स्वरोजगार बन्ने प्रयासमा कोरोना प्रभावितहरू «

स्वरोजगार बन्ने प्रयासमा कोरोना प्रभावितहरू

तस्वीरहरू : मुकेश चौधरी

धनगढी-कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ शिवगौरी टोलका पदमराज गिरी सात आठ महिनादेखि कुखरापालनमा जुटेका छन् । उनले अढाई सय लोकल कुखुरा पालेका छन् । उनी लामो समयदेखि भारतको सुरत शहर रोजगारी गर्दथे । विश्वव्यापी कोरोना महामारीबीच लकडाउन भएपछि रोजगारी गुमाएर अघिल्लो बैशाख (२०७७ साल) मा घर फर्किएका थिए ।
घर फर्किएपछि उनले फेरि भारत नजाने सोच बनाए । अनि कुखुरापालन व्यवसाय शुरु गरे । कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा प्रभावितहरूका लागि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्वरोजगार कार्यक्रम लागू गरेको थाहा पाएर उनले पनि अनुदानका लागि फाराम भरे । उनले मन्त्रालयमा व्यवसायिक योजना समेत गरे । मन्त्रालयले अनुदान पाउनेहरूको सूचि जारी ग¥यो । सो सूचीमा पदमराजको नाम पनि समावेश छ । तर, हालसम्म पनि उनले अनुदान पाएनन् ।
उनको फार्मका कुखुराहरू बिक्री गर्न लायक भइसकेका छन् । तर, किन्ने ग्राहक पाएका छैनन् । ‘अहिलेसम्म पालेका मध्ये आधा जति कुखुरा मात्र बिक्री भए’ पदमराजकी श्रीमति सीताले भनिन्– केयौं वटा आफैंले खायौं । धेरै कुखुरा रोग लागेर मरे । लकडाउन भएपछि कुखुरा बेच्नका लागि बजार खोज्न पनि पाएको छैन । पोथीहरुले अण्डा दिन थालेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर १२ शारदाबस्तीका बिष्णु विकका दुई दाई र एक भाई भारतमा रोजगारी गर्छन् । कोरोना महामारीबीच तीनै जना दाजुभाई घर फर्किए । ‘दुवै दाजु र भाईले गाउँमै पसल गर्न खोजे, तर हामीसंग पर्याप्त पुँजी भएन’ बिष्णुले भने– हामी चार जनाको गरी जम्मा आठ कठ्ठा मात्र जग्गा छ । त्यसैमा तरकारी खेती गर्ने योजना पनि बनायौं, तर सिंचाईंको असुविधाले त्यो पनि सम्भव भएन ।
केही सीप नलागेपछि बिष्णुका दुई दाजुहरू भीम र कालू विक २०७७ माघमा पुनः भारतको पञ्जाबतिर हान्निए । ‘गाउँमा रोजगारीको कुनै विकल्प नभएपछि दाईहरू पञ्जाबतिर जानु भयो’ बिष्णुले भने– भाइ पनि परिवार सहित महाराष्ट्रतिर गयो । तर कोरोनाको दोस्रो लहर चलेपछि दाइहरु पुनः घर फर्किनु भएको छ । माइला दाजु संक्रमित भएर फर्किनु भयो ।
गोदावरी नगरपालिका वडा नम्बर ११, गौंडीका तुलाराम गिरीको कथा पनि यस्तै छ । गत वर्ष कोरोना महामारीबीच लकडाउन भएपछि उनी भारतबाट घर फर्किए । उनी महाराष्ट्रको मुम्बई शहरको भिमण्डी भन्ने ठाउँमा आँपको बगैचामा काम गर्दथे । लकडाउनको वेला घर फर्किँदा उनले निकै सास्ती भोग्नु प-यो । कैयौं दिन भोकै प्यासै उनी बल्लतल्ल गौरीफन्टा सिमानाकामा आइपुगे । त्यहाँ आइपुगे पनि उनलाई स्वेदश प्रवेश गर्न निकै संघर्ष गर्नुप-यो ।
निकै सासतीपछि उनले स्वदेश प्रवेश पाए । उनी गोदावरी नगरपालिकाको वडा नम्बर ११ मा बनाइएको क्वारेन्टिनमा १४ दिन बसे । बल्ल गत वर्ष २०७७ साल जेठमा घर पुगे ।
भारतको मुम्बईबाट घर फर्किदासम्मको सास्तीबाट हैरान भएका तुलारामले निश्चय गरे– अब भारत जान्न ।
उनले गाउँमै खाजा पसल खोले । शुरुशुरुका दिनमा उनले दैनिक तीन हजारदेखि साढे तीन हजार रुपैयाँसम्मको व्यापार गरे । उनले चाउमिन, फ्राई राइस लगायतका चाइनिज खाजाका आइटम बनाउँथे । तर, उनको व्यापार विस्तारै सुक्दै गयो । उनीसंग ती परिकार बनाउने सीप थिएन । १२ वर्षदेखि भारतमा रोजगारीका क्रममा होटलमा काम गर्दा कहिलेकाँही किचनमा गएर पनि सघाएको अनुभवका आधारमा उनले गाउँमा खाजा पसल शुरु गरेका थिए । ‘खाजा पसल त खोले, तर कतैबाट पनि आवश्यक तालीम र सहयोग पाइएन’ तुलारामले भने– गाउँका अरु साथीहरू फेरि भारत जान थाले । मेरो व्यापार तीन महिनामै सुकिसकेको थियो । मुस्किलले दैनिक एक हजार रुपैयाँको कारोबार हुन्थ्यो ।
केही सीप नलागेपछि उनी पनि खाजा पसल बन्द गरेर २०७७ साल पुस २२ गते भारतको महाराष्ट्रतिर हिँडे । उनले भिमण्डीको एउटा होटलमा काम पाए । ‘यसपटक नौकरी पनि राम्रै मिलेको थियो’ तुलरामले भने– होटलभित्रै खानेबस्ने सुविधासहित मासिक २१ हजार भारतीय रुपैयाँमा किचन हेल्फरको काम मिलेको थियो ।
तुलाराम सन्तुष्ट थिए । राम्रोे कमाई र कुकको काम पनि सिकिने भएकोले उनी निकै खुसी थिए । तर, भारतमा फेरि कोरोनाको दोस्रो लहर चर्कियो । महाराष्ट्र सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि लकडाउन शुरु ग¥यो । होटल, रेष्टुरेन्टहरू बन्द भए । तुलारामको जागिर गयो । बाध्य भएर उनी घर फर्किए । उनी गत चैत २९ गते घर पुगे ।
तुलाराम घर त आइपुगे, तर के गर्ने ? भन्ने उनले सोच्न सकेनन् । ‘गाउँमै बसेर के गर्ने ?’ तुलारामको प्रश्न छ– ठूलो व्यापार गरु भने मसंग पुँजी छैन । खाजा पसल चल्दैन । खेतीको लागि जमीन छैन ।
उनी कोरोना महामारीमा कमी आएर भारतमा लकडाउन खुलेपछि फेरि उतै जानेसोचमा छन् । ‘होटल मालिकले लकडाउन खुलेपछि आउनु भनेको छ’ उनले भने– लकडाउन खुलेपछि त्यतै जानु पर्ला । गाउँमा बेरोजगार भएर बस्नु भन्दा जोखिम भए पनि त्यहाँ (भारत) कमाई त गर्न सकिन्छ ।
तुलारामको परिवारसंग अढाई कठ्ठा जमीन छ । उनीहरू त्यही जमिनमा खेतीपाति गरेर घर कुरेर बस्छन् । तुलारामका बुवा उनी सानै छँदा विते । उनका दुई छोराछोरी, श्रीमती र आमासहित पाँच जनाको परिवार छ । घरपरिवारको लालनपालनको सबै जिम्मेवारी तुलारामकै काँधमा छ । उनले अहिले घरमा बेरोजगार भएर बसेका छन् ।
विश्व महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगारी गुमाएर भारतका विभिन्न स्थानबाट घर फर्किएकाहरू गाउँघरमा स्वरोजगार बन्ने प्रयासमा छन् ।
कोरोनाको पहिलो र दोस्रो लहरमा रोजगारी गुमाएर घर फर्किएकाहरू आफूसंग भएको सीप प्रयोग गरेर स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैदेशिक रोजगारबाट फर्केका तथा कोरोना प्रभावित युवाहरूलाई लक्षित गरेर स्वरोजगारमा अनुदान सहयोग कार्यक्रम घोषणा गरेको छ । तर सो कार्यक्रमबाट अझैं अनुदान नपाएपछि उनीहरू हतोत्साहित बनेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ११ बाङ्गेसाल गाउँका पदम रावल श्रीमति इन्द्रा सहित पाँच वर्ष भारतको बैंगलोरमा रोजगारी गरेर गत वर्ष माघमा घर फर्किए । उनी बैंग्लोरमा आफ्नै ट्याक्सी चलाउँथे । उनी कोरोनाको पहिलो लहरमा गरिएको लकडाउनमा पनि उतै बसेका थिए । तर, भारतका विभिन्न ठाउँमा पुनः लकडाउन हुन थालेपछि उनी ट्याक्सी बेचेर घर फर्किए ।
पदमले घरमै बाख्रा, बंगुर र कुखुरा पालन व्यवसाय गर्ने योजना अघि बढाएका छन् । उनले भने– अहिले १५ वटा बाख्रा पालेको छु । बाख्राको खोर बनाउन आफैले ब्लकइटा बनाउन थालेको छु ।
पदमले पनि अहिलेसम्म कुनै सरकारी सहयोग पाएका छैनन् । भारतमा आफूले किनेको ट्याक्सी बिक्रीबाट पाएको दुई लाख १० हजार भारतीय रुपैयाँ लगानी गरेर ब्यवसाय गर्ने योजना बनाएको बताए । ‘बाँकी लगानी ऋण सापट गरेर पुरा गर्नुपर्ला’ उनले भने– भारतमा कमाएको पैसा त उतै सकियो । भारतबाट पहिले नै आएकाहरूले त अहिलेसम्म प्रदेश सरकारबाट अनुदान पाएका छैनन् । म त भरखरै आएको हुँ ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले कार्य पुरा गरेर बिल भरपाई पेस गरेका उद्यमीहरूलाई अनुदान रकम भुक्तानी गर्ने क्रम जारी रहेको बताए । उनले कृषि क्षेत्रमा लागेका किसानहरूलाई बढिमा ३० हजार रुपैयाँ अनुदान मात्र दिने कार्यविधिले तोकेको हुनाले सोही अनुसार भुक्तानी दिने काम भइरहेको बताए । उनले पशुपंक्षी पालनतर्फको अनुदान पशुपंक्षी विज्ञ केन्द्रले वितरण गरिरहेको बताए ।

लकडाउनमा पनि उच्च जोखिमपूर्ण रोजगारी रहेको भारत जाँदै
कोरोना संक्रमण, दुर्घटना र सरकार सेवा सुविधाको दृष्टिले भारतमा रोजगारी गर्नु उच्च जोखीम छ । समता फाउण्डेशनले गरेको ‘बैदेशिक रोजगारीको चूनौति र सरोकारवाला पक्षको भूमिका’ सम्बन्धी एक अध्ययनले भारतको रोजगारी अन्य देशहरूको तुलनामा बढि जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ । भारतमा रोजगारी गर्दा दुर्घटना बिमा नहुने, भइपरी आउँदा सरकारी सहयोग नहुने, कल्याणकारी कोषको व्यवस्था नरहेको, हराएमा वा बेपत्ता भएमा खोज्नका लागि सरकारसंग तथ्यांक समेत नहुने, खुला बजाएर भएकाले सरुवा रोग संक्रमण हुने लगायतका कारण भारतको रोजगारी नेपालीहरूका लागि निकै जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष रहेको छ ।
भारतमा रहेको जोखीमलाई बेवास्ता गर्दै प्रदेशका नागरिकहरुले लकडाउनमा पनि भारत जान छोडेका छैनन् । यही जेठ १४ गतेसम्म नौ हजार ७८४ जना र बैशाखमा नौ हजार ५०४ जना भारत गएका छन् । ति मध्ये अधिकांश रोजगारीका लागि गएका छन् । बैशाखमा ४४ हजार ११३ र जेठ १४ गतेसम्म आठ हजार ७६० जना फर्केका छन् ।
त्रिनगर सीमानाकामा खटिएका स्वास्थ्यकर्मी गणेश साउँदले दैनिक पाँच÷छ सय जना भारततर्फ जाने गरेको र एक हजार बढि घर फर्किरहेकोे बताए । जेठ १४ गते मात्रै ८०५ जना भारत गएका छन् भने आठ सय जना फर्केका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले भारत जाने मध्ये केही भारतीय नागरिक र केही उपचारका लागि जाने नागरिक रहेको जनाए । उनले भारत नगई नहुने भारतीय आधारकार्ड रहेको र परिवारका सदस्यहरु भारतमै रहेको नेपाली नागरिकलाई मात्रै रोजगारीका लागि भारत जान दिएको बताए ।
कोरोना भाइरस फैलिएपछि २०७६ चैतदेखि २०७७ फागुनसम्म त्रिनगर र गड्डाचौकी नाका हुँदै भारतका विभिन्न स्थानबाट तीन लाख ३८ हजार पाँच सय २७ जना स्वदेश फर्किएका थिए । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार यो अवधिमा दुई लाख ६० हजार एक सय एक जना भारत गएका थिए ।
सो अबधिमा ६१ हजार सात सय ३६ जना महिला र एक लाख ५० हजार एक सय २५ जना पुरुष भारत गएका थिए भने २५ हजार छ सय २९ जना बालबालिका अभिभावकसंगै गएका थिए । यसैगरी सो अवधिमा भारतबाट ३९ हजार छ सय ३३ महिला, ९९ हजार नौ सय ६१ पुरुष र १७ हजार आठ सय ८९ जना बालबालिका भारतबाट फर्किएका थिए ।

जोखीम मोलेर कमाएको रकम घर खर्चमै सकिन्छ
यतिधेरै उठाएर पनि भारतमा रोजगारी गर्नेहरू मध्ये अधिकांसको कमाई घरखर्चमै ठिक्क हुने गरेको पनि अध्ययनको निष्कर्ष छ । अध्ययनले भनेको छ– अधिकांस नेपालीहरू गुजाराका लागि मात्रै भारतमा रोजगारी गर्न जाने गरेका छन् ।
पाँच वर्षसम्म भारतको बैंगलोरमा ट्याक्सी चलाएर फर्केका पदमले पनि भने– पाँच वर्षको कमाई परिवारको लालनपालन मै ठिक्क भयो । उनले ट्याक्सी बेचेर ऋण तिरेर बाँकी रहेको दुई लाख १० हजार भारतीय रुपैयाँ लिएर घर फर्किएको बताए । ‘भारत जानुअघि माटेबन्धकीमा ७० हजार भारतीय रुपैयाँमा खेत बेचेर गएको थिएँ’ उनले भने भारत गएपछि थप ऋण लिएर सात लाख भारतीय रुपैयाँमा ट्याक्सी किने । ट्याक्सी चलाएर मासिक सरदर ८० हजार रुपैयाँ कमाउँथे । पुरै परिवार उतै थियो । ट्याक्सी चलाएर कमाएको रकम ऋणको किस्ता तिर्न तथा कोठाभाडा, खाना र बच्चाहरूको पढाईलेखाईमा ठिक्क हुन्थ्यो ।
पदमले सन् २००९ देखि २०१६ सम्म कतारमा पनि रोजगारी गरेका थिए । कतारको कमाईबाट उनले अत्तरियामा जग्गा किने र बाङ्गेसालमा पक्की घर बनाए । तर, भारतमा पाँच वर्षसम्म कमाई गर्दा पनि उनले रकम जोगाउन सकेनन् । उनकी श्रीमति इन्द्राले पनि त्यहाँ सात परिवारको घरमा खाना पकाउने काम गर्थिन् । ‘उनलाई खाना पकाएवापत प्रत्येक परिवारबाट मासिक चार हजार भारतीय रुपैयाँ दिन्थे । पदमले भने– तर फर्किदा खाली आउनु प-यो ।
गोदावरी नगरपालिका वडा नम्बर ११, गौंडीगाउँका तुलाराम गिरीले पनि भारतमा कमाइ राम्रै भए पनि बचत गर्न मुस्किल हुने गरेको बताए । उनले एक होटलमा काम गरेवापत मासिक २१ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउँथे । “आफ्नो गाउँमा बेखर्ची भएर बस्नुभन्दा जोखिम भए पनि कमाउन फेरि भारत गएँ’ तुलारामले भने– बचत नै नभए पनि घर खर्च चलाउनै प¥यो । कमाईको आधा उतै सकिन्छ, बाँकी घर पठाउँथे । त्यसैबाट घरपरिवारको गुजारा चल्थ्यो । अब त त्यो पनि रहेन ।
कैलालीकै घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरौखागाउँका २४ वर्षीय जनक शाहीले कोभिड–१९ महामारीका कारण कुवेतबाट फर्केपछि तीन महिनाअघि परिवारसहित भारततिर लागे । उनले नयाँदिल्लीमा एउटा होटलमा कुकको काम पाए । उनले मासिक १५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन् ।
गाउँमा ऐलानीपर्ती जमिनको फाराम भर्न आएका जनक पुनः भारत जाँदै गर्दा त्रिनगर नाकामा भेटिए । उनले भने– आफ्नै देशमा काम पाइएको भए भारत जानुपर्ने थिएन ।
साउदीअरबमा दुई वर्ष काम गरेपछि जनक कुवेत गएका थिए । ‘भारत र खाडी मुलुकको कमाई उस्तै हो’ कवेत र साउदीमा पनि होटलमै काम गर्ने उनले भने– भारतभन्दा खाडी मुलुकमा अलि बढि कमाई हुन्छ, तर जाँदा वेला खर्च भएको रकम जोड्ने हो भने बराबर नै हुन्छ ।
जनकका श्रीमती र दाजु पनि भारतमै छन् । उनको घरमा उनकी आमा र भाउजु छन् ।
कैलालीको जोशीपुर गाउँपालिकाको करैचा गाउँका रामबहादुर सदाशंकर मुम्बईमा गाडी चलाउँछन् । उनकी श्रीमती एउटा कार्यालयमा परिचर छिन् । उनले एक छोरी र एक छोरालाई पनि साथमै राखेका छन् ।
गाडी चलाएर उनले मासिक २५ देखि ३० हजार भारतीय रुपैयाँ कमाउँछन् । श्रीमतिको कमाईले कोठाभाडा र दैनिक खर्च धान्ने गरेको रामबहादुरले बताए । “मेरो कमाई बचत गर्ने गरेको छु” उनले भने ।
कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन भएपछि उनको काम छुट्यो । तर, उनकी श्रीमती काम गर्ने कार्यालय बन्द नभएकाले उनले विदा पाइनन् । बाध्य भएर रामबहादुरको परिवार उतै रोकियो । गाउँमा ऐलानीपर्ती जमिन दर्ता गर्न आएका उनी फेरि भारत गए ।
कैलालीकै गौरीगंगा नगरपालिका वडा नम्बर ६ मोयागाउँकी शान्तिदेवी कोली बैशाखको दोस्रो साता श्रीमान र छोराछोरी सहित मुम्बई गइन् । उनकी एक छोरी मुम्बईमा बस्छिन् । उनी र उनका श्रीमान् घरायसी कामका लागि एक महिनाअघि घर फर्किएका थिए ।
शान्ति देवीले आफू र श्रीमानको मिलाएर ३० हजार भारतीय रुपैयाँ कमाइ हुने गरेको बताइन् । उनका दुई छोरी र एक छोरा छन् ।
उनले भनिन्– मासिक छ हजार रुपैया तिरेर दुई कोठा भाडामा लिएका छौं । खाना आदि गरेर मासिक १५ हजार रुपैयाँ खर्च भइहाल्छ । बाँकी रकम घर पठाउँछौं ।

प्रतिक्रिया दिनुहोस्