मिदासको ‘मेरो डक्टर’ अनलाइन भिडियो परामर्श सुरु
मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श सुरु गरेको छ । बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीको विश्वास छ ।
नेपालका सयौं कन्सल्टेन्ट डाक्टर र अस्पताल यस एपमा उपलब्ध हुन्छन् । जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।
कोरोना महामारीबाहेक सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत् स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ । यसबाट स्वयम् बिरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।
कोरोनासँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श यस अनलाइन भिडियो परामर्शमा निशूल्क हुनेगरी व्यवस्था मिलाइएको छ । विरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन् ।
यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिन्छ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नेछन् । ल्यापटप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा मेरोडक्टर डट कम टाइप गरेर यो सेवा लिन सकिनेछ ।
कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिनेछ । मिदासले दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा सहयोगी भूमिका खेल्दै आएको बताएको छ ।