Logo

निजी क्षेत्र आफैंले सुरु गरे लामाबगर सुरुङमार्ग


लामाबगर सुरुङको काम सुरु भएको छ । सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले सुरुङमार्गको काम सुरु गरेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमाबाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्गको प्रस्ताव गरेको थियो ।
सुरुङमार्ग निर्माणका लागि सोमबार (जेठ १७) गते विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले शिलान्यास गरेर सुरु गरे । एमभी दुगड ग्रुपले बनाउन प्रस्ताव गरेको लप्चीखोला जलविद्युत् आयोजनाले सुरुङमार्ग निर्माण गर्ने भएको हो । एमभी दुगडले लप्चीखोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणका लागि तयारी थालेको छ । लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले अहिले आयोजना आफैंले सुरुङमार्गको काम सुरु गरेको हो ।
यही आयोजनाले पहुँचमार्ग निर्माणका लागि ३ वटा स्काभेटर हेलिकप्टरमार्फत उडाएर आयोजनास्थल लुम्नाङ पु¥याएको छ । २ वटा स्काभेटर लामाबगरको माथिल्लो तामाकोसीको बाँधभन्दा माथि पु¥याइसकेको छ । तर मुखैमा सुरुङमार्ग परेकाले थप सडकको काम हुन सकेको छैन ।
१० वर्षदेखि सडक विभागले लामाबगर चीन बोर्डर जोड्ने सडकका लागि बजेट विनियोजन गरे तापनि ३ किलोमिटर ट्रयाकमात्र खोलेको छ । यो सुरुङमार्ग सरकारले बनाउने भनेर बजेटमा आउन थालेपछि यो सडक शीर्षकमा चालू आर्थिक वर्षदेखि बजेट नै आउन छाडेको छ ।

आयोजनै आयोजना
लामाबगरभन्दा माथि दुगडको लप्चीखोलासहित सानिमा ग्रुपको ५६ मेगावाटको जुमखोला, इनर्जी भेन्चरको ५२ मेगावाटको माथिल्लो लाप्चेखोला, अर्को २० मेगावाट र अपर तामाकोसीकै रोल्वालिङ डाइभर्सनबाट आउने २२ मेगावाटको आयोजना छ । पहुँचमार्गकै कारण सबै आयोजनाले पूर्वाधारको काम थाल्न सकेका छैनन् । ५२ मेगावाटको माथिल्लो लाप्चेखोलाको र विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौता भएको समेत ५ वर्ष पुगिसकेको छ ।
सबै आयोजना विगू गाउँपालिका–१ मा पर्छ । विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड््काले संघीय सरकारले लामो समयदेखि सुरुङमार्ग बनाउने भनेर आशमात्र देखाएर प्रगति केही नगरेको गुनासो गरे । यो सुरुङमार्ग चीन र भारत जोड्ने अन्तर्राष्ट्रिय महत्वपूर्ण मार्ग रहेको उनले बताए । “तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली लामाबगर आएर चाँडै सुरुङ खनेर तिब्बत जोड्ने घोषणा गरेर जानुभयो,” उनले भने “हामीले सुरुदेखि उठाउँदै आएको एजेण्डा अनुसार दुई तिहाइको प्रधानमन्त्री आएर बोलेको अब सुरु होला भनेको तर अहिलेसम्म सरकारी क्षेत्रबाट आश्वासनबाहेक केही भएन ।” एक महिनाअघि पनि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निरीक्षणका लागि सञ्चारमन्त्री पार्वत गुरुङसँग यातायातमन्त्री वसन्त नेम्वाङले सुरुङमार्ग क्षेत्रको समेत निरीक्षण गर्नु भयो तर केही नबोली गएको अध्यक्ष खड्काले बताए ।
ढिलै भए पनि निजी क्षेत्रले सुरुङमार्गको काम सुरु गरेकाले अब भारतीय सीमाबाट लामाबगरसम्म आएको सडक चाँडै चीन जोडिने र पुरानो भन्सार सञ्चालन हुनेमा आफू आशावादी भएको अध्यक्ष खड्काले बताए । लप्चीखोला आयोजनाका अनुसार सुरुङ अहिले ६ मिटर उचाइ र ६ मिटर चौडाइको बन्ने छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भूकम्पपछि सडक भत्केपछि काब्रे भीरमा ३४० मिटर लम्बाइको सुरुङ पनि यही डिजाइनमा बनाएको छ । यसलाई पनि विस्तार गर्नसक्ने आयोजनाले बताएको छ ।
एमभी दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत दीपक पौडेलले सरकारीस्तरको प्रक्रियागत कामले केही ढिला हुने भएपछि अहिले कम्पनीले सुरुङमार्गको थालनी गरेको जानकारी दिए । “सरकारको पनि प्राथमिकताको आयोजना हो, हाम्रो आयोजनासँगै अरु पनि जलविद्युत् आयोजना छन्,” उनले भने, “तीनै तहको सरकार र अन्य आयोजनासँग पनि सहकार्य गरेर यो सुरुङमार्ग चाँडै पूरा गर्नुपर्ने अवस्था छ ।”
अहिले सुरुङमार्गसम्म पुग्ने पहुँचमार्ग तयार हुँदैछ । पहुँचमार्ग तयार गरेर लामाबगरतिरबाट सुरुङमार्गसम्म पुग्न दुई साताजति लाग्ने बताइएको छ । एकापट्टिबाट काम सुरु भएपछि उत्तरतिरबाट पनि सुरु गर्ने र त्यसका लागि माथिल्लो तामाकोसीको बाँधमा आवतजावत गर्नका लागि स्टिमरसमेत ल्याउने तयारी गरेको छ । सबै व्यवस्था मिल्दा सुरुङमार्ग ८/९ महिनामा पूरा गर्ने लक्ष्य राखेको छ ।
दुगड ग्रुपले लिखु खोलामा ३ वटा जलविद्युत् आयोजना एकै साथ निर्माण गरिरहेको छ । लिखुपछि लप्चीखोला बनाउने उसको योजना छ । लप्चीखोला निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो आयोजना हो । यो आयोजनाको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।
सुरुङमार्ग सी आकारमा बन्ने सडक विभागको प्रस्ताव छ । माथिल्लो तामाकोसीको बाँध भरिएपछि लामाबगरभन्दा माथि जानेका लागि गोरेटो नै बन्द हुने र सडक निर्माण पनि कठिन हुने भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आठ वर्षअघि आफ्नै ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनमार्फत सुरुङमार्गको डिजाइन भएको थियो । त्यसबेला नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्ने प्रस्ताव थियो ।

डीपीआर तयार
त्यही डिजाइनलाई आधार मानेर निजी क्षेत्रका जलविद्युत् कम्पनीहरू र सडक विभागले पनि डीपीआर तयार गरेको छ । सडक विभागले अन्तर्राष्ट्रियस्तरको राजमार्गको सुरुङमार्ग नौ सय मिटर बनाउन २ अर्ब ४६ करोड लाग्ने अनुमानित रिर्पोट तयार गरेको छ । त्यसकैका आधारमा तीन महिनाअघि बहुवर्षीय ठेक्का लगानका लागि अर्थ मन्त्रालयसँग सहमतिसमेत माग गरेको थियो ।
सरकारले लामाबगर सुरुङमार्ग निर्माणका लागि चालू आवका लागि ३० लाख बजेट विनियोजन गरेको थियो । गत जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आव ०७८/७९ का लागि प्रस्तुत गरेको बजेट भाषणमा समेत लामाबगर सुरुङमार्ग सुरु गर्ने भने तापनि बजेट किटान गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्