Logo

तेह्रथुममा ३८ रोपनीमा चियाखेती


पूर्वी नेपालको पहाडी जिल्लाहरू चियाखेतीको उर्भरभूमिको रूपमा लिइने गरिन्छ । बहुवर्षे खेती भएकाले पनी यो खेती किसानहरूले रोज्ने गरेका छन् ।
परम्परगत खेतीबाट राम्रो आम्दानी लिन नसके पछि वैकल्पिक खेती किसानले रोज्ने गरेको हो । चियाखेतीको सम्भावना बोकेको जिल्लाको रूपमा तेह्रथुमलाई चिनिने गरेको छ । खाली तथा खेतीयोग्य जमिनमा किसानले खेतीलाई विस्तार गर्दै आएका छन् । तीनदशक अघिदेखि यहाँका कृषकले इलामको कन्यामबाट चियाको नर्सरी ल्याएरखेती सुरु गरेका थिए । सुरुमा आफूले खानका लागि मात्र चिया रोप्दै आएका कृषकले आम्दानीको राम्रो स्रोत हुने सम्भावना देखेपछि चिया खेती विस्तार गरेका थिए । यहाँका कृषकले १० रोपनीदेखि ८० रोपनी क्षेत्रफलमा चियाखेती गर्दै आएका छन् । यहाँका किसानले उत्पादन गरेको हरियो पत्ती लालिगुराँस नगरपालिकामा रहेको प्रशोधन केन्द्रले तयारी गर्ने गरेको छ । यो खेतीमा राम्रो भविष्य रहेकाले किसानहरू चियाखेतीमा हौसिएका हुन् । सुरुसुरुमा उत्पादन भएको चियापत्ती बिक्री नुहँदा निराश नबनेका भने हैनन् । तर पनि खेतीलाई निरन्तरता दिँदै आएका किसानको गतिलो आम्दानीको स्रोत नै चिया बनेको छ ।
उद्योग स्थापना भएपछि आफूले उत्पादन गरेको चिया बिक्री हुनेमा समस्या नरहेको चिया किसान विष्णुमाया सुवेदीले बताइन् । यहाँका किसानहरू चिया बगानमै रमाइरहेका छन् । यही चियाको पत्तीबाट राम्रो आम्दानी लिँदै आएका छन् । उद्योग स्थापनासँगै जिल्लाको हरियो चियापत्ती बाहिरी जिल्लामा निर्यात गर्नुपर्ने समस्या हटेको छ । उन्नति परियोजना र सिंहदेवी चिया सहकारी संस्थाको साझेदारीमा २ करोड लगानीमा उद्योग स्थापना गरिएको सहकारी संस्थाका अध्यक्ष टेकबहादुर केप्छाकी मगरको भनाइ छ । उत्पादन भएको चिया नेपालको विभिन्न क्षेत्र तथा भारत तथा तेस्रो मुलुकमा बिक्री हुँदै आएको छ । यहाँ तयारी भएको चिया ७ सयदेखि १ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको छ । त्यस्तै हरियो चियापत्ती ६५ रुपैयाँदेखि ५ सय रुपैयाँसम्म उद्योगले खरिद गर्दै आएको छ । उद्योग स्थापनाले यहाँका किसानलाई थप ऊर्जा मिलेको छ ।
तेह्रथुममा मात्रै ३८ सय रोपनीमा चियाखेती हुँदै आएको चिया तथा कफी विकास बोर्ड तेह्रथुमका फिल्ड प्राविधिक चन्द्रप्रसाद बास्तोलाले बताए । जिल्लाको विभिन्न गाउँमा उत्पादन भएको चियाखेती दक्ष कामदार अभावले जंगलझैं बनेको छ । चियाखेतीमा सरकारले ध्यान नदिएको र बजारीकरण समेत समस्या हुँदै आएकोले यहाँका किसानले वर्षेनी लाखांै रुपैयाँ गुमाउन परेको पीडा पनि उस्तै छ । जिल्लाको छथर गाउँपालिका र मेन्छ्यायेम गाउँपालिकाका किसानले अझै आम्दानी लिन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्