बागलुङको बजेट ३ अर्ब ८७ करोड
संघीय सरकारबाट बागलुङ जिल्लालाई आगामी आर्थिक वर्षमा ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री विष्णु पौडेलद्वारा शनिबार प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को बजेट अनुसार उक्त रकम प्राप्त हुने भएको हो ।
बागलुङमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् । १० स्थानीय तहमा समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरेर ३ अर्ब ८७ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजिन भएको छ । अर्थमन्त्री पौडेलले बागलुङका पालिकालाई चालूतर्फ ३ अर्ब ५० करोड ८६ लाख र पुँजीगततर्फ ३६ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजित गरेका हुन । जिल्लाका चारवटा नगरपालिकालाई २ अर्ब ४ करोड ४७ लाख रुपैयाँ र छ वटा गाउँपालिकाहरुलाई १ अर्ब ८३ करोड २८ लाख रुपैयाँ बजेट विनियोजित भएको छ ।
बागलुङका चार नगरपालिकामध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकालाई ७४ करोड ७२ लाख र सबैभन्दा कम ढोरपाटन नगरपालिकालाई ३२ करोड ७० लाख रुपैयाँ बजेट विनियोजिन भएको छ । यस्तै गाउँपालिकातर्फ सबैभन्दा धेरै काठेखोला गाउँपालिकालाई ४१ करोड ५८ लाख रुपैयाँ र सबैभन्दा कम तमानखोला गाउँपालिका १७ करोड ९१ लाख रुपैयाँ विनियोजित गरिएको छ । विनियोजित बजेटअनुसार यस आर्थिक वर्षका लागि बागलुङ नगरपालिकामा ७४ करोड ७२ लाख रुपैयाँ, गल्कोट नगरपालिका ४७ करोड ४८ लाख रुपैयाँ, जैमिनी नगरपालिका ४९ करोड ५७ लाख रुपैयाँ र ढोरपाटन नगरपालिका ३२ करोड ७० लाख रुपैयाँ बजेट विनियोजित भएको छ ।
यस्तै गाउँपालिकातर्फ काठेखोला गाउँपालिका ४१ करोड ५८ लाख रुपैयाँ, तमानखोला गाउँपालिका १७ करोड ९१ लख रुपैयाँ, ताराखोला गाउँपालिका २४ करोड ९२ लाख रुपैयाँ, निसीखोला गाउँपालिका २८ करोड ८३ लाख रुपैयाँ, बडिगाड गाउँपालिका ४४ करोड ६ लाख र बरेङ गाउँपालिका २५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा संघीय सरकारले बागलुङलाई ३ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।