अलैंची र जुट निर्यात बढ्यो

पछिल्लो समय अलैंची र जुटका सामानको निर्यात बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा स्वदेशमा उत्पादित अलैंची र जुटका करिब ६-६ अर्ब रुपैयाँ बराबरका सामान निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ती वस्तुको माग बढ्दै गएकाले निर्यातमा उल्लेख्य वृद्धि भएको पनि केन्द्रको आंकलन छ । केन्द्रका अनुसार मुलुकमा उत्पादन भएका वस्तुमध्ये सबैभन्दा धेरै अलैंची ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार रुपैयाँ बराबरको ७५ लाख ५० हजार ३ सय ९७ केजी निर्यात भएको हो, जुन अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो अवधिमा ३ अर्ब ३४ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको ४१ लाख ६१ हजार ९ सय ३ केजी निर्यात भएको थियो । अलैंची छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने गर्छ ।
यस्तै दोस्रोमा ५ अर्ब ९८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको जुट र जुटका सामान निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष ४ अर्ब ६४ करोड ७३ लाख ४५ हजार रुपैयाँ जुटका सामान निर्यात भएको छ । व्यापार विज्ञ पुरुषोतम ओझाले स्वदेशी उत्पादनको निर्यात बढ्नु सकारात्मक भएको बताए । निर्यात बढाउनका लागि स्वदेशी वस्तुको उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
यस्तै ३ अर्ब ३८ करोड २५ लाख २ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले निर्यात बढेको हो । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ८६ करोड ६८ लाख ७ हजार रुपैयाँमा निर्यात भएको थियो । यस्तै ३ अर्ब ३४ करोड ८ लाख ३१ हजार रुपैयाँको फेल्टका सामान निर्यात भएको छन् ।
अघिल्लो वर्षको तुलनामा निर्यात ८७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७७ करोड ७९ लाख ४३ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै २ अर्ब १५ करोड २७ लाख २९ हजार रुपैयाँको वुलन र पस्मिनाका सामान निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको केन्द्रले जानकारी दिएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ४३ करोड ८० लाख ११ हजार रुपैयाँका निर्यात भएको थियो । यस्तै चाउचाउ र पास्ता निर्यातमा ६९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड २२ लाख १० हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ८२ करोड ३१ लाख ६८ हजार रुपैयाँको निर्यात भएको थियो ।
यस्तै, अदुवा निर्यातमा १६ प्रतिशतले बढेर ३९ करोड २० लाख ३९ करोडको निर्यात भएको केन्द्रको तथ्यांक छ । मुलुकबाट १० महिनामा सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । केन्द्रका अनुसार ३५ अर्ब ७५ करोड ३३ लाख ८७ हजार रुपैयाँ बरारबको भटमास तेल निर्यात भएको हो । व्यवसायीले कच्चा पदार्थ आयात गरेर नेपलामा प्रशोधन गरेर पुनः निर्यात भएको हो । भटमासको तेलको कारणले गर्दा १० महिनामा निर्यात बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार पुगेको हो ।