आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिन आग्रह «

आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिन आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिन आग्रह गरेका छन् । मुलुकको अवको एजेन्डा आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिंदै उपराष्ट्रपति पुनले सरकारले निर्यात वृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरूलाई सम्मान गर्ने परम्परा थाल्नु पर्ने बताए । नेपाल चेम्बर अफ कमर्सको चेम्बर दिवस २०७४ तथा ६७ औं वार्षिक साधारण सभाको बिहीबार राजधानीमा उदघाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकाल अन्त भई मुलुकमा शान्ति स्थापना भएकाले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने बताएका हुन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समग्र चेम्बर अभियानका अग्रणी एवं मार्गदर्शक संस्था नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ६७ वर्ष भएको उल्लेख गर्दै निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र राष्ट्रको समग्र विकास सम्भव हुने बताए । यहि मूलमन्त्र लिइ चेम्बर अफ कमर्सले आफ्नो स्थापनाकाल देखिनै निजी क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्दै सरकार र निजी क्षेत्र बीच सेतुको भूमिका निर्वाह गर्दै आएको उनले बताएका छन् । मुलुकको विद्यमान संघीय संरचना अनुरुप संस्थागत स्वरुपमा विस्तार हुन गइरहेको जानकारी दिंदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने अभियानको शुभारम्भ ६७ औं वार्षिक साधारणसभाबाट सुरु भएको उनले जानकारी दिए । हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेका छन् र ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरूसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । अध्यक्ष श्रेष्ठले नेपाल सार्वजनिक विदा दिने देशमा सबै भन्दा अगाडि देखिएको चर्चा गर्दै विदाहरू कटौती गर्नु पर्नेमा झन थपिंदै आएको बताएका छन । सांस्कृतिक दृष्टिकोणले निश्चित समुदायका पर्वमा सोही समुदाय तथा क्षेत्रलाई बिदा दिने गरी अन्य कार्यालय बन्द नगर्ने व्यवस्था हुनुपर्ने बताए । साँस्कृतिक पर्वका विदाको दिनमा समेत वैंक वित्तीय एवं सेवाका कार्यालयहरू खुला हुने व्यवस्था गर्न सरकारसँंग आग्रह गरेका छन् ।
कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट शाख ग्रुपका अध्यक्ष उद्योगपति गणेशभक्त शाख, इन्द्रभक्त मेमोरियल अवार्डबाट एमएस ग्रुपका संस्थापक उद्योगपति शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार पुरस्कृत भएका छन् । चेम्बरबाट तेश्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँंच जना कार्गाे एजेन्ट तथा निकासीकर्ता सम्मानित भएका छन । प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पुयाएका चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य, मनाङ एयरका अध्यक्ष सतिशप्रसाद प्रधान, भक्तपुर इटा तथा टायल उद्योग संघका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा संघका माता सपना श्रेष्ठ सम्मानित भएका छन् ।
यस्तै, चेम्बर कार्यसमिति सदस्यहरू सुरेन्द्रकुमार श्रेष्ठ, सुवास चन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार संघका महासचिव संदीपकुमार अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ गरी १२ जनालाई सम्मान गरेको छ । चेम्बर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा वढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान पुयाएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्