Logo

माथिल्लो तामाकोसी पूरा हुन लाग्दा कवाडीतिर नजर


माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्थलबाट फलाम बोकेर आएका टेलरबाट १० दिनअघि स्थानीयले भोर्लेमा सामान झरिदिए । ती सामान विगू गाउँपालिका–४ भोर्लेको पेट्रोलपम्प छेऊमा अझैसपनि अलपत्र छ । वैशाख अन्तिममा पनि फलाम बोकेका ६ वटा ट्रक स्थानीयले नै आयोजनास्थल तिरै फर्काइदिए ।
४ महिनाअघि पनि नदी सरसफाइको नाममा माथिल्लो तामाकोसी आयोजनास्थल गोंगर क्षेत्रमा फलाम संकलन भएको थियो । त्यसको स्थानीय जनप्रतिनिधि र प्रशासनले रोकेको थियो । नदी सरसफाइबाट फलाम संकलनमा असहयोग गरेको निहुँमा तत्कालिन प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी नै सरुवा हुनु पर्यो ।
भोर्लेमा अलपत्र सामान
आयोजनाले नै पत्र लेखेर आयोजना स्थलबाट छुटेका टेलर ८ किलोमिटर तल आएपछि स्थानीयले रोके । आयोजना स्थलबाट ठेकेदारले अन्यत्र लैजान लागेका फलाम गाडी रोकेर स्थानीयले झारेपछि अहिलेसम्म सामान अलपत्र छ ।
आयोजनाको लट ३ को इलेक्ट्रिकल तथा मेकानिकल ठेकेदार अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोले अन्यत्रै लैजान लैजान लागेको थियो । फलामे बीच बोकेका छुटेका ना८ख ६८९२ र प्रदेश २–०३–००१ ख ००१६८ नं. को टेलरले फलाम बोकेर आएका थिए । भालिपल्ट इलाका प्रहरी कार्यालयको टोलीले पुनःलोड गरी आयोजना स्थल फर्काउन खोजेपनि स्थानीयले अवरोध गरेपछि टेलर गन्तव्यमा रित्तै फर्किएपछि सामान अलपत्र परेको छ ।
आयोजना प्रमुख दिनेशंग राणाले आयोनाको मेकानिकल तथा इलेक्ट्रिकक कामको जिम्मा लिएको अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोको सामान अन्यत्र लैजानु पर्ने भएकाले भन्दै चेक जजाँच गरी छुटाइ दिनका लागि नेपाली सेनाको तारादल गण सुरक्षा बेस गोंगरलाई पत्राचार गरेका थिए । सोही पत्रका आधारमा फलामे बिमहरु २ वटा टेलरमा लोड गरी लैजान सेनाले छुटाएको थियो । टेलरमा फलामे आइएसएमबी ३०० को कुल १४४ मिटर लम्बाइको २४ थान, २० एमएमको सोलिड राउण्ड बार २१० मिटर लम्बाइको ३५ थान, आइएसएमबी ४०० को ३७८ मिटर लम्बाइको ६३ थान, आइएसएमबी ३५० को ४२ मिटर लम्बाइको ७ थान र २० एमएमको फलामे प्लेट २ थान रहेको थियो । २ वटा टेलरमा नयाँ र पुरानो गरी ३ हजार किलोभन्दा बढी तौलको फलामे बिमहरु रहेको बताइएको छ । कतिपय बिमहरु खिया लागेको अवस्थामा छन् । सो सामानको मूल्य ३० लाखभन्दा बढीको हुने अनुमान छ । एन्द्रिजले आफ्नो सामानको सुरक्षा नभएको भन्दै आयोजनालाई पत्राचार गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपालेले ती फलाम ठेकेदारकै भएकाले उसले अन्यत्र लैजान पाउने भएकाले आयोजनाले सुरक्षार्थ बसेको सेनालाई पत्रचार गरेको बताए ।
तामाकोसी सरसफाइमा के थियो ?
तामाकोसी कोसी सरसफाइको फलामका सामनको खियाले जलचरलाई असर गरेको भन्दै तामाकोसी सरसफाइ अभियान सञ्चालन गर्न एक हुल व्यक्तिहरु लागेका थिए । तामाकोसी सरसफाइ गरेर माथिल्लो तामाकोसी जलविद्युत् आयोजना क्षेत्र गोंगरदेखि जगतसम्मको क्षेत्र सरसफाइ गर्ने मुख्य उद्देश्य थियो ।
रूपन्देही जिल्ला ठेगाना भएको जानकी हार्डवेयर एन्ड स्क्रेप सप्लायर्सले निवेदन लिएर स्थानीयहरु नै लागि परेका थिए । गौरीशंकर गाउँपालिका र विगू गाउँपालिकाबाट सिफारिससमेत लिएर निःशुल्क सरसफाइ गर्ने अभियानकर्ताहरुको माग थियो । अभियानकर्मीकै मागबमोजिम वातावरण विभागका शाखा अधिकृत सागरप्रसाद सिग्देलले २०७७ पुस २१ मा चलानी नं. ४९८ मार्फत फोहोरजन्य वस्तुको व्यवस्थापन गर्ने कार्यमा कुनै आपत्ति नहुने भनेर पत्राचार समेत गरेका थिए ।
तर आयोजना पूरा नभएकाले आफ्नो क्षेत्रबाट कवाडी उठाउन नपाउने भन्दै आयोजनाव् यवस्थापनले विरोध गरेपछि यो विषय प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो । विषयमा थिल्लो तहसम्म पुगेपछि स्थानीय पालिकाहरुले समेत दिएको सिफारिस समेत फिर्ता गरेका थिए ।
यसरी हुन्छ कवाडी व्यवस्थापन
आयोजना पूरा भएपछि कवाडी व्यवस्थापनका विषयमा ठेक्का सम्झौता मै उल्लेख भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । उनका अनुसार आयोजना निर्माणका क्रममा ठेकेदारले ल्याएका निर्माण सामग्रीहरु स्क्याप नभए ठेकेदारको हुने र नभए आयोजनाको हुने बताए ।
“आयोजना निर्माणका क्रममा निर्माण सामग्रीहरु ठेकेदारले ल्याउँछन्” उनले भने, “कहिलेकाँही अनुमानभन्दा बढी सामान आएर प्रयोग नभए उसैको हुन्छ ।” तर साइटमा आएका सामग्री स्क््रयाप भएको जुनसुकै सामानमा पनि आयोजनाको हुने उनले बताए । यस्ता सामान ठेकेदारले आफूखुशी गर्न पाउँदैन । आयोजना पूरा भएपछि कवाडी सामान कुन कुन ठेकेदारको हुने र कुन कुन आयोजनाको हुने भन्ने ठेक्का सम्झौतामै उल्लेख हुने भएकाले पछि छुट्याएर लिलाम प्रक्रिया हुने छ ।
कवाडी सामान सम्बन्धित ठेकेदारबाट विवरण मागेर आयोजना पूरा भएपछि आयोजनाले नै बढाबढको बोलपत्रबाट लिलाम गरिने उनले बताए । तर आयोजना पूरा हुन लागेकाले ठेकेदार र तिनका केही मान्छेसँग मिलेर पनि कवाडीका सामान चोरी हुने गरेको स्थानीयको आरोप छ ।
यस्ता आयोजनाका कवाडीमा धेरैका आँखा लाग्ने प्राधिकरणका एक पूर्व अधिकारीले बताए । यस्ता काममा मन्त्रिस्तरदेखिकै नजर लाग्ने भएकाले बेलैमा होसियारी हुनु पर्ने उनको सुझाव छ । प्राधिकरणले बनाएका कालिगण्डकी र मस्याङ्दी आयोजनामा पनि कवाडीकै विषयमा लाठी चार्ज समेत भएको र अख्तियारमा परेका केही कर्मचारीको जागिर समेत गएको उनले बताए ।

तामाकोसीमा के के छन् कवाडी
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । ४५६ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा बनेको पब्लिक कम्पनीले बनाएको हो । आयोजना पूरा हुन लागेपछि त्यहाँ प्रयोग भएका करोडौं मूल्यका कवाडी सामानमा धेरैको ध्यान खिचेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले २०७२ को भूकम्प र सोही वर्ष आएको बाढीले बगाएको एउटा बेलीब्रिज, ९ वटा कन्टेनर पावर हाउसमा प्रयोग हुने सामान खोलामै छन् । फलामका टुक्रा, तामाका तार, पेन स्टक पाइपका टुक्रा, ४ लटमा निर्माण भएको आयोजनाको सिभिल हाइड्रोमेकानिकल, इलेक्ट्रिकल तथा मेकानिकल र ४७ किलोमिटर २२० केभीको प्रसारण लाइन तथा सवस्टेशन रहेको छ । तिनमा आयोजना निर्माणका क्रममा प्रयोग भएका अहिलेसम्मका आयोजनाभन्दा धेरै करोडौंका कवाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्