लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन आज

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि सोमबार उपनिर्वाचन हुँदै छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
कर्मचारी मिलन केन्द्रको प्राङगणमा निर्वाचनका लागि तीन वटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचनलाई शान्ति पूर्ण र सुरिक्षत बनाउनका लागि प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मी सहित ८ जनाका दरले कर्मचारी खटाउने गरी तयारी गरिएको छ ।
‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सँगै कोभिडको जोखिमलाई मध्य नजर गरेर तीन वटा मतदान केन्द्रहरु तोकेका छौ,’ सूचना अधिकारी कुँवरले भने, ‘मतदानका लागि प्रदेशसभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखसँगै कोरोना संक्रमित मतदाताका लागि छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरेका छौं ।’ उनका अनुसार तीन वटा मतदान केन्द्रहरु मध्य मतदान केन्द्र ‘क’ मा प्रदेश सभा सदस्यहरु, मतदान केन्द्र ‘ख’मा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र मतदान केन्द्र ‘ग’मा कोरोना संक्रमण पोजिटिभ देखिएका मतदाताहरुका लागि छुट्याइएको छ । मतदानका लागि बिहान ९ बजेदेखि ३ बजे सम्म समय निर्धारण गरिएको छ ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा नेकपा एमालेले पूर्व सदस्य चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाएको छ । त्यसैगरी विपक्षी गठबन्धनका तर्फबाट कपिलवस्तुका दृगनारायण पाण्डेलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । खड्कालाई नेकपा एमाले ओली समूह सहित जनता समाजवादीको ठाकुर–महतो समूहको समर्थन रहेको छ । पाण्डेलाई कांग्रेस सहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ । तर एमाले विभाजित भएकाले नेपाल–खनाल समूहको मत विपक्षी उम्मेदवारलाई जान सक्ने सम्भावना छ । निर्वाचनमा लुम्विनी प्रदेश सभाका ७९ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् ।
निर्वाचनमा जनता समाजवादी पार्टीका कारबाहीमा परेका चार मन्त्री सहित ८ सांसद मतदान बाट बञ्चित हुने छन् । ८७ सदस्यीय प्रदेश सभाका ७९ जनाले मात्रै मतदान गर्न पाउने छन् । प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुख सहित), जसपाका २ र राजमोका १ जना सांसद छन् । स्थानीय तहतर्फका २१७ मध्य एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।