उपेन्द्र यादवमाथि ठाकुर–महतो पक्षको कारबाही «

उपेन्द्र यादवमाथि ठाकुर–महतो पक्षको कारबाही

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।
उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी अर्का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निश्कासन गरेसँगै ठाकुर–महतो पक्षले पनि बैठक गरी उपेन्द्र यादवलाई पार्टी बाट निश्कासन गरेको हो । ठाकुर र यादवविच यसअघि एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होडबाजी चलेको थियो भने दुवैले स्पष्टिकरणको जवाफ भने फर्काएका थिएनन् । जसपा ठाकुर–महतो पक्षका नेता प्रमोद यादवले उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरिएको जानकारी दिए । आफूहरुले कसैलाई कारबाही गर्न नचाएको भएपनि यादवले कारबाही गरेपछि त्यसैको प्रतिक्रियास्वरुप कारबाही गरिएको उनले बताए ।
नागरिकता समस्या, जेलमा रहेका नेता कार्यकर्ता छुट्ने, मुद्दा फिर्ता हुने लगायतका मधेसका माग पूरा भइरहेको भन्दै सांसद यादवले मधेशको माग सम्बोधन हुनबाट रोक्न उपेन्द्र यादव पक्षले प्रयत्न गरिरहेको पनि बताए । जनताको इच्छा र भावना विपरित काम गरेको भन्दै उपेन्द्र यादवले यसको ठूलो मुल्य चुकाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्