गौतमबुद्ध विमानस्थलमा नयाँ टर्मिनल भवनका लागि साढे ३ अर्ब बजेट
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोश्रो टर्मिनल भवन निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा निर्माणाधिन विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको उल्लेख छ । बजेट विनियोजन पछि निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलसँगै नयाँ दोश्रो टर्मिनल भवन छिटै बन्ने निश्चित भएको छ ।
अहिलेको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन सानो रहेको र त्यस्मा आधुनिक विमानस्थलमा हुने एरोब्रिज सुविधा समेत नरहेकाले दोश्रो टर्मिनल भवन निर्माणको तयारी भइरहेको छ ।
बजेट विनियोजनले काम गर्न थप उत्साह छाएको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनका प्रमुख प्रवेश अधिकारीले बताए । “अहिले कोरोना न्यूनीकरणका लागि निषेधाज्ञा लगाएपनि प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यस्थलमै कामदारलाई राखेर काम भएको छ” आयोजना प्रमुख अधिकारीले भने, “निषेधाज्ञाले विमानस्थल निर्माणको काम रोकिएको छैन, क्यालिब्रेशन प्लाइटका लागि विमानस्थल तयारी अवस्थामा छ, र अहिले भित्र टर्मिनल भवन भित्र फिनिसिंगका कामहरु भइरहेका छन् । कन्भेएर बेल्ट जडान सकिएको छ । यसै क्रममा बजेटमा विमानस्थलको काम सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन हुनु निकै राम्रो हो र यस्ले हामीलाई काम गर्न थप उर्जा प्रदान गरेको छ ।”
अहिलेको विमानस्थलको टर्मिनल भवन सानो भएको र नयाँ भवन बनाउनु जरुरी छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको निर्माण कार्य भइरहेको स्थलगत अवलोकनका क्रममा गरेका थिए । त्यस लगत्तै दोश्रो टर्मिनल भवन निर्माणको प्रकृया अघि बढेको र डिजाईन समेत टुंगो लागिसकेको छ ।
अब छिटै बोलपत्र आह्वाान हुने बताइएको छ । नयाँ भवन अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ निर्माण हुने छ । नयाँ टर्मिनल भवनमा एरो ब्रिजसमेत निर्माण हुने र ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको बताइएको छ । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थानकक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने गरी बनाइने आकाशे पुल जस्तै हो । एरोब्रिज सुविधा भएको टर्मिनल भवन भैरहवाको नेपालमै पहिलो हुनेछ ।
दोश्रो टर्मिनल भवन बनेपछि अहिलेको पहिलो टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ । हालका लागि भने आन्तरिक टर्मिनल भवन पुरानै भवनलाई एथावत गराइने जनाइएको छ ।
अहिले सरकारले बजेट नै विनियोजन गरीसकेपछि दोश्रो टर्मिनल भवन निर्माण हुने सुनिश्चित भएको र अहिले निर्माण सम्पन्न हुने क्रममा रहेको विमानस्थलको बाँकी काम र क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पहल सरकारबाट छिटै हुने विश्वास रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
विमानस्थल निर्माण सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन हुनु सकारात्मक भएको र यसले पर्यटन क्षेत्रमा खुसी ल्याएको सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठ (सिपी)ले बताए ।
विमानस्थलमा नयाँ भवन निर्माणका लागि बजेट विनियोजन हुनु सकारात्मक रहेको सोसाईटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन नेपालका उपाध्यक्ष एवं भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए । “बजेटले विमानस्थल मात्र नभइ पर्यटन क्षेत्रलाई पनिसम्बोधन गरेको छ” बजिमयले भने, “कार्यान्वयन पक्ष कस्तो हुनेछ भन्ने मात्रै हो ।”