पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने बजेट «

पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने बजेट

सरकारले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बजेटमार्फत कर्मचारीलाई पर्यटन काज विदादेखि वदेशी पर्यटकलाई भिसा निःशुल्क गरिने भएको छ । कोभिड–१९ले थलिएको पर्यटन उद्योगलाई लयमा फिर्ता गर्न सरकारले कर्मचारीलाई १० दिनको तलब रकम दिएर आन्तरिक पर्यटन भ्रमणमा पठाउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा शनिबार सार्वजनिक आर्थिक वर्ष २०७८/७९को बजेटमा उल्लेख छ ।
विदेशी पर्यटकलाई १ महिना पर्यटक भिसा निःशुल्क गर्न र सरकारी कर्मचारीलाई १० दिन बराबरका तलब दिएर आन्तरिक भ्रमण उल्लेख गर्दै बजेटमा भनिएको छ । “आन्तरिक पर्यटकलाई प्रबद्र्धन गर्न निजामती, सावर्जनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्ररित गरिनेछ । त्यस्तै नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिषा निःशुल्क प्रदान गरिनेछ ।”
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा मन्त्रालयलाई सरकारले २६ अर्ब १२ करोड ३३ लाख विनियोजन गरेको थियो ।
नेपाललाई आर्कषक, रमणिय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताए । निजी क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धनुषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्ड ेदह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री पौडेलले बताए ।
कोभिड–१९ प्रभावित होटल, ट्राभल, ट्रेकिङ लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, व्यूटी पार्लर, हेल्थ क्लव जस्ता व्यवसायले आ.व.२०७८÷७९ मा तिर्नुपर्ने ईजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको छ । बजेटमा भनिएको छ, “तारे होटेल, सिमेन्ट र फलाम उद्योगका लागि आवश्यक पर्ने पहुँच मार्ग र प्रशारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेमा निर्माण लागतको ७५ प्रतिशत रकम शोधभर्ना दिइनेछ ।”
कोभिड महामारीका कारण सञ्चालनमा आउन नसकेका होटेललाई आईसोलेशन सेन्टरको रुपमा सञ्चालन गरेमा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलव्ध गराउने व्यवस्था गरेको बजेटमा गरिएको छ । उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था बजेटमा गरिएको छ । होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।
बजेटले होटल व्यवसायीले विगत लामो समयदेखिको माग सम्बोधन सरकारले गरेको छ । त्यस्तै काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवम् साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको छ । दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्ट लगायत निर्माण गर्न नीजि क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने पनि यस वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । रारा, स ेफोक्शुन्डो, खप्तड लगायतका प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको छ । तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुवि भ्याली लगायतको क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने, पद यात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा र उद्धारका लागि जिपिएस ट्रयाकिङ सहितको एकिकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । त्यस्तै, इलामको माइपोखरी, सुनसरीको बर्जुताल, कपिलवस्तुको जगदिशपुर ताल, पाल्पाको सत्यावति ताल, रुकुमको स्यार्पु ताल लगायतका महत्वपूर्ण तालको संरक्षण गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।
आगामी आर्थिक वर्षको बजेटमा साहसिक पर्यटन प्रर्वद्धन गरिने र साहसिक पर्यटनको क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिने उल्लेख गरिएको छ । प्रदेश र स्थानीय तहको लागत साझेदारीमा २ सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिन ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ । सिम्रौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढी लगायत ऐतिहासिक गढी किल्लाको संरक्षण र विकास पनि गरिने भएको छ ।

संस्कृतितर्फ

परम्परागत संस्कृति एवम् पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गरी सफ्ट पावरको रुपमा विश्वसामु प्रस्तुत गरिनेछ । लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई वर्षभित्र सम्पन्न गरिनेछ । अन्तर्राष्ट्रिय स्तरका विख्यात योजनाविद्द्वारा लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी वृहत लुम्बिनी विकास गुरुयोजना तयार गरिनेछ । यसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । वृहत् पशुपति क्षेत्र विकास गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । पशुपतिनाथ मन्दिरको प्रवलीकरण लगायत पूर्वाधार निर्माण गर्न ३५ करोड विनियोजन गरेको छ ।
जानकी मन्दिर र तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न प्रकृया अगाडि बढाइनेछ । जनकपुरलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न हरेक वर्ष अष्टाबक्र शास्त्रार्थ सहितको धार्मिक सम्मेलन आयोजना गरिनेछ। चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माणगर्न बजेट छुट्याएको छ ।

हवाई पूर्वाधार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण, लगानीको ढाँचा निर्धारण र तदनुरुपको पूर्वाधार विकास एवम् सञ्चालनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता छनौट गरिनेछ। आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण, साइट क्लियरेन्स लगायत विमानस्थल निर्माणको पूर्व तयारीका कार्य सम्पन्न गरिने लक्ष्य लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको मौलिक संस्कृति झल्किने बुटिक विमानस्थलमा रूपान्तरण गर्न प्रारम्भ गरिएको स्तरोन्नति कार्य सम्पन्न गरिनेछ । यस विमानस्थलको हवाई चापलाई सम्वोधन गर्न ट्क्यासी–वे विस्तार, पार्किङ्ग–वे निर्माण सम्पन्न गरिनेछ । टर्मिनल भवनको स्तरोन्नति आरम्भ गरिनेछ । यसका लागि ६ अर्ब ९५ करोड विनियोजन गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्ष सञ्चालनमा ल्याउन ८ अर्ब ५० करोड विनियोजन गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन र अन्यपूर्वाधार निर्माण आरम्भ गर्न ३ अर्ब ५३ करोड विनियोजन गरेको छ ।
ईलामको सुकिलुम्बा, गुल्मिको सिमीचौर र डोल्पाको मसिनचौरमा परीक्षण उडान गरिनेछ।चन्द्रगढी, राजविराज, तुम्लिङ्गटार, जनकपुर, धनगढी, अर्घाखाँची, स्वर्गद्वारी,पाटन, दार्चुला लगायतका विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथास्तरोन्नति गरिनेछ । सुर्खेत र भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति गरिनेछ।नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण आरम्भ गरिनेछ । वातावरणीय प्रभाव मुल्याङ्कन सम्पन्न गरी दाङ्गको नारायणपुरविमानस्थल निर्माण कार्य प्रारम्भ गरिने जनाइएको छ । आन्तरिक विमानस्थल तर्फ .१ अर्ब ३३ करोड विनियोजन गरेको छ । ताप्लेजुङ्ग सुकेटारको धावनमार्ग विस्तार कार्य सम्पन्न गरिनेछ । तेह्रथुमको चुहानडाँडा विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइने भनिएको छ । सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा विमानस्थल नामाकरण गरिने मन्त्री पौडेलले बताए । आकस्मिक स्वास्थ्य सेवा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक कार्यका लागि आगामीआर्थिक वर्षभित्र सबैस्थानीय तहमा हेलिप्याड निर्माण सम्पन्न लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्