व्यवसायीले करोडौं खर्चिएर बुद्धको प्रतिमा बनाउने

हेटौंडा-हेटौंडाका एक पुराना व्यवसायीले करोडौं खर्चिएर बुद्धको प्रतिमा बनाउने अभियान चलाएका छन् । विश्व शान्तिको कामना गर्दै उनले व्यक्तिगत लगानीमा देशभर १ सय ८ वटा बुद्धको प्रतिमा बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् ।
हालसम्म उनले १६ वटा बुद्धका मूर्ति बनाइसकेका छन् । देशभरका विभिन्न स्थानमा माग भएअनुसार एकसय आठवटा बुद्धको प्रतिमा बनाएर विश्व शान्तिको कामना गर्ने अभियानका साथ आफू अघि बढेको उनले बताए । बुद्धको मूर्ति बनाउन माग गर्ने समुदायले आर्थिक सहयोग गर्न चाहे लिने तर, अपुग पैसा आफैंले नै बेहोर्ने गरी काम भइरहेको बज्राचार्यले बताए ।
यस वर्षभित्रमा आफूले २५ वटा बुद्धको मूर्ति बनाउने योजना बनाएको उनले सुनाए । “समुदायले संरक्षण गर्न तयार भएको खण्डमा नेपालका जुनसुकै स्थानमा पनि बुद्धको मूर्ति बनाउने अठोटका साथ लागेको छु, धेरै ठाउँबाट आग्रह भएको छ । क्रमशः बनाउँदै लैजान्छु ।” बज्राचार्यले भने । समुदायस्तरबाट माग भएको स्थानमा मात्र बुद्ध मूर्ति बनाइने पनि उनले बताए ।
उनका अनुसार एउटा प्रतिमाको लागत भनेर ठाउँअनुसार फरक–फरक हुने गरेको छ । हालसम्म निर्माण भएको मूर्तिमा प्रतिमूर्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपियाँसम्म खर्च भएका छन् । उनको अठोट अनुसार प्रतिप्रतिमा ३ लाख रुपैयाँ मात्र लागत लाग्दा पनि सवा ३ करोडभन्दा बढी खर्च लाग्ने देखिन्छ । यत्रो खर्च उनी आफ्नो व्यक्तिगत लगानीमा गर्दैछन् । “नेपाललाई संसारमा चिन्ने आधार भनेको सगरमाथा र बुद्ध नै हो । त्यसकारण हामीले बुद्धको व्यापक प्रचारप्रसार गर्न जरुरी छ, यसकै लागि मैले लगानी गर्न लागेको हुँ,” बज्राचार्यले भने । हेटौंडा–१० राप्तीरोडका सुनचाँदी व्यवसायी बज्राचार्यले हालसम्म मकवानपुर जिल्लाको विभिन्न स्थापनामा प्रतिमा बनाएको र अब जिल्ला बाहिर बारा, पर्सा, सर्लाही, धनकुटा तथा चिवतनको विभिन्न स्थानमा बनाउन आग्रह भएअनुसार काम सुरु गर्ने योजना सुनाए ।
३ नम्बर प्रदेश सरकारले यसवर्ष पर्यटन वर्षको रूपमा घोषणा गरेको ‘घुम्न जाउँ दामन’ अभियानलाई सहयोग गर्नका लागि मकवानपुरको दामनमा पनि यसैवर्ष बुद्धको प्रतिमा बनाइने उनले बताए । उनका अनुसार प्रतिमा उचाई र चौडाई भने निश्चित छैन । स्थानीयको मागअनुसार आफ्नो लागतले भ्याउने गरी बढीमा पाँच फिटसम्मको प्रतिमा बनाउने गरिएको बज्राचार्य बताउँछन् । १ सय ८ वटा प्रतिमा बनाउने आफ्नो लक्ष्य पूरा नहुँदासम्म माग भएको स्थानमा पुगेर प्रतिमा बनाउने बज्राचार्यको प्रतिवद्धता छ । बज्राचार्य हेटौंडामा रोटरी क्लब, लायन्स क्लब, जेसीज, मकवानपुर उद्योग बाणिज्य संघलगायत विभिन्न शैक्षिक संस्थामा आबद्ध रही काम गरिसकेका छन् ।