Logo

इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा दुई रूपैयाँले घटाएको हो ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले डिजेल पेट्रोल र मट्टितेल प्रतिलिटरमा दुई रूपैयाँ घटाइएको जानकारी दिए । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १७ डिसेम्बरमा पठाएको मूल्य घटेर आएकाले स्वचालित मूल्यअनुसार निगमले पनि घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयाँ भएको छ । यस्तै डिजेल-मट्टितेल प्रतिलिटर ९७ रूपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६० डलरमा झरेको छ । आईओसीले प्रत्येक १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्