मुख्यमन्त्री भट्टद्वारा मन्त्रीपरिषद् विस्तार «

मुख्यमन्त्री भट्टद्वारा मन्त्रीपरिषद् विस्तार

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्रालय खाली भएको छैठौं महिनामा मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री भट्टले शुक्रबार प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री र नेकपा माओवादी केन्द्रमा एक जा गरी चार जना मन्त्री र चार जना राज्यमन्त्री थपेका हुन् । नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिएपनि एमालेको प्रदेश संसदीय दलले समर्थन कायमै रहने निर्णय गरेपछि मुख्यमन्त्री भट्टले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्मा एमालेको तर्फबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्णा जोशीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लालबहादुर खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादीबाट मानबहादुर धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सहित मन्त्री नियुक्त गरिएको छ । यसअघि, झपट बोहराले राजीनामा दिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका नेकपा एमाले संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई मन्त्रीपरिषद्मा दोस्रो बरियता क्रममा राखिएको छ ।
यसैगरी, एमालेबाट चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, अर्चना गहतराजलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र मनाकुमारी साउदलाई सामाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीमा नियुक्त गरिएको भने माओवादीका मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिएको छ ।
शुक्रबार नै आर्थिक मामिला मन्त्रालयमा नियुक्त मन्त्री शाह र वननियुक्त मन्त्री तथा राज्य मन्त्रीहरुलाई प्रदेश प्रमुख गंगाप्रसाद यावदले सपथ ग्रहण गराएका छन् । योसंगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् ११ सदस्यीय भएको छ ।
एमालेबाट सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले शुक्रबार नै पदबाट राजिनामा दिएका थिए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ओली पक्षमा लागेका तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई हटाएर २०७७ पुसबाट मुख्यमन्त्री भट्टले सो मन्त्रालय आफै सम्हालेका थिए भने तत्कालीन आर्थिक मामिला मन्त्री बोहराले ओली पक्षमा खुल्दै राजीनामा दिएपछि सो मन्त्रालय पनि आफै सम्हालेका मुख्यमन्त्री भट्टले केही दिन अघि मात्रै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री शाहलाई दिएका थिए ।
नेकपा एमालेको ओली पक्षले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर प्रदेश सभाको संसदीय दलमा बरिष्ठ नेता माधव नेपालको बहुमत रहेकाले केन्द्रको निर्णयलाई उल्ट्याउँदै बुधबार एमाले प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्दै सरकारबाट मन्त्रीहरुलाई फिर्ता नबोलाउने निर्णय गरेको थियो ।
एमालेको ओली पक्षले माओवादी नेतृत्वको प्रदेश सरकारलाई विघटन गरी आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने कसरत गरिरहेको बेला एमालेकै माधव पक्षको सहयोगमा मुख्यमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
यसैगरी, एमालेको ओली पक्षका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी केन्द्रको निर्णय विपरित गएको भन्दै शुक्रबार नै एमालेका प्रदेश मन्त्री शाह, सुवेदी र भट्टलाई साधारण समेत नरहने गरी कारबाही गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्