कोरोना भेरियन्टभन्दा राजनीतिको चिन्ता

कोरोना संक्रमितको पहिचान गर्न दु्रत गतिमा परीक्षण कार्य बढाउने र संक्रमित पत्ता लगाएर उपचार गर्न सकेमा कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
वर्तमान सन्दर्भमा राजनीतिक दलहरू जनतालाई कोरोना महामारीबाट बचाउनुभन्दा पनि राजनीतिको खेलमा बढी जुटेको पाइन्छ, जसलाई नेपालका राजनीतिज्ञहरूको ठूलो भूलका रूपमा लिनुपर्छ ।
कोभिड–१९ ले आक्रान्त विश्व मानव समुदाय पछिल्लो समयमा आएर यसका विभिन्न भेरियन्टका कारण झनै प्रताडित बन्न पुगेको छ, जसले विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । कोरोनाको दोस्रो भेरियन्टले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । सार्स कोभ–२ नामको जेनेटिक भेरियन्ट गत वर्षको तुलनामा ५० प्रतिशत बढी घातक भएको अनुसन्धानबाट पत्ता लागेको छ ।
अमेरिकी इन्टरजेन्सी ग्रुपले भेरियन्ट अफ इन्ट्रेस्ट, भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ हाई कन्सिक्वेन्सेस गरी तीन प्रकारका भेरियन्टमा वर्गीकरण गरेको छ । स्वरूप परिवर्तन भएर संक्रमण फैलाउने भाइरसलाई भेरियन्ट अफ इन्ट्रेस्ट भनिन्छ, जसले तीव्र संक्रमण गराउने शरीरको एन्टीबडीलाई छल्ने तथा परीक्षणमा समस्या ल्याउने र भ्याक्सिनको प्रभावलाई घटाउने लक्षण देखिएको छ । यस्ता लक्षण भएका त्यस्ता भेरियन्टहरू भेरियन्ट अफ कन्सर्नअन्तर्गत पर्छन्, जुन भाइरस अन्य भाइरसको तुलनामा ५० प्रतिशतभन्दा बढी घातक हुने अनुसन्धानले देखाएको छ । तर, हालसम्मको अध्ययनमा भने हाई कन्सिक्वेन्सेस खालका भेरियन्टहरू भेट्टिएको पुष्टि भएको छैन । भाइरसमा भएका स्पाइक प्रोटिनका आधारमा संक्रमणको जोखिम फरक–फरक हुने गरेको पाइन्छ, जसका कारण दोस्रो लहरमा देखिएका भेरियन्टहरू निकै घातक भएका हुन् । त्यसैले अघिल्लो वर्षको तुलनामा संक्रमणको स्थिति तीव्र रूपमा बढेको हो । संक्रमण तीव्र रूपमा बढ्दा कोरोना संक्रमितको अस्पताल भर्नादर मात्र उच्च भएको छैन, मृत्युदर पनि बढेको छ ।
नेपालमा पुष्टि भएका कोरोनाका बी १.६१७.१ र बी १.६१७.२ भेरियन्ट ९४ प्रतिशतमा देखिएका छन् । यसमध्ये नेपालमा देखिएको १.६१७.२ भेरियन्ट, जुन भारतीय भेरियन्ट हो, जुन निकै संक्रामक रहेको छ भने यो सबै उमेर समूहमा देखिएको छ । इन्डिया भेरियन्ट बी–१.६१७.२, यो नेपालमा देखिएको पछिल्लो भेरियन्ट हो । अध्ययनअनुसार जिन सिक्वेन्सिङ गर्दा यो निकै संक्रामक रहेको पाइन्छ । त्यसैले नै बी–१.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले १० मेमा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा सूचीकृत गरेको थियो । भारतमा महामारीको रूप लिएको उक्त भेरियन्टको पहिचान ५ अक्टोबर २०२० मा देखिएको बी–१.६१७ को परिवर्तित रूप हो, जुन भारतको महाराष्ट्रमा पुष्टि भएको थियो । इन्डिया भेरियन्ट बी.१.६१७.१ सन् २०२१ को डिसेम्बरमा पुष्टि भएको र यो पनि घातक रहेको पाइएको छ । जुन बी.१.६१७.२ भन्दा केही कमजोर भए पनि यो पनि उच्च संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । यो बी.१.६१७.२ जस्तै डबल म्युटेन्ट भाइरस हो । मे महिनामा मात्र भारतमा बी.१.६१७ परिवर्तन भएर तीनवटा नयाँ भेरियन्ट देखा परेका थिए, जसमध्ये दुईलाई सबैभन्दा बढी घातक मानिएको छ । युके वा केन्ट भेरियन्ट बी.१.१.७ बेलायतमा पहिलो पटक देखिएको र यो भेरियन्ट हाल विश्वका ५० भन्दा बढी देशमा फैलिइसकेको छ । नेपालमा दोस्रो लहरको सुरुवातमा देखिएको यो भेरियन्ट पनि भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरस मानिएको छ । बेलायतमा २ लाखभन्दा बढीमा पुष्टि भइसकेको युके भेरियन्ट फेरि म्युटेड भइरहेको थप अनुसन्धानले देखाएको छ । डिसेम्बर २०२० मा बेलायतमा पहिलो पटक पुष्टि भएको यो भेरियन्ट हालसम्मकै उच्च संक्रमण फैलाउने भेरियन्ट हो ।
हालसम्म स्वरूप परिवर्तन भएर आएका १ हजारभन्दा बढी भेरियन्टहरू देखिएका छन् । लगातार म्युटेड भइरहेका यस्ता भेरियन्टहरूमध्ये केही प्रतिशत मात्र उच्च संक्रामक र घातक छन् । यस्ता भेरियन्टहरूमध्ये केहीले अन्य भाइरसलाई नै असर गरिरहेका हुन्छन् । तर, केही भेरियन्ट यस्ता छन्, जुन शतप्रतिशत घातक हुन्छन् । उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ ।
नेपालमा पछिल्लो समय देखिएको इन्डियन भेरियन्ट ५० प्रतिशतभन्दा बढी संक्रामक रहेको पाइएको छ । अस्पतालमा सिकिस्त बिरामीको संख्या बढ्नु र मृत्युदर बढ्दै जानुको कारण इन्डियन भेरियन्ट नै रहेको विज्ञहरू बताउँछन् । नेपालमा इन्डियन भेरियन्ट कहिलेदेखि देखिएको भन्ने पुष्टि नभए पनि संक्रामक भेरियन्ट हुन सक्ने पहिलेदेखि अनुमान गरिएको छ । नेपालमा देखिएको यो भेरियन्ट अफ कन्सर्नभित्र पर्नुले पनि चिन्ता थपिदिएको हो । कन्सर्नभित्र परेका यी भेरियन्टहरू एकपछि अर्को देखिनुले नेपालमा महामारी सहजै नियन्त्रणमा ल्याउन नसकिने विज्ञहरूले बताएका छन् । विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट सार्स कोभिडअन्तर्गत म्युटेड भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेड भेरियन्टहरूमाथि भने अनुसन्धान भइरहेको छ ।
यस विनाशकारी महामारीको परिमाण रोक्नु आजको आवश्यकता भएकाले विश्व मानव समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा दुईमत छैन । त्यसैले यस बेला एकापसमा आरोप प्रत्यारोप नगरी संयमित भएर नियम पालना गर्नुमा नै सबैको हित हुनेछ । हामीलाई थाहा नै छ, विश्वव्यापी रूपमा बन्दाबन्दीले मात्र कोरोना संक्रमण रोक्न सक्दैन । जबसम्म सबैले पूर्ण रूपमा यसको भ्याक्सिन प्राप्त गर्न सक्दैनन् तबसम्म यसको त्रास सबैमा उत्तिकै बढिरहन्छ, त्यो स्वाभाविक पनि हो । त्यसैले कोरोना संक्रमितको पहिचान गर्न दु्रत गतिमा परीक्षण कार्य बढाउने र संक्रमित पत्ता लगाएर उपचार गर्न सकेमा कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले वर्तमान सन्दर्भमा राजनीतिक दलहरू जनतालाई कोरोना महामारीबाट बचाउनुभन्दा पनि राजनीतिको खेलमा बढी जुटेको पाइन्छ, जसलाई नेपालका राजनीतिज्ञहरूको ठूलो भूलका रूपमा लिनुपर्छ ।