Logo

हिमालयन रि–इन्स्योरेन्सलाई अनुमति


बिमा समितिले पुनर्बिमा कारोबारका लागि हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । समितिमा प्रस्ताव पेश गरेका ५ कम्पनीबाट हिमालयन छानिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । उक्त समयभित्र हिमालयनका साथै अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि र जेन्युन रिले प्रस्ताव पेश गरेका थिए । समितिले गरेको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कम्पनीलाई अनुमति दिने निर्णय गरेको जनाएको छ ।
हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, नेपाल परिसंघका वर्तमान अध्यक्ष सतिश मोरका साथै शंकर ग्रुपका शाहील अग्रवाल र सुलभ अग्रवाल लगायतको लगानी रहेको छ ।
समितिले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ भन्दा बढी हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि नै पुनर्बिमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाउने छैनन् ।
हालसम्म नेपालमा एकमात्र नेपाल पुनर्बिमा कम्पनी सञ्चालनमा छ । ८ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत, विभिन्न संघसंस्था र बिमा कम्पनीहरूको ४० प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत हिस्सा छ ।
नेपाल पुनर्बिमा कम्पनीले प्रभावकारी रुपमा व्यवसाय गर्न नसकेको भन्दै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को कम्पनी दर्ता गरेर प्रतिस्पर्धी वातावरण बनाउन बिमा समितिलाई निर्देशन दिएका थिए । त्यसलगत्तै चार कम्पनीले समितिमा लाइसेन्सका लागि प्रस्ताव गरेका थिए ।
समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिनका लागि बजारको अध्ययन समेत गरेको थियो । अध्ययन समितिले थप एक कम्पनीलाई लाइसेन्स दिन सुझाव दिएसँगै समितिले लाइसेन्सको प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्