बजेट पास हुन नदिने प्रतिपक्षीको चेतावनी

प्रदेशसभा सांसद र विपक्षी दलहरुको सुझावलाई बेवास्ता गर्दै बागमती प्रदेश सरकारले मनोमानी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै बजेट पारित हुन नदिने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशील साझा पार्टीका रमेश पौडेललगायतले सरकारको रवैया ठीक नभएको भन्दै सशक्त विरोध गर्ने बताए ।
प्रदेशसभाको आठौं अधिवेशनको शुभकामना मन्तव्य राख्ने क्रममा विपक्षी दलका नेताहरुले केन्द्र सरकारकै सिको गर्दै प्रदेश सरकारले पनि आफूखुसी काम गर्न उद्दत रहेको भन्दै त्यस्तो कदमविरुद्ध आफूहरु जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । प्रदेशमा विधि र प्रक्रिया मिचेर काम भइरहेको भन्दै उनले माओवादीका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारको ध्यानाकर्षण गराए ।
नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसद अष्टलक्ष्मी शाक्यले प्रदेशका जनता कोरोना महामारीबाट बचाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिइन् । साथै कुनै व्यक्तिको लहडमा लोकतन्त्र, संघीयता र प्रदेश सरकार धरापमा परेको भन्दै चिन्ता व्यक्त गरिन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले वैज्ञानिक, व्यवहारिक, गाउँमुखी, जनतामुखी बजेट ल्याउन सुझाव दिए । सबैको भावनालाई समेटेर बजेट नआए आफूहरुले पारित हुन नदिने उनले बताए । वर्तमान सरकारको कामकारबाही हेर्दा नेपालमा कम्युनिष्टहरु लोकतन्त्रप्रति इमान्दार छैनन् कि भन्ने स्पष्ट भएको पनि उनले बताए । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन्छु भन्नु हास्यास्पद र असम्भव भएको बानियाँको भनाइ थियो ।
विवेकशील पार्टीका सांसद रमेश पौडेलले हातमा हात मिलाएर अघि बढ्ने नीति सरकारले लिनुपर्ने सुझाव दिए । सरकारले आफ्नो निहित स्वार्थमा लाग्यो भने विरोध गर्ने उनले बताए ।
नेमकिपा सांसद सुरेन्द्रराज गोसाईं, राप्रपा सांसद रिना गुरुङले पनि सरकारको चर्को आलोचना गरे । उनीहरुले यो व्यवस्था नै नटिक्ने दावीसमेत गरे ।