विधान मस्यौदामा सहमति जुटाउने सकस

कांग्रेस महासमिति बैठक
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन मस्यौदा पेश गर्न सकस देखिएको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा तयार भएको विधान मस्यौदामा सोमबार सहमति जुटाउने प्रयास भएपनि सफल हुन सकेन ।
विधानमा सहमति जुटाउनका लागि ३ घण्टा महासमिति बैठक स्थगन गरेरै सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा केन्द्रीय समिति बैठक बसेको थियो । तर, सहमति नभएपछि बेलुका ६ बजे केन्द्रीय समिति बैठक बस्ने भन्दै पुनः महासमिति बैठक सुचारु गरिएको थियो । “साँझ ६ बजे बस्ने बैठकमा विधानको संशोधित मस्यौदा प्रस्तुत गर्ने तयारी छ । बैठकमा मस्यौदा टुंगियो भने भोली महासमिति बैठकमा विधान पेश हुनेछ,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । सोमबार अबेर रातसम्म पनि विधानमा सहमति जुट्न सकेको छैन ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रस्तावित विधानलाई लिएर चर्को विवाद छ । पदाधिकारीको संख्या बढाउन संस्थापन पक्ष तयार देखिएको छैन र बढाइहाले पनि मनोनित गर्ने व्यवस्था गर्नुपर्नेमा उसको जोड छ । तर, पदाधिकारीको संख्या बढाउन माग गरिरहेको संस्थापन इतर समूहले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडान राखेको छ । कांग्रेसले संघीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा सहमति नजुटेपछि कांग्रेसमा सकस देखिएको छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भइसकेको छ ।
विधान पेश हुन नसक्दा आइतबार पेश भएका राजनीतिक र आर्थिक प्रथिवेदनमाथि महासमिति सदस्यहरूले धारणा राखिरहेका छन् । “अहिलेसम्म विधान प्रस्तुत नभइसकेको हुँदा खासगरी राजनीतिक, आर्थिक, संगठनको आन्तरिक आर्थिक प्रतिवेदनका विषयमा महासमिति सदस्यहरूले धारणा राखिरहनुभएको छ,” प्रवक्ता शर्माले भने । बैठकमा बोल्ने अधिकांशले पार्टीभित्र बृहत्तर एकतामा जोड दिएका छन् । कांग्रेसले सार्वजनिक रुपमा प्रस्तुत गर्दा सांगठनिक गतिविधि बढाउनुपर्ने, प्रतिपक्षी दलका रुपमा निर्वाचन गरिरहेको भूमिकालाई अझ प्रखर बनाउनुपर्नेमा महासमिति सदस्यहरूको जोड छ ।
बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी एक हजार ७ सय बढी प्रतिनिधि सहभागी छन् ।
बैठक एक दिन लम्बिने, ५ सयले बोल्ने
बैठकमा बोल्नका लागि ५ सयभन्दा बढीले नाम टिपाएका छन् । जिल्ला सभापतिहरूमार्फत् संघीय निर्वाचन क्षेत्र १ सय ६५ को न्यूनतम प्रतिनिधित्व हुनेगरी धारणा राख्ने प्रबन्ध मिलाइएको छ । भूगोल, समावेशीता, भातृ संस्था, जनसम्पर्क समितिका तर्फबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरूलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले बताए ।
“सुगमदेखि दुर्गमसम्म, स्वदेशदेखि विदेशसम्म सबैलाई सहज बनाउने गरी पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरूको टिम बसेर निर्माण गरिएको नामबमोजिम छलफल भइरहेको छ,” प्रवक्ता शर्माले भने । त्यस्तै महासमितिको बैठक १ दिन लम्बिने भएको छ । बैठक मंसिर २८ देखि पुस ३ सम्म भनिए पनि २९ गतेमात्र उद्घाटन भएको थियो । ५ दिनसम्म बैठक लाने पूर्व निर्धारित कार्यक्रमअनुसार बैठकको उद्घाटन २९ गते भएकाले पुस ४ गतेसम्म बैठक चल्ने प्रवक्ता शर्माले जानकारी दिए ।