पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध प्रयोग गर्न आग्रह «

पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध प्रयोग गर्न आग्रह


पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध (स्किम मिल्क पाउडर) प्रयोग गर्न डेरी उद्योगीले आग्रह गरेका छन ।
डेरी उद्योगसँग पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री व्यवसायीलाई प्रयोग गर्न आग्रह गरेका हुन् । पोल्ट्रीको भ्याक्सीनेसनको लागि आवश्यक हुने गुणस्तरीय स्वदेशी धुलो दूध प्रयाप्त रहेकाले प्रयोग गर्न डेरी उद्योग संघले अनुरोध गरेको हो ।
पोल्ट्री व्यवसायमा प्रयोग गर्न सहज हुने गरी १–१ केजीको प्याकेट दूध उपलव्ध हुने भन्दै संघले सबै पोल्ट्री उद्योगलाई प्रयोग गर्न आग्रह गरेको छ । संघका अध्यक्ष राजकुमार दाहालले पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री उद्योगलाई प्रयोग गर्न अनुरोध गरेको बताए । धुलो दूध प्रयोग गर्ने विषयमा व्यवसायी सहमत भएको र प्रतिकेजी भ्याटसहित ६ सय रुपैयाँमा उपलव्ध गराइने उनले जानकारी दिए ।
“बाहिरबाट कमसल पाउडर दूध आयात गरेर पोल्ट्री व्यवसायमा प्रयोग भइरहेको छ” उनले भने, “स्वदेशमै गुणस्तरयुक्त धुलो दूध पर्याप्त रहेकाले यसको आयातमा प्रतिबन्ध लगाउनुपर्छ ।” डेरी उद्योग संघसँग २५ सय मेट्रिक टन र दुग्ध विकास संस्थान (डिडिस)सँग १५ सय मेट्रिक टन धुलो दूध मौज्दात रहेको उनको भनाइ छ । कोरोना भाइरसको कारणले गत वर्ष दूध बिक्री नभएपछि उद्योगीले धुलो दूधको पाउडर बनाएका थिए । यो वर्ष पनि दूधको खपत ६० प्रतिशतले घटेको उद्योगीको भनाइ छ ।
नेपाल पोल्ट्री महासंघले पनि कुखुरा उत्पादनमा स्वदेशमै उत्पादन भएको धुलो दूध (एसएमपी) प्रयोग गर्न आग्रह गरेको छ । महासंघले कोरोनाका कारण ठूलो मात्रामा धुलो दूध स्टकमा रहेकाले स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष गुणचन्द विष्टले पोल्ट्री उद्योगले स्वदेशमा उत्पादन भएको धुलो दूध प्रयोग गरिरहेको बताए । “बाहिरबाट कमसल अखाद्य दूध आयात भइरहेको छ” उनले भने, “स्वदेशमा पर्याप्त उत्पादन भएकाले बाहिबार आउने धुलो दूधको आयातमा प्रतिबन्ध लगाउनुपर्छ । पोल्ट्री क्षेत्रमा भ्याक्सिन तथा कुखुरा र अन्य पशुपंक्षीका दाना उत्पादन, विभिन्न रोगको उपचार परिपुरकका रुपमा तथा माउ जातका र अण्डा पार्ने कखुराहरुमा धुलो दूधको नियमित प्रयोग गर्ने गरिन्छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको समन्वयमा राष्ट्रिय दुग्ध विकास बोर्डले अघिल्लो लकडाउनदेखि स्टकमा रहेको र थप उत्पादन हुने दूधको बजार सुनिस्चित गर्न पोल्ट्री उद्योगमा दुग्ध खपतको योजना अगाडि सारेको हो ।
पोल्ट्री क्षेत्रमा प्रयोग भइरहेको आयातित धुलो दूधमा प्राकृतिक तत्वहरु नहुने, अखाद्य वस्तुको मिसावट हुन सक्ने, आवश्यक क्वारेन्टाइन प्रक्रिया पूरा नगरी आयात हुने, सम्बन्धित निकायमा दर्ता नहुने, किसान तथा पशुपंक्षी औषधी पसलमा त्यस्ता दूध खरिद गर्दा बिल पनि नपाइने जस्ता समस्या हुने भएको उल्लेख गर्र्दै स्वदेशी उत्पादन प्रयोग गर्न महासंघले आव्हान गरको छ ।
स्वदेशी उत्पादन उच्च गुणस्तर भएकाले यसले कुखुरालाई धेरै नै लाभदायक हुने उनको भनाइ छ । मुलुकमा चितवन डेरी, सुजल डेरी र डिडिसिले धुलो दूध उत्पादन गर्दै आएका छन् । स्वदेशमा पर्याप्त उत्पादन भएकाले विदेशबाट आयात हुने कम गुणस्तरको धुलो दूधमा प्रतिबन्ध आयात लगाउनुपर्ने उद्योगी व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्