गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण «

गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण

ओझेलमा परेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ मुदीको सीमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । गुर्जा र मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।
गुर्जा खोलाको किनार र पहाडको फेदीमा रहेको मुहानबाट प्राकृतिक रूपमा निस्कने तातोपानीलाई संकलन गरी स्नानका लागि पक्की पोखरी बनाइएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । तातोपानीको संरक्षण र पर्यटन विकासका लागि गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयबासीले श्रमदानसमेत गरेर पूर्वाधार निर्माण गरेका हुन् ।
करिब १० मिटर लम्बाइ, पाँच मिटर चौडाइ र एक मिटर गहिराइको पक्की पोखरी बनाइएको छ । पोखरीमा एक पटकमा कम्तीमा ३५ जनासम्मले स्नान गर्नसक्ने क्षमता रहेको छ । स्नान तथा भ्रमणका लागि पुग्ने सर्वसाधारण र पर्यटकको सुविधाका लागि दुईवटा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ । अस्थायी टहरा हालेर बसोबास गर्ने व्यवस्थाका लागि भिरालो पाखोलाई सम्याइएको छ ।
गुर्जा गाउँदेखि मुहानसम्म जाने व्यवस्थित पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको ११ लाख अनुदान र स्थानीयवासीको तीन लाखभन्दा बढीको श्रमदानमा पूर्वाधार निर्माण भएको हो । प्राकृतिकरूपमा नुनिलो स्वादको ५० डिग्रीभन्दा बढी तातो पानी निस्कने मुहान रहेको छ । गुर्जा र मुदीदेखि चार घण्टा पैदल यात्रा गरेपछि तातोपानीको मुहान रहेको ठाउँमा पुग्न सकिन्छ ।
भौगोलिक विकटता, पूर्वाधारको कमी र प्रचारप्रसारको अभावमा ओझेलमा परेको तातोपानी कुण्डलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष छन्त्यालले बताए । सो तातोपानीलाई स्थानीयबासीले अस्थायी पोखरीमा संकलन गरेर स्नान गर्दै आएका थिए । तातोपानीमा स्नान गरेपछि हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेकोजस्ता स्वास्थ्य समस्या निको हुने गरेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्