पोखरामा फेरि अक्सिजनको अभाव «

पोखरामा फेरि अक्सिजनको अभाव

पोखरामा अक्सिजन ग्यास समयमै व्यवस्थापन गर्न नसके फेरि पनि पोखरामा गम्भीर प्रकारका बिरामीको उपचारमा ठूलो समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् । आफूहरूसँग स्टक(मौजदात) अक्सिजन ग्यास सिलिण्डर नभएको हुँदा हाई फ्लाका धेरै बिरामी भएमा, अक्सिजन सिलिण्डर अहिलकै अवस्थामा र कुनै कारणले गर्दा अक्सिजन कम्पनीमा केही घण्टा मात्र समस्या उत्पन्न भए पनि पोखरामा पुनः अक्सिजन अभावनले ठूलो समस्या आउन सक्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताए ।

बिहीबार करिब १५ मिनेट जसो विद्युत् अबरुद्ध हुँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास पुराउने जिम्मा लिएको पोखरा अक्सिजन कम्पनीले पर्याप्त मात्रमा ग्यास उपलब्ध गराउन नसक्दा अक्सिजन अभावसहित अन्य कारणले एक सुत्केरीसहित ७ जनाको ज्यान गएको भए पनि अझै पर्याप्त मात्रमा अक्सिजन ग्यास व्यवस्थापन हुन नसकेको खत्रीले जनाए । उनले भने, “प्रतिष्ठानमा हाल कोरोनाका गम्भीर प्रकारका बिरामी जसलाई हाईफ्लो अक्सिजन दिनुपर्ने अबस्थामा हामीसँग स्टक अक्सिजन ग्यास सिलिण्डर नै छैन, यदि कुनै कारणले गर्दा उद्योगमा समस्या वा अस्पतालमा थप हाई फ्लोका बिरामी आएमा पुनः समस्या आउन सक्छ । ” हाल प्रतिष्ठानमा २ सय ५० थान अक्सिजन ग्यास सिलिण्डर भए पनि भोलिका दिनमा विहिबारको जस्तो अक्सिजन ग्यास माग भएको अबस्थाको लागि कम्तिमा ४ सय ग्यास सिलिण्डर आवश्यक भएको निर्देशक खत्रीले बताए ।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी सहितको बैठकमा आफुहरूले अहिलेको अबस्थामा ४ सय वटा अक्सिजन ग्यास सिलिण्डर माग गरेको उनले बताए । प्रतिष्ठानमा अक्सिजन ग्यास सिलिण्डर पुनः अभावन हुन नदिन थप कर्मचारी समेत खटायर त्यसको अध्यावधिक र सेवा छिटोछरितो पार्न लगाइएको खत्रीले जनाए ।

प्रतिष्ठानमा हाल गम्भीरसहित ८० जना कोरोनाका बिरामी भएको उनले जनाए । शनिबार कोरोनाको उपचारकै क्रमम २ महिला र एक पुरुषसहित ३ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कोरोना महामारीमा प्रतिष्ठानलाई कोरोना उपचार केन्द्रकै रूपमा हाल ओपीडी सेवासमेत ठप्प पारेर कोरोनाको उपचार गरे पनि हाल ८० जनाको मात्र उपचार गर्ने प्रबन्ध गराएको डा. खत्रीले जनाए । विभिन्न अस्पतालका बाहेक पोखरामा व्यावसायिक रुपमा अक्सिजन ग्यास उत्पादन गर्दै आएका दुई कम्पनी पोखरा अक्सिजन र कालि गण्डकी अक्सिजन प्रा.लि.ले हाल चौबीसै घण्टाजसो संचालनमा आएका छन् । यदि कुनै कम्पनी न्यूनतम एक घण्टादेखि केही घण्टा मात्र अबरुद्ध भएमा पोखरामा अक्सिजन ग्याँसको अभावमा गम्भीर प्रकारका बिरामीहरूलाई प्रत्यक्ष असर पर्ने भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। अस्पतालमै अक्सिजन प्लान्ट नहुँदा यस्तो महामारी र गम्भीर प्रकारका बिरामीहरूको उपचारमा सधै जसो समस्या उत्पन्न हुने खत्रीले जनाए ।
पोखरा अक्सिजन कम्पनीले बिहीबार करिब १० देखि १५ मिनेत विद्युत् आपूर्ति बन्द हँुदा मेसिन सञ्चालनमा २० देखि २५ मिनेट असर परेकोले करिब १७÷१८ सिलिण्डर ग्याँस उत्पादनमा कमी भएको कम्पनीका म्यानेजर दीपक भण्डारीले बताए । कम्पनीले बिहीबार प्रतिष्ठामा २ सय ७० वटा अक्सिजन सिलिण्डर दिएको कम्पनीको दाबी छ । आफूहरूले प्रतिष्ठान र प्रदेशको सरुवा रोग अस्पताललाई पहिलो प्रथामिकतामा अक्सिजन दिने गरेको उनले बताए । कुनै कारणले गर्दा उद्योगमा सञ्चालनमा अबरुद्ध भएमा पोखरामा अक्सिजनको अभाव हुने भएको भण्डारीले जनाए ।
प्रयाप्त मात्रमा अक्सिजन सिलिण्डर नहुदा ५÷७ वटा समेत सिलिण्डर भर्दै उपचारको लागि अस्पतालमा पठाउनु पर्ने आफुहरूलाइ बाध्यता रहेको कालि गण्डकी अक्सिजन प्रालिका निर्देशक कालिदास बरालले बताए । हाल आफुहरूले पोखरा सहित गण्डकी प्रदेशका बागलुङ, तनहुँसहित अन्य जिज्ला अस्पताल तथा निजी अस्पतालमा अक्सिजन पुराउने गरेको उनले जनाए । पोखराका केही अस्पतालमा नक्कली अक्सिजन प्लान्ट भएको दाबी गरेका उनले शल्यक्रिया गर्दा अनिवार्य रुपमा दुई कम्पनीबाट अक्सिजन लैजाने गरेको जनाए । उनले भने “ मानवताको लागि हामीले काम गरेका छौं, मेरो केही नियमित अक्सिजन प्रयोग गर्ने बिरामी घरमै छन, केही मेरो बाहिरी जिल्ला अस्पतालमा समेत अक्सिजन पठाउनुपर्छ, सिलिण्डर पठाएमा कुनै पनि बिरामीको लागि अक्सिजन भरेर दिन्छौं । ”
पोखरा अक्सिजन प्रालिले प्रति घण्टामा २ सय ५० क्युबिक मिटर ग्यास उत्पादन गर्ने गर्छ भने कालिगण्डकीले प्रति घण्टामा १ सय ५० क्यूबिक मिटर ग्याँस उत्पादन गर्ने कम्पनीको दाबी छ । ६.८ क्युबिक मिटर अर्थात ४७ लिटरको ठूलो अक्सिजन ग्यास सिलिण्डर भर्न कम्पनीले न्यूनतम ३ सय ५० देखि ५ सय सम्म लिने गरेका छन् । दुई कम्पनीले चौबीस घण्टामा ठूलो अक्सिजन ग्यास सिलिण्डर करिब एक हजारवटा उत्पादन गर्ने गरेका छन् ।
पोखरा क्षेत्रमा हुने खाने, कही बन्दै गरेका अस्पताल लगायतका ठाँउमा अक्सिजन ग्याँस सिलिण्डर लगेकाले बजारमा अक्सिजन सिलिण्डर अभाव भएको श्रोतको दाबी छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सामुदायिक अस्पतालमा एकै दिनमा सुत्केरी सहित ७ जनाको मृत्युको घटनाले आफुहरू निकै गम्भीर भएको बताए । अक्सिजन सहित के के कारणले गर्दा मृत्यु भएको त्यसको बारेमा सोधपुछ गरेर आगामी दिनमा सुधार गर्ने उनले जनाए । पोखरामा अक्सिजनको अभावमा ७ जनाको ज्यान गएको विषयलाई लियर चौतर्फी बिरोध भएको छ । अस्पताल प्रसासन र स्थानीय, प्रदेश र संघीय सरकारलाई यस बिषयमा गम्भीर हुन नेपाली कागेंस कास्की, गण्डकी प्रदेश सभा सदस्य रामजी प्रसाद बराल जीवन लगायतले आग्रह गरेका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले निर्देशन दिँदै आगामी दिनमा यस्तो घटना पुनः नदोहो¥याउन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्