स्वास्थ्यकर्मीलाई प्रोत्साहन, सम्मान र सुरक्षाको खाँचो «

स्वास्थ्यकर्मीलाई प्रोत्साहन, सम्मान र सुरक्षाको खाँचो

कोरोना कहरमा देवीदेवतासमेत मन्दिरमा ताला लगाएर निरीह बनेको बेला स्वास्थ्यकर्मी कोरोना संक्रमितका लागि बोल्ने देवता हुन् ।

कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि यदाकदा आक्रमणका निन्दनीय घटनाहरू हुने क्रम बढेको छ । विराट मेडिकल कलेजका चिकित्सक कुटिएको एक साता नबित्दै भेरी अस्पतालमा आफ्नो बिरामीको मृत्यु भएको भन्दै कोरोना संक्रमितको उपचारमा खटिएकै अवस्थामा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक हमला हुनु खेदजनक छ । संक्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मीरूपी देवदूतलाई हातपात, दुव्र्यवहार गरेका समाचार सार्वजनिक हुनु तथा सरकार र सरोकार निकाय टुलुटुलु हेरर बस्नु दुःखद हो । यस्ता अमानवीय घटनाप्रति जिम्मेवार जोकोहीलाई पनि निर्मम कारबाही गरी अग्रपङ्क्तिमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिचकिचाउनु गम्भीर भूल हुन जान्छ । अहिले दोस्रो लहरको कोरोना तीव्र र घातक रूपमा फैलिइरहेको अवस्थामा स्वास्थ्यकर्मीलगायत अग्रपङ्क्तिमा खटिएकाहरूका लागि सरकारले दिल खोलेर सबै खाले सेवा, सुविधा र सुरक्षा प्रदान गरिनुपर्छ ।
कोरोना कहरमा देवीदेवतासमेत मन्दिरमा ताला लगाएर निरीह बनेको बेला स्वास्थ्यकर्मी कोरोना संक्रमितका लागि बोल्ने देवता हुन् । संक्रमितलाई आफन्त, नातागोता, साथीभाइसमेत छुन डराउनुपर्ने अवस्थामा स्वास्थ्यकर्मीले मात्रै नजिकबाट स्वास्थ्य परीक्षण र उपचार गरिरहेका छन् । कोरोनाको पहिलो लहरमा संक्रमितको प्रत्यक्ष स्वास्थ्योपचारमा खटिएका विश्वभर दसौं हजारभन्दा बढी चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकले ज्यान गुमाएका थिए । चीनको बुहानमा सर्वप्रथम कोरोना भाइरस पहिचान गर्ने चिकित्सककै संक्रमणका कारण मृत्यु भइसकेको छ ।
विगतमा कोरोना महाव्याधिमा हाम्रा लागि आफ्नो ज्यान नै दाउमा राखेर स्वास्थ्योपचारमा अहोरात्र खटिइराखेका निर्दोष स्वास्थ्यकर्मीमाथि अपमान र आक्रमण अक्षम्य अपराध भएको तीतो अनुभव ताजै छ । अमानवीय तथा असभ्य कार्यमा संलग्न जोकोहीलाई निर्मम कारबाहीको दायरामा ल्याउन विलम्ब गरिनु हुन्न । अन्यथा स्वास्थ्यकर्मीले आफ्नो काम छोडेर आन्दोलनमा उत्रिँदाको कोरोना महामारीमा भयावह स्थितिको सामना गर्नु नपर्ला भन्न सकिन्न ।
विगतमा जस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइकर्मीलाई कोरोना पोजेटिभ देखिइसकेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा संक्रमण हुने दर तीव्र गतिमा बढ्दो छ । सौभाग्यवश सबै स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य भएको र निश्चित समयको उपचारपछि पेसागत जीवनमा फर्किने गरेका छन् । जनसमुदायमा संक्रमितको संख्या बढ्ने गतिसँगै यिनीहरूमा संक्रमण पनि बढ्ने जोखिम उत्तिकै छ । अहिले पनि नर्सहरूले पीपीइ लगाएर उकुसमुकुसको अवस्थामा कोभिड बिरामीहरू उपचारमा खटिएका तथा एक हातमा स्लाइन पानी चढाउँदै अर्को हातले प्रेस्क्रिप्सन लेख्दै गरेको चिकित्सकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइराखेका छन् । यसरी जीवनको जोखिम मोल्दै उच्च मनोबलका साथ आफ्नो कर्म क्षेत्रमा खटिनेलाई पर्याप्त सम्मान र प्रोत्साहनको खाँचो खट्किएको छ ।
स्वास्थ्यकर्मीप्रति अमानवीय आक्रमण बढ्नुका विविध कारण हुन सक्छन् । कोरोना कहरमा स्वास्थ्यकर्मीको महŒव थाहा नपाएर वा अरूको लहैलहैमा लागेर, जे गरे पनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीहरूमार्फत कोरोना संक्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झुन्डहरूले वितण्डा मच्चाउने उच्छृंखल तŒवहरूको सक्रियतामा यस्ता असामाजिक दुव्र्यवहारहरू हुने गर्छन् । यस्ता नकारात्मक प्रवृत्तिहरूलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्य तथा सख्त कानुनी कारबाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्व गरिनु हुन्न । स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिँदा आउने भयावह स्थितिको आकलन गरेर बेलैमा कडा कारबाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ ।
उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरूले आफ्ना बालबच्चा र घरपरिवारलाई नभेटेको कैयौं दिन भइसकेको छ । उता परिवारजन पनि आफन्तलाई केही होला कि भन्ने आशंका र चिन्ताले पिरोलिइराखेका हुन्छन् नै । लकडाउनमा अन्य पेसाकर्मीहरू आफ्नो परिवारजनसँग रमाइरहेका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र सञ्चारकर्मी देश र जनताका लागि निरन्तर खटिइरहनु सम्मानयोग्य काम हो । तर, उनीहरूले सरकार, सरोकार र जनसमुदायबाट पर्याप्त प्रशंसा, प्रोत्साहन र सम्मान नपाएको गुनासो जायज छ । विगतमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबबाट पनि कट्टी गरी कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको हल्ला चलेको थियो, जसको विपक्षमा व्यापक सार्वजनिक आलोचनापछि कटौती नहुने सरकारले जानकारी गराएको थियो । उनीहरूलाई आकर्षक जीवन बिमालगायत अन्य आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक रूपमा उच्च मनोबलयुक्त बनाउन सके मात्र कोरोनाविरुद्धको लडाइँ सहज रूपमा जितिनेतर्फ नागरिक समाज र सरकारले हेक्का राख्नु जरुरी छ । उनीहरूलाई आफ्नो पेसाप्रति अझ दत्तचित्त भएर लाग्न प्रोत्साहित वातावरण र सुविधा प्रदान गर्न कन्जुस्याइँ गरिनु हुन्न ।
कोरोना महाव्याधीको चपेटाले मानवजीवनलाई आक्रान्त बनाइराखेको छ । कोरोना महामारीले विपन्नता र विपत्ति दिन–प्रतिदिन बढ्दो क्रममा छ । नयाँ भेरियन्ट र डबल म्युटेन्टका रूपमा देखिएको कोरोना संक्रमणको तीव्रता झन् अत्याशलाग्दो छ । यस महाव्याधिले हुने खानेहरूलाई भन्दा पनि हुँदा खाने विपन्नहरूको जीवन र जीविका तहसनहस पारिराखेको छ । समग्रमा मानवीय क्षतिको साथसाथै विश्व अर्थतन्त्रलाई नै कोरोनाले अक्रान्त बनाउँदै लगेको छ । कोरोना संक्रमण नियन्त्रणको समय अनिश्चित भएसँगै विश्व अर्थतन्त्र नै शिथिल हुँदै गएको विभिन्न अध्ययन र अनुसन्धानले तथा सरोकार संघसंस्थाले दाबी गरेका छन् । कोरोना कहरको सकसले अहिले स्वास्थ्य समस्याहरू समाधान गर्न सरकाराई हम्मेहम्मे परेको छ ।
भारतमा अनियन्त्रित रूपमा सल्केको कोरोना दोस्रो लहरको खुला सिमाना र अनियन्त्रित आवागमनका कारण नेपालमा पनि तीव्र रूपमा संक्रमण फैलिनु अन्यथा होइन । भारतमा कोरोनाको डरले स्वदेश फर्किने नेपालीहरूको लर्कोले अहिले कमजोर स्वास्थ्य संरचना र सुविधाका कारण गाउँगाउँसम्म कोरोना संक्रमण बढ्दो रूपमा छ । आवश्यक उपकरण र औषधिसहित पर्याप्त जनशक्तिको अभावमा कोरोनाको स्थिति अझ भयावह बन्ने प्रायः निश्चित छ । भारतबाट कोरोना खोप ल्याउने क्रममा कमिसनको चक्करले ढिला भएको समाचारले जनमानसलाई आक्रोशित बनाएको छ । अर्कातर्फ कतिपय निजी अस्पतालले अस्वाभाविक अधिक शुल्क कोभिडका बिरामीसँग असुल्ने गरेको गुनासोप्रति सरकारले नतिजामुखी कारबाही गर्न विलम्ब गर्नु दुःखद हो । यस महामारीलाई कमाउ धन्दाका रूपमा अक्सिजन तथा रेम्डिसिभिरलगायतका महŒवपूर्ण औषधिको कालोबजारी गर्ने व्यापारीहरूको जगजगी त्यत्तिकै छ । नक्कली रेम्डिसिभिर बेच्ने व्यापारी विराटनगरमा पक्राउ परेका छन् । जनताको जीवनसँग खेलबाड गर्ने जोकोहीलाई पनि सत्यतथ्यका आधारमा निर्मम कारबाही गर्न हिचकिचाउनु हुँदैन ।
कोरोना महाव्याधी उपचारका लागि विकास गरिएको पर्याप्त खोप सबै नागरिकलाई उपलब्ध भएको छैन । खोपको प्रभावकारिता माथि नै शंका उब्जिएकाले उपचारभन्दा पनि रोकथामका उपायहरू नै कोरोनाबाट बच्ने उत्तम उपाय ठहरेको छ । सुरुमा चमेरोबाट मानवमा सरेको कोरोना भाइरस अहिले मानवबीचको संसर्गबाट सर्दै छ । मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरू हुन सक्छन् । अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ । कतिपय व्यक्तिहरू स्वास्थ्यसम्बन्धी मापदण्डको बेवास्ता गर्दै अनावश्यक रूपमा घरबाहिर निस्केर रोग सल्किने जोखिमलाई निम्त्याएका घटना सार्वजनिक हुने गरेका छन् । कोरोना संक्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टलाई अभियानका रूपमा संचालन गर्नुपर्ने बाध्यता भएको छ । कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीबेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो । रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्