Logo

फर्कनेभन्दा भारत जाने बढे

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी नाका भएर भारत जाने नेपाली नागरिक । तस्बिर : कारोबार


कञ्चनपुरका भारतसँग जोडिएका सीमानाका क्षेत्रमा भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जाने नेपाली नागरिक बढ्दै गएका छन् । छिमेकी मुलुक भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक कोरोना महामारीको दोस्रो लहर सुरु भएयता स्वदेश फर्केको भए पनि महामारीको संक्रमण दर केही कम भएपछि पुनः भारत जाने नेपाली नागरिक बढ्दै गएका हुन् । जिल्लाको पश्चिमी सीमानाका गड्डाचौकी र दक्षिणी सीमानाका गौरीफन्टाबाट केही दिनयता भारतबाट नेपाल फर्किने नेपाली नागरिकभन्दा नेपालबाट रोजगारीका लागि भारत जाने नेपाली नागरिकको संख्या बढेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
“विगतको तुलनामा दैनिक रुपमा १५ सय बढी मानिस एउटै नाकाबाट नेपाल फर्किने गरेका थिए, अहिले १५ सयबाट घटेर सरदर एक सय नेपाली नागरिक दैनिक रुपमा नेपाल फर्कने गरेको अवस्था छ ।” प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, “महामारीले सिर्जित समस्या र कोरोना संक्रमण दरमा पनि केही कमी आएको छ, योसँगै भारतमा पनि कोरोना संक्रमण नियन्त्रणमा आएको भन्ने खबर आइरहेका छन् यसले गर्दा भारतमा रोजगारमा रहेका नेपाली नागरिक पुनः रोजगारमै फर्कनेक्रम बढ्दै गएका छन् ।” कोरोना महामारीमा निषेधाज्ञा भएको भए पनि नेपाली नागरिकलाई नेपालबाट भारत जान तथा भारतबाट नेपाल फर्कन खुला गरिएको अवस्था छ । केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारतजान सहज गरेका कारण नेपालीहरू दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।
यसैगरी मंगलबार मात्रै जिल्लाको दुईवटा भारतसँग जोडिएका नाकामध्ये पश्चिमी सीमानाका गड्डाचौकी नाका भएर ९० जना नेपाली नागरिक भारतबाट नेपाल फर्किएका छन् भने ९५ जना नेपाली नागरिक नेपालबाट भारत गएका छन् । यसैगरी दक्षिणी नाका गौरिफन्टामा पाँच सय ४० नेपाली नागरिक स्वदेश फर्किएका छन् भने चार सय ९४ नेपाली भारत पसेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जसमध्ये भारत जाने नागरिकको संख्यामा केही नागरिक भने भारतीयसमेत रहेको कार्यालयले जनाएको छ ।
“अहिले भारतसँगै नेपालमा पनि कोरोना महामारीको प्रभाव केही कम हुँदै गएको अवस्था छ, जसका कारण महामारीबाट बेरोजगार भएका नागरिक रोजगारमा फर्कन सक्ने स्थित सिर्जित हुँदैछ,” प्रजिअले भने, “जिल्लामा निषेधाज्ञा भए पनि जिल्लामै रहेर बसेका नागरिक पुनः भारत जान थालेका छन्, यसले गर्दा भारतबाट नेपाल फर्किने नेपाली नागरिकभन्दा दिनप्रतिदिन नेपालबाट भारत जाने नेपाली नागरिक बढ्ने सम्भावना छ ।”

जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो पारिने
जिल्लामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा केही खुकुलो गरिने भएको छ । कोरोना महामारीको नयाँ भेरियन्टसहित छिमेकी मुलुक भारतबाट महामारीको दोस्रो लहर नेपालमा प्रवेश गरेपछि संक्रमण बढेको अवस्थालाई मध्यनजर गरी संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै गएपछि जिल्लामा लगाइएको निषेधाज्ञा केही खुकुलो बनाइने भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा पुगिसकेको छ । “दैनिक दुई हजार बढी संक्रमित हुने अवस्थाबाट गुज्रेको जिल्लामा हाल आएर दैनिक सरदर पाँच सय तल संक्रमित दर सीमित हुने अवस्था छ, यसले गर्दा कोरोना महामारी पूर्णरूपमा नियन्त्रण नभए पनि नियन्त्रणमा भने कमी आएको अवस्था छ । जिल्लामा अहिले पनि निषेधाज्ञा जारी छ, यसले गर्दा केही दिनमा निषेधाज्ञा खुकुलो पार्ने तथा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि कडाइ गर्ने योजना छ,” पजिअ महतोले भने ।

प्रतिक्रिया दिनुहोस्