Logo

मौसम अनुकुल नहुँदा अलैंची उत्पादन घट्ने अनुमान


लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन घट्ने भएको छ । अलैंचीका लागि मौसम अनुकुल नहुँदा यस वर्ष भारी मात्रामा उत्पादन घट्ने भएको हो ।
गत पुस यता राम्रोसँग झरी नपरेका कारण उत्पादन घट्ने अनुमान गरिएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । पुसदेखि चैत महिनासम्म लामो समय परेको खडेरीका कारण अलैंची राम्रोसँग फल लाग्न नपाएको अध्यक्ष तामाङको भनाइ छ ।
जिल्लाका केही ठाउँहरुमा पहिलेदेखि नै अलैंचीका बोटहरुमा विभिन्न समस्या भएको र यसवर्ष मौसम पनि अनुकुल नहुँदा गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले अलैंची उत्पादनमा गिरावट आउने अध्यक्ष तामाङले बताए । जिल्लामा गत वर्ष दुई हजार मेट्रिक टन अलैंची उत्पादन भएकोमा यस वर्ष एक हजार मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान गरिएको अध्यक्ष तामाङको भनाइ छ ।
यसवर्ष जिल्लामा मात्रै नभएर अलैंचीको व्यावसायिक खेती हुँदै आएका देशभरका जिल्लाहरुमा उत्पादन हस हुने अनुमान गरिएको छ । सबैतिर मौसमले साथ नदिँदा उत्पादनमा भारी हस हुने अनुमान गरिएको हो ।
जिल्लामा गत वर्ष मात्रै तीनसय हेक्टर भन्दा बढी क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो । गत वर्ष एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएपनि मौसम अनुकुल नहुँदा उत्पादन घट्ने भएको छ ।
यतिबेला अलैंचीको नयाँ बिरुवा रोप्ने तथा बगान गोडमेलको समय भएको छ । कोरोना महामारीक कारण स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बेला लमजुङका कृषकहरु अलैंची खेती विस्तार तथा गोडमेलमा जुटेका छन् । व्यावसायिक अलैंची खेती हुँदै आएको जिल्लाको उत्तरी भेगका कृषकहरु अलैंची बगानमा गोडमेलसँगै नयाँ विरुवा रोप्न व्यस्त भएका हुन् ।
कोरोनाको प्रभावका कारण अधिकांश सर्वसाधरणको जनजिवन प्रभावित भएपनि जिल्लाका अलैंची कृषकहरुले भने यो समयलाई भरपुर सदुपयोग गर्दै आएका छन् । यसअघि पढाई र रोजगारीका लागि सदरमुकाम तथा अन्य शहरमा बस्दै आएकाहरु पनि लकडाउनको समयलाई सदुपयोग गर्न गाउँ फर्किएको अध्यक्ष तामाङले बताए । दशक अघि प्रतिकेजी २५ सयसम्म रहेको अलैंचीको मूल्य गत वर्ष पाँचसय २० कायम भएको थियो । अघिल्लो वर्ष ६ सय २० रुपैयाँ प्रतिकिलो बिक्री भएको अलैंची गत वर्ष मात्रै एक सय रुपैयाँ गिरावट भएको थियो ।
लमजुङको १२ सय मिटर भन्दा माथिल्लो भागमा व्यावसायिक रूपमा अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजार भन्दा बढी कृषकले अलैंची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासंघले जनाएको छ ।
विदेश त्यागेर व्यावसायिक अलैंची खेती गर्दै आएका किसानहरु प्रत्येक वर्ष मूल्य घट्दै जाँदा मर्का पर्नुको साथै उत्साह पनि मर्दै गएको छ । अलैंचीको उचित मूल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्