मिदिमखोलामा १८ प्रतिशतमात्रै सेयर संकलन «

मिदिमखोलामा १८ प्रतिशतमात्रै सेयर संकलन

लमजुङ-लमजुङको मिदिमखोलामा रहेको मिदिमखोला जलविद्युत् आयोजनाले खुला गरेको स्थानीय सेयरमा १८ प्रतिशतमात्रै संकलन भएको छ । व्यावसायिक उत्पादन भएको करिब एक वर्षपछि स्थानीयलाई लक्षित गरी सेयर निश्कासन गरे पनि थोरैमात्रामा संकलन भएको आयोजनाले जनाएको छ ।
युनियन हाइड्रोपावरले निर्माण गरेको ३ मेगावाटको उक्त आयोजनाले स्थानीयलाई लक्षित गरी अघिल्लो महिना सात करोड ५० लाख रुपैयाँको सेयर निष्कासन गरे पनि जम्मा एक करोड २८ लाख रुपैयाँको संकलन भएको जनाएको छ ।
आयोजनाले निर्माण सुरु गर्नु अघि जारी गरेको प्रमोटर सेयरमा नै धेरै स्थानीयले सहभागिता जनाएकाले पछिल्लो स्थानीय सेयरमा कम रकम संकलन भएको हुनसक्ने आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले बताए ।
स्थानीय सेयरका लागि आयोजना निर्माणस्थल रहेको प्रभावित क्षेत्रसँगै सिँगो लमजुङलाई लक्षित गरी सेयर आव्हान गरेको थियो । स्थानीय सेयर अपेक्षित संकलन नभएपछि छिट्टै नै पब्लिक सेयर निष्काशनको तयारीमा रहेको आयोजनाले जनाएको छ । गत वर्षको पुस महिनाबाट विद्युत् उत्पादन गरेको आयोजनाले माघ महिनामा राष्ट्रिय प्रशारणमा जोडिएर व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो । १५६० किलोवाट क्षमताका दुईवटा टर्बाइन रहेको आयोजनामा हाल पानी अभावका कारण १.० सात किलोवाटमात्र विद्युत् उत्पादन भइरहेको छ ।
प्रवद्र्धक कम्पनी युनियन र नेपाल विद्युत् प्राधिकरणबीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । पानीको बहावमा आधारित यो आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी पीपीए सम्झौता भएको थियो । आयोजनाले सानिमा तथा सनराइज बैंकबाट वित्तीय ब्यवस्थापन गरेको थियो ।
साविक करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधी ११२१.२४ मिटर लामो भूमिगत सुरुङ ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टमार्फत ल्याइएको पानीलाई करापुको पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ ।
सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्