साना तथा मझौला उद्योगमा २.५ प्रतिशत मात्र लगानी

अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पुराएका साना तथा मझौला उद्योगको लागि नेपालका बैकहरूको लगानी भने २.५ प्रतिशतमात्र रहेको छ । नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी) मा उल्लेख्य योगदान दिएका साना तथा मझौला उद्योगको लागि बैकहरूले यति थोरै मात्र लगानी गरेको पाइएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा साना तथा मझौला उद्यम महासंघले बिहीबार राजधानीमा आयोजना गरेको दीगो आर्थिक वृद्धिका लागि लघु, साना तथा मझौला उद्यमको भूमिका विषयक अन्तरक्रियामा दिइएको जानकारी अनुसार बैकहरूले विभिन्न क्षेत्रमा गरेको लगानीमध्ये २.५ प्रतिशत यो क्षेत्रमा छ ।
महासंघका उपाध्यक्ष गोपाल तिवारीले साना तथा मझौला उद्यमको योगदानबारे कार्यपत्र प्रस्तुत गदै सन् २०१६ को यो तथ्यांकले बैकहरूले लगानी ठूला उद्योगमहरूमा बढी देखिएपनि त्यसको प्रतिफल साना तथा मझौला उद्योगकै बढी रहेको बताए । “कुल ७ हजार २ सय ७ उद्योगमध्ये ६ हजार २ सय ३३ साना तथा मझौला उद्योग र सबै उद्योगले ५ लाख ५७ हजार ७ सय ६७ रोजगारी दिएकोमा साना तथा मझौलाले मात्र ४ लाख १५ हजार ४ जनालाई रोजगारी दिएको उद्योग मन्त्रालयको तथ्यांक छ,” उनले भने, “संघीयतामा गएपछि नेपालका बैकहरूले अर्थतन्त्रलाई बलियो बनाउनका लागि यस्ता उद्योगहरूमा लगानी गर्नुपर्छ ।”
कार्यक्रममा पूर्व अर्थ एवं उद्योगमन्त्री शंकर कोइरालाले उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउन साना तथा मझौला उद्योगहरूको विकास अपरिहार्य रहेको बताए । “बैकहरूले साना तथा मझौला उद्यमहरूमा लगानी बढाउनुपर्छ, तल्लो निकायहरूमा उद्यम विकासका लागि लगानी बढाउनुको विकल्प छैन,” उनले भने ।
कार्यक्रममा अष्ट्रेलियन नेसनल युनिभर्सिटीका भिजिटिङ भेलो डा. रमेश पौडेलले साना तथा मझौला उद्यमहरूलाई विशेष महत्व दिँदै नेपाल राष्ट्र बैकले लगानी बढाएर निश्चित प्रतिशत तोक्नुपर्ने बताए । नेपाल आर्थिक संघका सचिव डा. खोमराज नेपालले साना तथा मझौला उद्योगमा लगानी ग्यारेण्टीको वातावरण बनाउनुपर्ने बताए । कार्यक्रममा उद्यम महासंघका अध्यक्ष बाबुकाजी महर्जन, सेजन अध्यक्ष पुष्पराज आचार्य, बरिष्ठ उपाध्यक्ष दीपक आचार्य लगायतले साना तथा मझौला उद्योगले अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।