Logo

माथिल्लो तामाकोसीको सुरुङ पूरा

दोलखा-बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङको काम सम्पन्न भएको छ । सोमबार साँझ आयोजनाको सर्जसाफ्ट सुरुङ ब्रेक थ्रु भएसँगै सुरुङ खन्ने काम सम्पन्न भएको हो । आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको १३ महिनापछि सबै सर्जसाफ्ट पनि खोलिएको हो ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले अब आयोजनाका सबै सुरुङ पूरा भएको जानकारी दिए । सर्जसाफ्ट सुरुङ १ हजार १ सय मिटर छड्के ठाडो रहेको छ । जुन मुख्य सुरुङ (हेड रेस टनेल) लामाबगरमा रहेको बाँधस्थलदेखि गोगरमा रहेको विद्युत्गृहसम्म पानी ल्याउन प्रयोग गरिने सुरुङभन्दा फरक भएको उनले बताए । “आयोजनाका लागि पानी बहने सुरुङहरू एक वर्षअघि नै पूरा भएका छन्,” उनले भने, “यो सुरुङ आयोजनाको विद्युत् गृह एक्कासी बन्द हुँदा लामाबगरबाट आएको पानी ठाडो सुरुङबाट बढी भएर जम्मा हुने र हावा बाहिर जाने ठाउँ हो ।” आयोजनाले मुख्य सुरुङसहित विद्युत् गृहसम्म पुग्न २ वटा ठाडो सुरुङसमेत तयार गरेको छ । जुन तल्लो ३७२ मिटर र माथिल्लो ३१० मिटरका छन् । दुवैमा अहिले पेनस्टक पाइप जडानको काम भइरहेको छ ।
सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिन्हो हाइड्रो कर्पोरेसनले गरे पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम भारतीय कम्पनी केइसी रेल्वे इन्टरनेसनलले ठेक्का पाएको छ । तर, पाइपको काममा भएको ढिलाइले नै आयोजनाको विद्युत् उत्पादन मिति धकेलिँदै आएको छ ।
भौतिकरूपमा सुरुङ निर्माण पूरा भएपछि त्यसको कंक्रिट लाइनिङ र फिनिसिङको काम पनि भइरहेको छ । आयोजनाको मुख्य सुरुङसहित १८.४ किलोमिटर रहेको छ । मुख्य सुरुङ, टेलरेस सुरुङ, अडिट सुरुङ, पावर हाउस, ठाडो सुरुङ तयार भएका छन् ।
२०७२ साल वैशाखको भूकम्पका कारण डेढ वर्ष सुरुङ निर्माणको काम स्थगित भएको थियो । आयोजनाको हालसम्म समग्रमा ९७.५ प्रतिशत प्रगति भएको छ । आयोजनाले २०७६ असारदेखि व्यापारिक उत्पादन गर्ने तयारी गरेको छ ।
आयोजनाले विद्युत् क्षमता बढाउनका लागि भैंसे खोलाको पानीसमेत मिसाउने भएको छ । भैंसे खोलाको पानीलाई सानो इन्टेक बनाएर छड्के सुरुङ बनाएर भैंसे अडिट नजिकै मुख्य सुरुङमै मिसाउन लागिएको छ । भैंसेको पानी मिसाउनका लागि समेत सुरुङ र इन्टेकको काम जारी रहेको उनले जानकारी दिए । भैंसेको पानी हिउँदमा मिसाइने छ ।

प्रतिक्रिया दिनुहोस्