कांग्रेस केन्द्रीय समितिको आकार दोब्बर बनाउने सहमति «

कांग्रेस केन्द्रीय समितिको आकार दोब्बर बनाउने सहमति

• १७१ सदस्यीय केन्द्रीय समिति
• २१ प्रतिशत मनोनित
• ३५ खुल्ला 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकार दोब्बर हुने भएको छ । लामो रस्साकस्सीपछि मंगलबार साँझ टुंगिएको विधानमा १ सय ७१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावमा सहमति जुटेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।
हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ । विधान मस्यौदामा संस्थापन समूह पदाधिकारी संख्या नबढाउने र बढाए पनि मनोनित गर्ने गरी थप गर्ने पक्षमा थियो भने संस्थापन इतर सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने अडानमा थियो । पटक पटकको छलफलपछि मंगलबार राति विधान मस्यौदामा प्रवक्ता र कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्नेगरी सहमति जुटाइएको हो ।
९ जना पदाधिकारी बनाउनेगरी सहमति जुटेको नेता पौडेलले जानकारी दिए । जसमध्ये कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी निर्वाचित हुनेछन् । उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२ जना राख्ने सहमति भएको छ । सभापतिले केन्द्रीय समितिमा २१ प्रतिशत मनोनित गर्ने र ३५ केन्द्रीय सदस्य खुल्ला कोटामा निर्वाचित हुने व्यवस्था गरिएको पनि नेता पौडेलले जानकारी दिए ।
केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा महासमिति बैठकमा पेश हुनेछ ।

 छलफल सानेपामा
प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार अपराह्न सञ्चारकर्मीहरूसँग बैठकबारे जानकारी गराउँदै विधान सहमति नजिक पुगिसकेको दाबी गरेका थिए । उनले त्यस्तो दाबी गरेको केही घण्टापछि संस्थापन र संस्थापन इतर समूहबीच विधान मस्यौदामा सहमति जुटेको हो ।
‘‘हामी विधानको लगभग अन्तिम टुंगोमा पुगिसकेका छौं । प्राविधिक रुपले विधान छापेर ल्याउन पनि कम्तिमा २४ घण्टा लाग्दो रहेछ । त्यस कारण महासमिति बैठक लम्बिन सक्छ,’’ प्रवक्ता शर्माले अपराह्न भनेका थिए । उनले ५ गतेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा महासमिति बैठकको बन्दसत्र चल्ने बताए । बुधबार विधान छाप्न पठाइए शुक्रबारबाट विधानमाथिको छलफल केन्द्रीय कार्यालय सानेपामै हुनेछ ।

जिल्ला सभापतिहरू आफ्नै अडानमा
महासमिति बैठकको निर्धारित समय सकिँदा पनि कुनै जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका छैनन् । उनीहरूले बैठकमा पहिला विधान पेश भएपछि त्यसलाई अध्ययन गरेर आफ्नो धारणा राख्ने बताएका छन् । धादिङका जिल्ला सभापति रमेश धमलाले पुरानो विधानबाट केन्द्रीय समिति बाहिर निस्कन गाह्रो मानिरहेकाले समस्या उत्पन्न भएको बताए ।
“विधान कुन रुपमा आउँछ, पहिला पढ्न पाउनुप¥यो । समानुपातिक, समावेशी जुन आरक्षणका कुरा छन्, त्यो जीवनभरि एउटै व्यक्तिले पाउनुहुँदैन । सबैले अवसर आउँछ भन्ने प्रत्याभूति गराउन सक्नुपर्छ,” सभापति धमलाले भने, “पार्टी सरकारमा जाँदा केके कुरा गर्ने भन्ने कुरामा आर्थिक नीति र विधान मिल्नुपर्छ । विधानले निर्देश नगरीकन आर्थिक नीतिले मात्र त्यसलाई पूरा गर्न नसकिने भएकाले विधानसँग आर्थिक नीतिको सन्तुलन गर्नुपर्ने हुन्छ ।” विधानको विषयवस्तुमा गम्भिरतापूर्वक छलफल हुनुपर्ने भन्दै उनले भाषणको शैलीमा छलफल गरेर मात्र नपुग्ने बताए । नेतृत्व निरंकुश बन्न खोजेको अनुभूति तल्लो तहबाट आएकाले आफूहरूले विधानको विषयवस्तुमा पहिला छलफल हुनुपर्ने अडान राखेको धमलाले बताए ।
‘बैठक कर्मकाण्डजस्तो’
नेपाली कांग्रेसको जारी महासमिति बैठक कर्मकाण्डजस्तो मात्र देखिएको भन्दै महासमिति सदस्यहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार महासमिति बैठकमा धारणा राख्नेहरूले महासमिति बैठकमा सार्थक छलफल हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । देशभरका जिल्ला सभापतिहरूले पार्टी विधान बैठकमा पेश नभई बैठक चल्न नसक्ने अडान राखेपछि महासमिति बैठकस्थल केहीबेर होहल्लामय बन्यो ।
बैठकमा विधान नै पेश नभएपछि कुनै सार्थक छलफल हुन नसकेको सिन्धुपाल्चोक सभापति विकास लामाले बताए । “बैठक कर्मकाण्डजस्तो मात्र देखिएको छ । न छलफलका लागि विधान पेश भएको छ, न बैठकमा पेश भएका प्रतिवेदनमाथि सार्थक छलफल भएको छ,” उनले भने । मंगलबारको बैठक त तनावपूर्ण नै बन्यो । ‘विधान आउँदै गर्छ छलफल गर्दै गरौं’ भन्ने सभापति शेरबहादुर देउवाको आग्रहलाई जिल्ला सभापतिहरूले अस्विकार गरेका थिए । त्यसपछि बैठक स्थगन भएको घोषणा गरेर सभापति देउवा उठ्नै लाग्दा नुवाकोट सभापति जगदिशनरसिंह केसी मञ्चमा गएका थिए ।
सोबारे कुरा राख्न नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसी मञ्चमा पुग्दा सहमहामन्त्री डा. प्रकाशशरण महतले रोकेको केसीको आरोप छ । “बैठकमा होहल्ला भएपछि सम्झाउन मञ्चमा पुगेको थिएँ,” सभापति केसीले भने, “बोल्नै लाग्दा राम्रो व्यवहार भएन ।” तर, महतले भने बाहिर हल्ला भएजस्तो कसैलाई दुव्र्यवहार नगरेको बताए । “म पार्टीको जिम्मेवार पदाधिकारी हुँ, महासमिति बैठक सफल पार्ने दायित्व मेरो पनि हो,” उनले भने, “त्यसैले मबाट कसैलाई दुव्र्यवहार हुन सक्दैन । गलत हल्लाहरू चलाइयो ।” मंगलबारको बैठकमा बोल्ने महासमिति सदस्यहरूले पनि हिन्दू राष्ट्र, गुटउपगुटको अन्त्य र पार्टीमा आन्तरिक एकतामै जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्