खोप खरिदको अनुमति माग्दै प्रदेश १ का व्यवासायी «

खोप खरिदको अनुमति माग्दै प्रदेश १ का व्यवासायी


महामारी नियन्त्रणका लागि आवश्यक कोेरोना भाइरसविरुद्धको खोप आयातको अनुमति दिन निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।
नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले संयुक्त विज्ञप्ति जारी गर्दै खोप आयातको अनुमति प्रदान गर्न माग गरेको हुन् । महामारी नियन्त्रण र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको अन्त्यका लागि खोप आयातको अनुमति निजी क्षेत्रलाई दिनुपर्ने उनीहरूको भनाइ छ ।
खोप आयातको अनुमति माग गर्दै चारवटै संस्था गत वैशाख २५ गते मात्रै प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र प्रदेश–१ का मुख्यमन्त्री समक्ष अनुरोध गरेका थिए । तर सरकारले हालसम्म निजी क्षेत्रको माग सम्बोधन नगरेपछि संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र विराट व्यापार संघका अध्यक्ष सुजन थापाले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणका लागि खोप आयात गर्नुको विकल्प नरहेको जनाएका छन् ।
कोरोना महामारीको अन्त्यका लागि आवश्यक खोपको व्यवस्था गर्न सरकारले आफ्ना कुटनीतिक र राजनीतिक संयन्त्रको परिचालन गर्नुपर्नेमा उनीहरूको जोड छ । निजी क्षेत्रका कर्मचारी र श्रमिकलाई पनि सहज रुपमा खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध हुनुपर्नेमा विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै उनीहरूले देशको अर्थतन्त्र चलायमान बनाइराख्नु साथै आपूर्ति शृंखलालाई निरन्तरता प्रदान गर्न निजी क्षेत्रका कर्मचारी तथा श्रमिकलाई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अनुरोधसमेत गरेका छन् ।
परिसंघका अध्यक्ष भीम घिमिरेले निजी क्षेत्रलाई खोप आयात गर्न दिए छिटो हुने दाबी गरे । “कोभिडको तेस्रो लहर पनि आउने भनिँदैछ” उनले भने, “त्यसैले छिटोभन्दा छिटो खोप ल्याएर सबै जनतालाई लगाउनुपर्छ र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्