्दीकै कारण तोकिएको समयमा काम भ्याउन नसकिने भएको छ । निषेधाज्ञाले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि काम रोकिएको हो । विमानस्थलको धावनमार्ग कालोपत्र र पार्किङसहितको निर्माणको अन्तिम तयारी गर्दा वैशाख पहिलो सातादेखि काम रोकिएको इन्जिनियर चिरञ्जीवी खड्काले जानकारी दिए । बलेवा क्षेत्रमा गएको वैशाख ४ देखि नै अत्यधिक कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको थियो । अहिले संक्रमण घटे पनि सामग्री ढुवानीमा अझै अवरोध भइरहेको निर्माण व्यवसायी काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनीका इन्जिनियर चिरञ्जीवी खड्काले बताए । निर्माण सामग्री तनहुँको कोत्रेबाट ल्याउनुपर्ने भए पनि तीन जिल्ला पार गरेर ल्याउनुपर्दा ढुवानीमा समस्या भएको उनले बताए ।
एक वर्षअघि ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रको सम्झौता गरेको कम्पनीले नियमित काम गरिरहेको थियो । वैशाख पहिलो सातासम्म निर्माणको ९० प्रतिशत काम सकिएको खड्काले बताए । “भौतिक निर्माणमा ९० प्रतिशत, आर्थिकतर्फ ८० प्रतिशत प्रगति भएको छ,” उनले भने, “नियमित काम गर्न पाएको भए अहिलेसम्म सम्पन्न भइसक्ने थियो ।” विमानस्थलमा ७ सय मिटर लामो पक्की नाली बनाउने, मैदानमा १ हजार ५ सय मिटर लामो घेराबार लगाउने, मुख्य गेट र आपत्कालीन गेट बनाइएको छ । मैदानको सबै भाग १ किमि लामो छ । तर हाल ७ सय मिटर लामो, २० मिटर चौडा कालोपत्रे गरिनेछ  । मैदान भने ६० मिटर चौडा सम्याइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनर्निर्माण भएको हो ।
अब विमानस्थलको ७ सय मिटर लामो धावनमार्ग कालोपत्र गर्ने काममात्रै बाँकी छ । त्यसका लागि तनहुँको कोत्रेबाट चिप्स र म्याग्दीमा सञ्चालन भइरहेको क्रसर उद्योगबाट गिट्टी ल्याउने योजना भए पनि सामान ढुवानीमा प्रशासनले रोक लगाएको उनको गुनासो छ । गत मंसिरदेखि रातिसमेत काम गरेको कम्पनीले अहिले सवारीसाधन चलाउन पाएको छैन । वडाध्यक्ष चक्रबहादुर खत्रीले संक्रमण घट्न थालेकाले तोकिएको स्थानमा बसेर काम गर्न दिँदा राम्रो हुने बताउँदै अब निर्माण सुचारु गर्न सहजीकरण गरिने बताए । कामदार पनि तोकिएको स्थानमा बस्दा क्वारेन्टाइनजस्तै हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लाभित्र विकास निर्माणका काममा कुनै अवरोध नभएको दाबी गरे । छिमेकी जिल्लामा समन्वय गरेर निर्माणलाई सुचारु गर्न पहल गर्ने उनको भनाइ छ ।
२०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो विमानस्थलमा २०५० सालसम्म नियमित जहाज चल्ने गरेको भए पनि पोखरा–बागलुङ सडक सञ्चालनमा आएपछि बन्द भएको थियो । उतिबेला बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित उडान हुने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्