Logo

खेतमै पुगेर किसानलाई मेडिकल मास्क

तातोपानी गाउँपालिका–५ का किसानलाई खेतका आलीमै पुगेर मास्क वितरण गरिएको छ । जेठ महिना लागेसँंगै जुम्लामा निषेधाज्ञाका बीच पनि जौ काट्ने, मार्सीधान रोप्ने चटारो सुरु भएको छ । तर मार्सीधान रोप्दा अधिकांश किसानले मास्क नलगाएको पाइएपछि संक्रमण बढ्न सक्ने जोखिम न्यूनीकरण गर्न तातोपानी–५ की महिला नेतृ तथा समाजसेवी नारायणी चौलागाईंको अगुवाइमा खेतमै पुगेर मास्क वितरण गरिएको हो ।
खेतखेतमा पुगेर किसानलाई मेडिकल मास्कसँंगै स्वास्थ्य मापदण्ड पालना गर्न तथा अनिवार्य मास्क प्रयोग गर्न सम्झाइएको नेृत चौलागाईंले उल्लेख गरिन् । उनका अनुसार पहिलो दिन किसान सर्वसाधारण गरी ५ सय वटा मास्क बाँडिएको छ । उनले भनिन, “तातोपानी गाउँपालिकाको आइसोलेसनमा बसेका ४ जना संक्रमितलाई पोषिलो आहार पनि दिएका छांै, ५ नम्बर वडाका पूर्वमा नगरदेखि पश्चिम एैरेनीसम्मका जौ काट्ने, मार्सीधान रोप्ने किसान, गाउँमा मास्क नलगाएर बसेका गरी करिब ५ सय वटा मास्क वितरण गरिएको हो ।”
किसानका खेतखेतमा मेडिकल मास्क अभियान अझै केही दिन जारी रहने र करिब ३ हजार मास्कसम्म किसानलाई वितरण गर्ने लक्ष्य राखिएको नेतृ चौलागार्इंको भनाइ छ । कृषि कर्ममा जुट्दा किसानले मास्क नलगाउने गरेको भेटिएपछि जनचेतनासँंगै अनिवार्य मास्क प्रयोग गरी काम गर्नसमेत सम्झाइएको मास्क वितरण अभियानमा सहभागी युवा सूर्य डाँगीले बताए । उनले भने, “मार्सीधान रोप्ने चटारो सुरु भएकाले किसानले कोरोनालाई वास्ता गरेको पाइँदैन । त्यसैले गर्दा हरेक वडामा यस्ता अभियान सञ्चालन गरी कोरोना रोकथाममा जुट्न आवश्यक रहेको छ ।”
गाउँगाउँमा निश्चित युवाको समूह बनाएर मार्सी रोपिएरहेका किसानलाई मास्क वितरणसँंगै अनिवार्य मास्क प्रयोग गर्न सम्झाएमा उल्लेखनीय सुधार हुने विश्वास गरिएको छ । खेतमा काम गर्ने अधिकांश किसानले मास्क नलगाएको पाइएको छ । जिल्लामा जेठ महिनाभरि मार्सी धान रोप्ने किसानको जमघट बढी नै हुने भएकाले किसानका खेतखेतमै मास्क अभियान जारी राख्नका लागि सहयोगी दातालाई समेत सहयोगका लागि अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्