पोखरामा चिकित्सकसहितको होटल आइसोलेसन सञ्चालनमा
पर्यटकीय नगरी पोखरामा एउटा होटलले मात्र आधिकारिक रूपमा होटल आइसोलेसनको मान्यता प्राप्त गरेसँंगै होटलमा आइसोलेसन सेवा सञ्चालन भएको छ । पोखराको पृथ्वीचोकमा रहेको होटल तिरुपतिमा आइसोसेलन सेवा सुरु भएको हो ।
तीनजना युवा व्यवसायी प्रल्हादजंग मरासिनी, ध्रुव शर्मा र निराजन विक्रम राणाले गण्डकी हेल्थ केयर सेन्टरको नामबाट होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याएका हुन् । पोखराको पार्दीविरौटामा रहेको सेन्टरले पोखरा महानगरपालिका–९ जिल्ला प्रशासन कार्यालय कास्की र स्वास्थ्य महाशाखाबाट अनुमति लिएर स्वास्थ्य मापदण्ड पूरा गरी आइसोलेसन सञ्चालन गरेको युवा व्यवसायी मरासिनीले बताए । आफूहरूले फिजिसियन चिकित्सक, स्टार्फ नर्ससहितको सेवा उपलब्ध गराएको उनले बताए । उनले भने, “यदि कुनै बिरामी प्रेसर, सुगरलगायतका दिर्घरोगी भएकाको अवस्थामा पनि हामीले दैनिक रुमबाटै स्वास्थ्य परीक्षणको व्यवस्था गरेका छौं । यदि कसैलाई अचानक गाह्रो भयो भने हामीले अक्सिजनसमेत दिन मिल्ने गरी अक्सिजनको व्यवस्था मिलाएका छौं ।”
सेन्टरले लाइफ केयर सेन्टरसंँगको सहकार्यमा होटलमै पीसीआर परीक्षणको प्रबन्ध गरेको छ । होटल आइसोलेसन जेठ १० गतेदेखि सुरु भएकोमा आइतबार एकजना र सोमबार दुईजना कोरोना निको भई घरसमेत फर्किएको मरासिनीले जनाए । आफूहरूले होटलका २८ वटा रुम आइसोलेसनका लागि व्यवस्था गरेको उनले बताए । प्रतिरुमको प्रतिदिनको होटल आवासीयसहितको सेवा लिँदा २ हजार, नर्सिङ, चिकित्सकसहितको केयरिङ सेवा लिँदा ३ देखि ५ हजारसम्म शुल्क निर्धारण गरिएको सेन्टरले जनाएको छ ।
पोखरामा करिब ६÷७ सय पर्यटकीयस्तरका होटलहरु हुँदाहँुदै आफूहरूले कोरोना महामारीका बेला समाजमा केही गर्नुपर्छ भनेर होटल आइसोसेलन सञ्चालनमा ल्याएको मरासिनीले जनाए । आफूहरूले इमर्जेन्सी एम्बुलेन्स सेवासमेत सञ्चालन गरेको प्रल्हादजंग मरासिनीले बताए ।
आफन्तहरूलाई उक्त सेन्टरमा राखेर कोरोना निको भए पश्चात घर पठाउन पाउँदा निकै खुसी लागेको खालिद मियाले बताए । घरमा भन्दा सेन्टरमा बस्दा धेरै सुरक्षित महसुस हुने गरेको उनले जनाए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले अघिल्लो कोरोना कालमा पोखराका केही होटलले संस्थागत रूपमा होटलमा क्वारेन्टाइन सेवा सञ्चालन गरे पनि दोस्रो लहरको कोरोना संक्रमणमा क्वारेन्टाइन र होटल आइसोलेसन खासै नबनाएको बताए ।