चार महिनामै लक्ष्यभन्दा बढी आम्दानी «

चार महिनामै लक्ष्यभन्दा बढी आम्दानी

हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमै वार्षिक लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । उपमहानगरले एक वर्षभित्र गर्ने लक्ष्य राखेको आम्दानीभन्दा १२ प्रतिशत बढी उपलब्धि पहिलो चौमासिकमै पाएको हो ।
उपमहानगरले आइतबार प्रथम चौमासिकमा गरेका गतिविधिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सूचना अधिकृत भानुभक्त थपलियाले ढुंगागिट्टी बालुवाको करबाट आम्दानी बढेकाले चौमासिकमै वार्षिक लक्ष्य पूरा भएको जानकारी दिए । “बजेट घोषणा हुँदा ढुंगा गिट्टीबालुवा उत्खनन् र बिक्री बन्द थियो, असोज महिनापछि ढुंगागिट्टी बालुवा बिक्री खुलाइयो, क्रसरहरूको स्टक सामानको पनि मूल्यांकन गरी कर संकलन गरियो, त्यसैले आम्दानी निकै बढ्यो,” थपलियाले भने ।
चालू आवमा ३५ करोड १२ लाख ९७ हजार रूपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको उपमहानगरले पहिलो चौमासिकमै ३९ करोड ४० लाख रूपैयाँ आम्दानी गरेको छ । बाह्य आयमा पनि करिब ३६ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ । १ अर्ब ३४ करोड ९५ लाख रूपैयाँ बाह्य आम्दानी हुने लक्ष्य राखिएकोमा प्रथम चौमासिकमा ४६ करोड ६९ लाख ४८ हजार रूपैयाँ आम्दानी गरेको सूचना अधिकृत थपलियाले बताए ।
जम्मा १ अर्ब ७० करोडको बजेट घोषणा गरेको उपमहानगरले आन्तरिक र बाह्य आम्दानी गरी ८६ करोड ९ लाख ५० हजार रूपैयाँ प्राप्त गरिसकेको छ । प्रथम चौमासिकमा जम्मा प्रगति ५० दशमलव ६१ प्रतिशत देखिएको छ । आम्दानीको तुलनामा खर्च गर्न भने उपमहानगर पछि परेको छ । पुँजीगततर्फ ६७ करोड १४ लाख रूपैयाँ खर्च गर्ने लक्ष्य राखिए पनि पहिलो चौमासिकमा ८ करोड ८ लाख २० हजार अर्थात १२ दशमलव ४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालू खर्च भने पहिलो चौमासिकमै २८ दशमलव ५ प्रतिशत देखिएको छ । चालूतर्फ १ अर्ब २ करोड ९४ लाख ४५ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएकोमा २९ करोड ३४ लाख ७४ हजार खर्च भइसकेको छ । कूल खर्चमा २२ प्रतिशत प्रगति देखिएको छ ।
उपमहानगरपालिकाबाट पहिलो चौमासिकमा शिक्षातर्फमा शिक्षकको तलब, बालबिकास शिक्षक तलव अनुदान, विद्यालय कर्मचारी तलव, विद्यालय सञ्चालन व्यवस्थापन, आवासीय छात्रवृति, धार्मिक, वैकल्पिक विद्यालाय अनुदान गरी १४ करोड ९ लाख ६४ हजार रूपैयाँ खर्च गरेको जनाइएको छ ।
चालू आर्थिक वर्षको चार महिनाको अबधिमा सामाजिक विकासतर्फ ३८ वटा काम भएका छन् । ती मध्य १२ वटा काम सम्पन्न भएका छन् भने २६ वटा काम चालू अवस्थामा रहेका छन् । उपमहानगरपालिकाले चार महिनाको अवधिमा १३ हजार ८ सय ८० वटा विभिन्न खालका सिफारिस गरेको जनाएको छ । यो अबधिमा नागरिकता, नागरिकताको प्रतिलिपी, नाता प्रमाणित, खानेपाानी धारा जडान, बिजुली जडान सिफारिस, बस्तुगत विवरण, नक्सा नामसारी सिफारिस, नाता सम्बन्ध, जन्म प्रमाणित र अन्यखालका गरी झन्डै १४ हजार वटा सिफारिस गरिएको हो ।
चार महिनामा २९ वटा सम्बन्ध बिच्छेद भएका घटना दर्ता भएका छन् । जन्म दर्तामा ९ सय ५७ वटा, मृत्यु दर्तामा ३ सय १० वटा, विवाह दर्तामा ५ सय ५० वटा, बसाइँसराइ आएको र गएको गरी २ सय १३ वटा दर्ता भएका हुन् । यो अबधिमा उपमहानगरपालिकामा २ सय ४ वटा नक्सा पेस गरिएको छ । नक्सा पास भने ३ सय ४० वटा गरिएको छ । नक्साको नामसारी ४१ वटा गरिएको छ । उपमहानगरपालिकामा न्यायिक समिति गठन भएदेखि अहिलेसम्म ५१ वटा मात्र मुद्दा दर्ता भएका छन् । जसमध्ये ३७ वटा मिलापत्र भएका छन् ।

प्रतिक्रिया दिनुहोस्