के अब क्लिन फिड लागू हुदैन त ? «

के अब क्लिन फिड लागू हुदैन त ?

अहिलेसम्म पनि सरकारले पे टिभी च्यानलहरूमा क्लिन फिड लागू गर्न सकिरहेको छैन ।

पछिल्लो समय नेपालमा थुप्रै सशुल्क बिदेशी टेलिभिजन च्यानलहरू प्रसारण भइरहेका छन् । तर यी पे टेलिभिजन च्यानलहरूमा सरकारले क्लिन फिड लागू गर्न सकिरहेको छैन । विज्ञापनरहित प्रसारण हुने टेलिभिजन च्यानललाई सामान्य भाषामा क्लिन फिड भनेर भन्ने गरिन्छ । शुल्क तिरेर हेर्ने टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्छ । यो नै क्लिन फिड हो र अहिले दर्शकहरूले महँगो शुल्क तिरेर हेर्ने गरेको विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनसमेत हेर्न परिरहेका छन् । नेपाल सरकारले आमसञ्चार क्षेत्रको नीतिगत संरचनामा कानुनी सुधारसम्बन्धी अध्ययन गरी सुझाव पेस गर्न मन्त्रिपरिषद्ले २०७२ माघ २० मा गठन भएको सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले ५ साउनमा २०७३ मा बुझाएको राष्ट्रिय आमसञ्चार नीतिको मस्यौदामा विदेशी पे टिभी च्यानलहरूमा क्लिन फिड लागू गर्ने व्यवस्था गरिएको छ, जसलाई २०७३ साउनमा पास गरेको हो । तर, अहिलेसम्म पनि सरकारले पे टिभी च्यानलहरूमा क्लिन फिड लागू गर्न सकिरहेको छैन । विदेशी टेलिभिजन च्यानलहरूले नेपालका लागि अलग्गै च्यानल पठाउन नसकिने भनेर भनेको र नेपाली केबललाइन टेलिभिजनहरूले पनि क्लिन फिडमा असहमति जनाएको कारणले यो लागू गर्न नसकेको सरोकारवालाहरूको भनाइ छ । के त अब क्लिन फिड लागू नै नहुने हो त ? लागू हुने हो भने कहिले हुने हो र यसका लागि के–कस्तो काम भइरहेको छ त ?
संसारमा पछिल्लो समयमा टेलिभिजन च्यानलहरू लोकप्रिय भइरहेका छन् । सात समुद्रपारका देशका टेलिभिजन च्यानलहरू पनि अहिले घर–घरको कोठा–कोठामा बसेर हेर्न सकिने भइसकेको छ । नेपालमा पनि थुप्रै विदेशी टेलिभिजन च्यानलहरू हेरिन्छ । त्यसो त नेपालमा नेपालि टेलिभिजन च्यानलहरू नै दुई दर्जनजति प्रसारण भइरहेका छन् । कतिपय अवस्थामा त नेपाली टेलिभिजन च्यानलहरू पनि शुल्क तिरेर हेर्न परिरहेका छन् भने नेपालमा प्रसारण भइरहेका अधिकांश विदेशी टेलिभिजन च्यानलहरू पे टिभीका रूपमा अर्थात्् शुल्क तिरेर हेर्नुपर्ने रूपमा प्रसारण भइरहेका छन् । पे टिभीका रूपमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूबाट विज्ञापनसमेत हेर्न परिरहेको छ नेपाली दर्शकहरूले । सित्तंैमा हेर्न पाउने विज्ञापनहरू शुल्क तिरेर हेर्न परिरहेको छ । पे टिभीका रूपमा प्रसारण हुने टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न पाइँदैन ।
धेरैजसो देशहरूमा पे टिभी र नन पे टिभीका रूपमा टेलिभिजन च्यानलहरू प्रसारण हुने गर्छन् । पे टिभी च्यानलहरूमा विज्ञापनहरू प्रसारण गर्न पाइँदैन, नन पे टिभी च्यानलहरूमा विज्ञापनसमेत प्रसारण गर्ने गर्छ । त्यसो त विदेशबाट प्रसारण हुने थुप्रै विदेशी टेलिभिजन च्यानलहरू नेपाली दर्शकमाझ लोकप्रिय भइरहेका छन् । विभिन्न पे टिभीका रूपमा हेर्ने गरेका टेलिभिजन च्यानलहरूहरूमा कार्यक्रम हेर्दाहेर्दै बीचमा कवाबमा हड्डी भनेजस्तै विज्ञापन प्रसारण हुने गर्छन् । पे टिभीका रूपमा हेर्ने गरेका टेलिभिजन च्यानलहरूमा सित्तैंमा हेर्न पाउने विज्ञापनहरू शुल्क तिरेर हेर्नुपरिरहेको छ । यो पनि एक किसिमको ठगी नै हो भन्दा पनि फरक नपर्ला, तर पनि राज्यले क्लिन फिड लागू गर्न सकिरहेको छैन, यो सरकारको लाचारीपन हो वा दबाब । विदेशी टेलिभिजन च्यानलहरूको दबाबमा र नेपालका केवल टिभी लाइनहरूको प्रभावमा सरकारले क्लिन फिड लागू गर्न कडा रूपमा प्रस्तुत हुन सकिरहेको छैन । यो सरकारको कमजोरी होइन र ?
संसारमा टेलिभिजन च्यानलहरूमा दुई किसिमको प्रसारणको व्यवस्था गरेको हन्छ । एउटा निःशुल्क, अर्को सशुल्क । निःशुल्क टेलिभिजन च्यानलहरूमा विज्ञापनसहितका कार्यक्रमहरू प्रसारण हुन्छ भने अर्को सशुल्क टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित कार्यक्रमहरू प्रसारण हुन्छ । विज्ञापनरहित कार्यक्रम प्रसारण हुने क्लिन फिड हो । त्यसो त नेपालमा प्रसारण भइरहेका विदेशी पे टिभी च्यानलहरूलाई क्लिन फिड बनाउनुपर्ने भनेर सञ्चार व्यवसायी, विज्ञापन व्यवसायी सञ्चार गृहहरूले पहिलेदेखि नै उठाइरहेको विषय हो । यो विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू भए नेपालमा प्रसारण गर्ने पे टिभी च्यानलहरूले आफ्ना कार्यक्रमहरूमा विज्ञापन प्रसारण गर्न पाउँदैन, जसले गर्दा नेपालि टेलिभिजन च्यानलहरूमा विज्ञापन बढ्ने भनाइ विज्ञान व्यवसायीहरूको भनाइ छ भने विज्ञापन व्यवसायसँग सम्बन्धित कम्पनीहरूको काम पनि बढ्नेछ । यसले आर्थिक कारोबार पनि बढ्ने देखिन्छ ।
पछिल्लो समयमा विदेशी टेलिभिजन च्यानलहरू खासगरी भारतीय हिन्दी टिभी च्यानलहरूप्रति नेपाली दर्शकहरू आकर्षित भइरहेका छन् । जी टिभी, सोनी टिभी, स्टार टिभी, कलर्स टिभी, जी सिनेमा आदि च्यानलहरूप्रति बढी आकर्षित भएको पाइन्छ । यी सबै च्यानल पे टिभी हुन् । यसले नेपालबाट पहिनैपिच्छे करोडौ नेपाली रुपैयाँ विदेश गइरहेका छन् । त्यसैगरी पछिल्लो समयमा डिजिटल प्रविधिको नाममा सेट सप बक्स राख्नुपर्ने व्यवस्थाले टेलिभिजनका दर्शकहरूलाई आर्थिक भार परेको छ भने सेट सप बक्सको नाममा करोडौं रकम बिदेसिइरहेका छन् । नेपाली दर्शकहरूले पे टिभी च्यानल भए पनि विज्ञापन हेर्नुपरिरहेको छ ।

नेपालमा प्रसारण भइरहेका विदेशी पे टिभी च्यानलहरूमा विज्ञापन प्रसारण गर्न नपाउने भएपछि नेपालमा विज्ञापनको व्यापार बढ्नेछ भनेर बसिरहेका विज्ञापन व्यवसायीहरूले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

अहिले नेपालमा लगभग ७ अर्ब रुपैयाँको विज्ञापनको बजार रहेको सरोकारवालाहरूको भनाइ छ भने लगभग ७० प्रतिशतजति विज्ञापन बहुराष्ट्रिय कम्पनीहरूको रहेको भनाइ छ । विदेशी टेलिभिजन च्यानलहरूबाट धेरैजसो बहुराष्ट्रिय कम्पनी संगठनहरूको विज्ञापन प्रसारण भइरहेका छन् । नेपालमा प्रसारण भइरहेका विदेशी पे टिभी च्यानलहरूबाट विज्ञापन प्रसारण गर्न नपाउने भएपछि बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा व्यापार प्रवद्र्धन गर्नका लागि नेपाली सञ्चार माध्यमहरूबाट विज्ञापन प्रवद्र्धन गर्नुपर्ने हुन्छ भने बहुराष्ट्रिय कम्पनीहरूको विज्ञापनलाई डबिङ अर्थात् स्वराङ्कन गर्न नपाउने आमसञ्चार नीतिमा व्यवस्था छ । यसले गर्दा बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापन बनाउँदा नेपाली भाषामा र नेपाली नै मोडलहरू नै प्रयोग गर्नुपर्ने हुन्छ । यसले नेपाली विज्ञापन व्यवसाय बढ्ने विश्वास गरिन्छ भने यसले नेपालमा आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ, तर पनि सरकार क्लिन फिड लागू गर्नमा कडा हुन सकिरहेको छैन ।
नरेन्द्रमान श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्