सिंजाका किसान व्यावसायिक बाख्रा पालनमा
सिँजा गाउँपालिकाका अधिकांश किसानको भेडाबाख्रा पालन व्यवसाय पुख्र्यौली पेसा हो । हालसम्म सिंजाका किसानले भेडाबाख्रा पालनलाई निरन्तरता दिँदै आएका छन् । चरण क्षेत्र प्रसस्त भएको र भेडाबाख्रा पालनमा स्थानीयको आर्कषण पनि भएकाले सिंजा क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत मध्य भेडा बाख्रापालन पनि एक बलियो माध्यम हो ।
गत वर्ष भारी हिमपात र चट्यांक लागेर सयौ भेडा बाख्रा मरे । जसले गर्दा केही किसानले भेडाबाख्रा पालनबाटै पलायन भए । बिमा नगरेका हुनाले कतैबाट किसानले राहत पाएनन् भने धेरै किसानको रोजीरोटीनै गुम्यो । व्यवसायलाई निरन्तरता दिन सिंजाका बाख्रा पालक किसान स्थानीय सरकारले दिने राहतको पर्खाइमा थिए ।
बाख्रा पालनको सम्भावना किसानको मागलाई मध्यनजर गर्दै सिंजा गाउँपालिकाले व्यवसाय प्रर्बद्धनका लागि उन्नत जातका बाख्रा दिएको छ । किसानको जीवनस्तर उकास्न तथा व्यावसायिक बाख्रापालन बढाएर आम्दानी बढाउन किसानलाई उन्नत बाख्रा वितरण गरिएको हो । पुख्यौली रुपमा पहिलेदेखि बाख्रापालन गर्दै आएका किसानलाई व्यवसायी बनाउन आर्यआर्जन वृद्धि गर्न थप उन्नत बाख्रा वितरण गरिएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
उनले भने, “व्यवसाय प्रर्बद्धनसँगै किसानलाई प्रोत्साहित गर्न बाख्रा दिइएका हौ । सिँजा क्षेत्र बाख्रापालनको लागि अनुकुल क्षेत्र हो । यहाँ चरन क्षेत्र र बाख्रापालनप्रति स्थानीयको आर्कषण भएकोले पनि बाख्रा पालन व्यावसायिक बन्ने आशा छ ।”