बजेटको तयारीमा जुटदै स्थानीय तहहरु
जिल्लामा रहेका स्थानीय तहहरु बजेटको तयारीमा जुटेका छन् । संविधानमा भएको व्यवस्था अनुसार स्थानीय तहहरुले असार १० गतेसम्म नीति तथा कार्यक्रमसहित बजेट ल्याइसक्नु पर्ने हुन्छ । संघीय सरकार, प्रदेश सरकारले बजेट ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने गर्दछन् । त्यसैले अहिले योजनाको छनोट तथा बजेट विनियोजनको आन्तरिक तयारी सुरु गरिएको स्थानीय तहहरुले बताएका छन् ।
बस्तीस्तरमा पुगेर योजना छनोट गर्नुपर्ने भए पनि कारोनाको कारण बस्ती स्तरमा पुग्न सकिएको स्थानीय तहहरुले जनाएका छन् । घोराही उप–महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको आन्तरिक तयारी थालेको घोराही प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । “अनौपचारिक रुपमा बजेटको तयारी थालिएको छ” प्रमुख प्रशासकीय अधिकृत केसीले भने । प्रदेश सरकारबाट आउनु पर्ने सिलिङ पूर्णरुपमा आइ नसकेको प्रमुख केसीले बताए । कोभिडको कारण बस्ती स्तरबाट योजना छनोट गर्ने जान नसकेको केसीको भनाइ छ । वडा कार्यालय तथा विषयगत समितिबाट योजना छनोट गरिने छ ।
अघिल्लो वर्ष माग भएका योजनाहरु समावेश गरिने उप–महानगरपालिकाको तयारी रहेको छ । यस्तै चालु आर्थिक वर्षमा काम हुन नसकेका योजनालाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत केसी बताउँछन् । “हामीले सामाजिक विकाससँगै अन्य विकासका कार्यलाई प्राथमिकता दिने सोच वनाएका छौं” प्रमुख केसीले भने, “उप–महानगरपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास निर्माणका कार्यलाई प्राथमिकता दिने जनाएको छ ।
तुलसीपुर उप–महानगरपालिकाले पनि बजेटको तयारी गरेको जनाएको छ । उप–महानगरपालिकाले बजटेको तयारी थालेको योजना तथा बजेट महाशाखाका टेकबहादुर खडकाले जानकारी दिए । योजना छनोटका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिएको उनको भनाइ छ । कोभिडका कारण बस्ती स्तरमा पुगेर योजना छनोट गर्ने सम्भव नभएको उप–महानगरपालिका जनाएको छ । आगामी आर्थिक वर्षमा स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार विकास लगाएमा प्राथमिकता दिएको जनाएको छ ।
लमही नगरपालिकाले बजेटको तयारी थालेको जनाएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरपालिकाले बजेटको तयारी सुरु गरेको बताए । असार ९ गते बजेटको मिति तय गरेको उनको भनाइ छ । वडा कार्यालयहरुबाट योजना माग गरिएको उनले बताए । योजना छनोटका लागि बस्ती स्तरमा पुग्न नसके पछि टोल विकास संस्थाहरुले वडा कार्यालयमा योजना दिने व्यवस्था गरिएको छ । टोलबाट आएका योजनाहरु समावेश गरी वडा कार्यालयले नगरपालिकामा पठाउने छन् । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, महिला तथा बालबालिकाको क्षेत्रमा बजेट प्राथमिकता दिइने जनाएको छ ।