स्वास्थ्य सामग्री खरिदमा सामुदायिक वनको कोष «

स्वास्थ्य सामग्री खरिदमा सामुदायिक वनको कोष


सामुदायिक वन उपभोक्ता समूहहरुले वित्तीय कोष परिचालन गरेर स्वास्थ्य सामग्री खरिद गर्ने भएका छन् । मुलुकभरका सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले कोभिडको प्रभाव बढिरहेको र स्वास्थ्य सामग्रीको अभाव भएकाले खरिदका लागि सामुदायिक वनको कोष परिचालन गर्न सामुदायिक वन उपभोक्ता समूहहरुलाई पत्राचारसमेत गरिसकेको छ ।
कोभिड–१९ को दोस्रो लहरका कारण सिर्जित महामारीले गत वर्षभन्दा पनि बढी प्रभाव परेको छ । महासंघले नेपाल भरका सम्पूर्ण सामुदायिक उपभोक्ता समूह र महासंघका प्रदेश महासंघ, जिल्ला महासंघ र स्थानीय महासंघहरुसमक्ष कोषको रकम स्वास्थ्य सामग्री खरिदका लागि प्रयोग गर्न आह्वान गरेको हो । फेकोफनकी अध्यक्ष भारती पाठकले सामुदायिक वन उपभोक्ता समूहले सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरी आफ्नो कोषमा रहेको रकमबाट स्थानीय आवश्यकता अनुसार र पारदर्शी रुपमा कोभिड–१९ को प्रभावबाट सुरक्षित हुनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु खरिद तथा वितरणका लागि सहयोग परिचालन गर्न पत्राचार गरिएको बताइन् ।
“कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा सामुदायिक वनबाट सम्भव भएसम्म निःशुल्क रुपमा उपलब्ध गराउने र सामुदायिक वनको क्षेत्रमा शवहरुको दाहसंस्कार गर्नुपर्ने अवस्था रहेमा उक्त कार्यमा अवरोध नगरी सहयोग गर्ने गराउन पनि हामीले आह्वान गरेका छौं,” उनले भनिन्, “कोभिड–१९ का कारण भइरहेको बन्दाबन्दीमा रोजगारी गुमाएका परिवार र वनमा आश्रित विपन्न परिवारहरुलाई सामुदायिक वनबाट जडीबुटी, कन्दमूल, वनजन्य खाद्य पदार्थ आदि संकलन गरी जीविकोपार्जन गर्ने कार्यमा सहयोग तथा सहजीकरण गर्ने र वनजन्य उद्यमहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा निरन्तरता दिनु आवश्यक छ ।”
बन्दाबन्दीका समयमा वन अतिक्रमण हुने र वन क्षेत्रमा चोरी, तस्करी र वन्यजन्तुहरुको शिकार हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यहरु हुनबाट रोक्नका लागि स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरुको पालना गरी वन पैदावारको चोरी तस्करी र वन्यजन्तुको शिकार हुने जस्ता कार्यहरुमा रोक लगाउनका लागि नियमित रुपमा आवश्यक कार्यहरु गर्न उनले अनुरोध गरेकी छिन् ।
कोभिड–१९ को महामारीसँग जुध्नका लागि उपभोक्ता समूहका सामुदायिक भवनहरु प्रयोग गर्नुपर्र्ने भनी स्थानीय तह वा सम्बन्धित सरकारी निकायहरुले माग गरेमा त्यस्ता सामुदायिक भवनहरु उक्त प्रयोजनका लागि अस्थायी रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराउन पनि फेकोफनले पत्राचार गरेको छ । वन विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म २२ लाख ३७ हजार ६७० हेक्टर क्षेत्रफल वन क्षेत्रलाई २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्