पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई साढे ८ अर्ब बजेट विनियोजन
कास्कीको पोखरामा निमार्णाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७८/०७९ मा निर्माण कार्य सम्पन्न गरेसँगै सञ्चालन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै पोखरा विमानस्थलको बाँकी काम पूरा गरेसँगै आगामी आर्थिक वर्षदेखि विमानस्थल सञ्चालनका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताएका छन् ।
त्यसैगरी बजेटले पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको वरिपरी वातावरणमैत्री साइकल सर्किट निर्माण गर्ने, पोखरा रंगशालाको निर्माण पूरा गर्न बजेट विनियोजन गरेको मन्त्री पौडेलले जनाए । यी दुई शिर्षकमा बजेट कति विनियोजन भएको भनेर रकम भने उनले खुलाएनन् ।
सिद्धार्थ राजमार्ग र कोहलपुरा—सुर्खेत राममार्गलाई डेडिकेड डबल लेनमा स्तरोन्नति गर्न ७ अर्ब विनियोजन गरिएको पौडेलले जनाए । उक्त बजेटमा पृथ्वी राजमार्गको नागढुंगा मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड विनियोजन भएको छ । बजेटले पृथ्बीराजमार्ग र भूपी शेरचन राजमार्गमा समेत सडक स्तरोन्नती गर्ने भएको छ ।
अक्सिजन प्लान्ट स्थापना गर्न निजी तथा सामुदायिक अस्पताललाई ५० प्रतिशत अनुदान, स्वथ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णयले पोखरा क्षेत्रका सरोकारवाला समेत खुशी भएका छन् । त्यसैगरी युवा लक्षित शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा, विद्यार्थीहरुको लागि ल्यापटप खरिदमा १ प्रतिशत व्याजदरमा ८० हजारसम्म कर्जा दिने निर्णय कार्यान्वयन हुनेमा पोखरेली युवाले आशंका व्यक्त गरेका छन् ।