स्वास्थ्य बजेट २५ प्रतिशत वृद्धि «

स्वास्थ्य बजेट २५ प्रतिशत वृद्धि

दोस्रो लहरको कोरोना संक्रमणले ठूलो जनधनको क्षति गरेपछि यसको जोखिमलाई नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष २०७८-०७९ को बजेटमा खोप र स्वास्थ्य उपकरणलाई प्राथमिकता दिएको छ ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सरकारले संक्रमणलगायत सबै प्रकारमा रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जननीवनलाई सहज र सुरक्षित बनाउन स्वास्थ्यलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको बताए । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खोप, स्वास्थ्य उपकरण र सामग्रीलगायतका अत्यावश्यक वस्तुको खरिदका लागि मात्र ३७ अर्ब ५३ करोड छुट्याइएको छ ।
यसका लागि आगामी आवका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेर १ खर्ब २२ अर्ब पु-याइएको छ । सबै नागरिकलाई खोप लगाउनका लागि बजेटमा २६ अर्ब ७५ करोड रूपैयाँ विनियोजन गरिएको छ । यसबाहेक संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि अत्यावश्यक उपकरण र स्वास्थ्य सामग्री खरिदका लागि ४ अर्बसहित ३० अर्ब ७५ करोड रूपैयाँ छुट्याइएको छ । “कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ” अर्थमन्त्री पौडलेले भने, “स्वास्थ्य जोखिम न्यूनिकरण गर्न सम्पूर्ण सामर्थ्य सहित उपलब्ध सबै सम्भावनाको उपयोग गर्न बजेट केन्द्रित रहेको छ ।” सरकारले संक्रमण रोकथाम, नियन्त्रण, उपचार र खोपको सुनिश्चितताका लागि बजेट अभाव हुन नदिने समेत जनाएको छ ।
यसैगरी सरकारले सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाएको जनाएको छ । कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजनको कमि हुन नदिन अक्सिजन प्लान्ट, सिलिण्डर र तरल अक्सिजन ढुवानी र भण्डारण गर्ने ट्याङ्क खरिद गर्न आवश्यक बजेट व्यवस्था गरीएको छ । एक सय शैया भन्दा बढी क्षमताका सबै अस्पतालमा अनिवार्यरूपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पुरै छुट दिएको छ । सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको जनाएकोे छ । कोभिड महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत् महसुलमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ ।
कोभिडका बिरामीको उपचारका लागि आवश्यक पर्ने आइसियू, एचडियू, भेन्टिलेटर, टेस्ट किट्सलगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्ब विनियोजन गरीएको छ । कोभिडको उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार महसुल छुट दिएको छ । उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता र तलब पाउने गरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था गरिएको छ ।
कोभिड संक्रमण जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्थलगत सीमा नाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन र होल्डिङ्ग सेन्टर स्थापना गरिने जनाइएको छ । सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन सेन्टर स्थापना, जनशक्तिको व्यवस्था एवम् औषधी उपकरणको नियमित आपूर्ति गर्न आवश्यक रकम विनियोजन गरिएको जनाइएको छ ।
कोभिडको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधा संक्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता बजेटले दिएको छ ।
चालु आवमा भने स्वास्थ्य क्षेत्रको बजेट ९० अर्ब ६९ करोड पु¥याइएकोमा हाल भने लगभग ३२ अर्ब रुपैयाँ बढाइएको छ । गत वर्ष स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्व ७८ करोड विनियोजन गरिएको थियो ।

स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमका छुट्याइएको बजेट
कार्यक्रम बजेट (अर्ब)
स्वास्थ्य बजेट १२२
कोरोना उपचारका लागि औषधी, उपकरण ४
खोप २६.७५
कोरोना नियन्त्रणका अन्य कार्यक्रम ६.७८
नियमित कार्यक्रम ७७.६९

प्रतिक्रिया दिनुहोस्